काठमाडौं । राजनीतिक नियुक्ति राम्रालाई भन्दा पनि हाम्रालाई च्याप्ने प्रवृत्ति छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत सीईओका लागि सर्ट लिष्टमा परेका पाचै जनाले आज व्यवसायिक कार्ययोजना प्रस्तुत गरेका छन् । सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले यसअघि ५ जनाको नाम सिफारिस गरेको थियो । सिफारिसमा पर्नेहरूमा चूडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका छन् । रीतपूर्वक आवेदन दिएका आवेदकको शैक्षिक योग्यता र कार्ययोजनाको मूल्यांकन गर्दा सबभन्दा बढी अंक प्राप्त गर्नेहरू छनोटमा परेको समितिले जनाएको छ । यीमध्ये तीन जनाको नाम शिफारिश गरिने र तीन मध्ये एकललाई मन्त्रिपरिषद् बैठकले सीईओ नियुक्त गर्नेछ । अर्थ मन्त्रालयले यसअघि फागुन १२ गते एक सूचना प्रकाशित गर्दै फागुन १८ सम्मका लागि दरखास्त आह्वान गरेको थियो । तर, १७ गतेसम्म आवेदन नै नपरेपछि म्याद थप गरेर फागुन २५ सम्मका लागि समय बढाइएको थियो । अन्तिम दिनसम्म १० जनाले आवेदन दिएका थिए । जसमा पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र नारदकुमार लुँइटेल रहेका थिए । त्यस्तै, युवराज दाहाल, प्रवीण अधिकारी, चूडामणि चापागाईं, विमलकुमार तिवारी, कृष्णबहादुर कार्की, हेमन्त बस्याल र मुकुन्दराज जोशीले पनि सीईओको दौडमा आफूलाई प्रस्तुत गरेका थिए । यसअघिका सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि गत माघदेखि यो पद रिक्त छ ।