काठमाडौं । नेपाल वित्तीय संस्था संघको नयाँ कार्यसमिति चयन भएको छ। संघको ३०औँ तथा ३१औँ वार्षिक साधारणसभाले आगामी कार्यकालका लागि सेन्ट्रल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रजोजमान श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
काठमाडौंमा सम्पन्न साधारणसभाले नेपाल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियालाई उपाध्यक्ष र प्रोग्रेसिभ फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठलाई महासचिवमा निर्वाचित गरेको छ।
त्यस्तै, कार्यसमिति सदस्यमा गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्ञानेंद्र इवाहाङ र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल जोशी निर्वाचित भएका छन्।
साधारणसभाले संघको विगतका गतिविधि तथा प्रगतिको समीक्षा गर्दै वित्तीय संस्थाहरूबीचको समन्वय, सहकार्य र संस्थागत एकतालाई आगामी दिनमा थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।
नवनिर्वाचित कार्यसमितिले सदस्य वित्तीय संस्थाका साझा समस्या, मुद्दा तथा नीतिगत सरोकारलाई प्रभावकारी रूपमा सम्बन्धित निकायसमक्ष उठाउने जनाएको छ। वित्तीय क्षेत्रको समग्र विकासका लागि नेपाल राष्ट्र बैंक, नेपाल सरकारलगायत सम्बन्धित सरोकारवाला निकायसँग थप प्रभावकारी र रचनात्मक सहकार्य गर्ने प्रतिबद्धता पनि नयाँ नेतृत्वले जनाएको छ।
साधारणसभाले निवर्तमान अध्यक्ष सुनील पन्तले आफ्नो कार्यकालमा संघलाई थप सुदृढ, प्रभावकारी र संस्थागत रूपमा अघि बढाउन महत्वपूर्ण योगदान दिएको भन्दै आभार व्यक्त गरेको छ।
पन्त आगामी दिनमा निवर्तमान अध्यक्षका रूपमा संघसँग आबद्ध रहँदै नयाँ कार्यसमितिलाई आवश्यक मार्गदर्शन प्रदान गर्ने संघले जनाएको छ।
संघले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना दिँदै पूर्वअध्यक्ष, पूर्वपदाधिकारी, सदस्य संस्था तथा सरोकारवालाबाट निरन्तर सहयोग, सुझाव र मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गरेको छ।