free website hit counter

नेपाल लाइफद्वारा जीवन बीमाबारे अन्तरक्रिया

beemaadmin
२०८० चैत्र ९, शुक्रबार

काठमाडौँ । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमाका समसामयिक विषयमा छलफल गर्न एक विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा कम्पनीका एक्चुअरी फिलिप ज्याक्सनको समुपस्थितिमा काठमाडौँको होटल एम्बेसडरमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपालको बीमा क्षेत्रमा रहेका समसामयिक चुनौती र अवसरहरूको बारेमा चर्चा गर्ने अभिप्रायका साथ यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए । यस किसिमको विचार मन्थन गर्ने परिपाटीको विकासले नेपाली बीमा बजारमा क्रियाशील रहेकाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा भइरहेका विकासक्रम तथा असल अभ्यासहरूसँग चिरपरिचित हुन सहज हुने बताए । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले अहिले बदलिँदो परिवेशमा बीमा बजारको सुधारका निम्ति नियामकको रूपमा विभिन्न पहलकदमीहरु चालिरहेको कुरा बताए । बीमा बजारको विकाशका निम्ति नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै विभिन्न सुधारात्मक कार्यहरू हुँदै आएको र सोको निरन्तरता हुने उनको प्रतिबद्धता थियो । मिलिम्यान समूहका फिलिप ज्याक्सनले नेपालको बीमा क्षेत्रका अवसर,समस्या र चुनौतीका बारेमा बृहत् प्रस्तुतीकरण दिएका थिए । उनले नेपाली जीवन बीमा कम्पनीहरूलाई अहिलेको निर्देशनले भ्यालुएसनमा पारेको प्रभाव र त्यसका सीमाहरूको बारेमा चर्चा गरे । त्यसका साथसाथै फ्युचर बोनस प्रोभिजनिङ तथा त्यसका आयामहरूको बारेमा समेत प्रकाश पारेका थिए । नेपाल लाइफका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उपस्थितिका निम्ति सबैलाई धन्यवाद ज्ञापन गर्दै यस किसिमको आयोजनले बीमा क्षेत्रलाई दिशानिर्देश गर्न सहज हुने बताए ।

सम्बन्धित समाचार