काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न प्रदेश, महाशाखा तथा विभागमा कार्यरत निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेको छ। प्राधिकरणले आइतबार निर्देशकहरूको सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक मदन तिमिल्सिनालाई इन्जिनियरिङ निर्देशनालयमा सरुवा गरिएको छ। उत्पादन निर्देशनालयको जिम्मेवारी किरणकुमार श्रेष्ठलाई दिइएको छ।
त्यस्तै, रञ्जु पाण्डेलाई स्मार्ट मिटरबाट आयोजना व्यवस्थापन विभागको निर्देशकमा सरुवा गरिएको छ।
कोशी प्रादेशिक कार्यालयका प्रमुख कमल आचार्यलाई विद्युत् व्यापार विभागको प्रमुखको जिम्मेवारी दिइएको छ। विद्युत् व्यापार विभागका प्रमुख थर्कबहादुर थापालाई मध्यम भोल्टेज ग्रीड विकासमा सरुवा गरिएको छ भने कोशी प्रादेशिक कार्यालयको प्रमुखमा जितेन्द्र यादवलाई पठाइएको छ।
भार प्रेषण केन्द्रका प्रमुख चन्दनकुमार घोषलाई चुहावट नियन्त्रण महाशाखामा सरुवा गरिएको छ। उनको स्थानमा अच्युतबाबु घिमिरेलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, ग्रीड सञ्चालन विभाग, बानेश्वरको जिम्मेवारी गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रमुख विक्रम अमात्यलाई दिइएको छ। अमात्यको स्थानमा सुरज गौतमलाई पठाइएको छ।
निर्देशक गणेश लुइँटेललाई संस्थागत वित्तीय विभागमा सरुवा गरिएको छ भने जंगबहादुर चन्दलाई स्मार्ट मिटरको जिम्मेवारी दिइएको छ।
संस्थागत वित्तीय विभागमा कार्यरत उमेश भण्डारीलाई आन्तरिक लेखाको जिम्मेवारी दिइएको छ। समीर पोखरेललाई लेखा विभागमा सरुवा गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले विभिन्न निर्देशनालय, विभाग तथा प्रादेशिक कार्यालयको कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेको हो।