free website hit counter

नेपाल लाइफद्वारा दृष्टिविहीन बालबालिकाका लागि आर्थिक सहयोग

beemaadmin
२०८३ श्रावण ४, सोमबार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं राउण्ड टेबल–१ मार्फत त्रिनेत्र फाउन्डेसनद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्माणाधीन आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग प्रदान गरेको छ।

कम्पनीका अनुसार सहयोगले दृष्टिविहीन बालबालिकाका लागि सुरक्षित, सहज र स्नेहपूर्ण आवासीय वातावरण निर्माणमा योगदान पुग्नेछ। निर्माणाधीन भवनमा करिब ६० जना बालबालिकालाई बसोबासको सुविधा उपलब्ध हुनेछ।

भवनमा छात्रावास, कक्षाकोठा, सरसफाइका आवश्यक पूर्वाधार, ब्रेल पुस्तकालय, संगीत कक्ष तथा अन्य आवश्यक आवासीय सुविधाहरू रहनेछन्। यसअघि त्रिनेत्र फाउन्डेसनले सीमित स्रोत–साधनका बीच भाडाको सानो घरबाट सेवा सञ्चालन गर्दै आएको थियो। नयाँ भवन सञ्चालनमा आएपछि गुणस्तरीय आवास, शिक्षा तथा जीवनोपयोगी सीप प्रदान गर्ने संस्थाको क्षमता उल्लेखनीय रूपमा विस्तार हुने विश्वास गरिएको छ।

नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले दृष्टिविहीन बालबालिकालाई सुरक्षित आवास, गुणस्तरीय शिक्षा र आत्मनिर्भर जीवनतर्फ अग्रसर गराउने अभियानमा सहकार्य गर्न पाएकोमा कम्पनी गौरवान्वित रहेको बताए।

नेपाल लाइफले जिम्मेवार व्यावसायिक अभ्यास र प्रभावकारी सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत जीवन बीमासँगै नेपालको सामाजिक तथा आर्थिक विकासमा निरन्तर योगदान दिँदै आएको जनाएको छ।

सम्बन्धित समाचार