free website hit counter

नेशनल लाइफको कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न

beemaadmin
२०८३ आश्विन १३, मंगलवार

नेपालगञ्ज । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता तथा व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको चारदिने ‘इम्प्लोई स्कील इन्हान्समेन्ट वर्कसप’ सम्पन्न भएको छ।

नेपालगञ्जस्थित होटल सिद्धार्थमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली, विभागीय प्रमुख तथा प्रशासनिक कर्मचारी गरी ३०० जनाभन्दा बढीको सहभागिता रहेको कम्पनीले जनाएको छ।

कार्यक्रमको उद्घाटन अध्यक्ष सिंहले पानसमा दीप प्रज्वलन गरी गरेकी थिइन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले बदलिँदो प्रविधि र व्यावसायिक परिवेशअनुसार कर्मचारीलाई सक्षम बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा डिजिटल कनेक्टिभिटीसम्बन्धी तालिमलाई प्राथमिकता दिने बताइन्।

कर्मचारीको क्षमता र दक्षता अभिवृद्धिमा कम्पनीले आवश्यक लगानी गर्ने उल्लेख गर्दै उनले कर्मचारीको कार्यक्षमताले कम्पनीको व्यवसाय प्रवद्र्धनमा समेत सकारात्मक योगदान पुर्‍याउने बताइन्।

सोही अवसरमा कार्यसम्पादनका आधारमा छनोट भएका ‘बेस्ट इम्प्लोई अवार्ड–२०८३’ का विजेतालाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको थियो। पुरस्कार प्राप्त गर्नेमा शिवेश ठाकुर (इटहरी), गीता कुमारी थिङ (बर्दिबास), रुक्मणी कुमारी शर्मा (काठमाडौं), अनिल श्रेष्ठ (विरौटा), सुवासमणि पोखरेल (नेपालगञ्ज), प्रमिला मल्ल (नेपालगञ्ज) र विष्णुजंग शाही (जाजरकोट) रहेका छन्।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सहभागीलाई स्वागत गरेका थिए। उनले ग्राहकलाई सरल, छिटो र सम्मानजनक सेवा प्रदान गर्नुपर्नेमा जोड दिँदै संस्थाका नीति तथा नियमको पालना र कामप्रतिको जवाफदेहितालाई संस्थागत संस्कारका रूपमा विकास गर्नुपर्ने बताए।

उनले ‘समस्या जहाँ भए पनि त्यो संस्थाकै समस्या हो’ भन्ने भावनाका साथ समाधान खोज्ने जिम्मेवार प्रयासले कम्पनीप्रति ग्राहकको विश्वास अझ बलियो बनाउने धारणा व्यक्त गरे।

कार्यक्रममा कर्मचारीलाई विभिन्न विषयमा प्रशिक्षणसमेत प्रदान गरिएको थियो। नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले बीमाको माध्यमबाट विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण हुनसक्ने भन्दै यसतर्फ सचेत रहनुपर्ने विषयमा प्रशिक्षण दिएका थिए।

त्यस्तै, प्रशिक्षक विश्वराज पौडेलले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगसम्बन्धी प्रयोगात्मक प्रशिक्षण दिएका थिए भने प्रशिक्षक संजोग कोइरालाले कर्मचारीको व्यवहार तथा आचरणले संस्थाको पहिचान निर्माणमा खेल्ने भूमिकाबारे प्रशिक्षण दिएका थिए।

कार्यक्रममा कर्मचारीको सिर्जनात्मकता, नेतृत्व क्षमता, सहकार्य तथा कार्यसम्पादन अभिवृद्धिलाई लक्षित गर्दै विभिन्न अतिरिक्त क्रियाकलापसमेत सञ्चालन गरिएको थियो। सातै प्रदेशबाट सहभागी कर्मचारीले दैनिक कार्यसम्पादनसँग सम्बन्धित विषयमा नाटक प्रस्तुत गरेका थिए।

यसैगरी विभागीय प्रमुखहरूसँग प्यानल डिस्कसन, कर्मचारीबीच परीक्षा तथा अन्तरकर्मचारी फुटसल, टेबल टेनिस र टग अफ वारलगायतका खेलकुद प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितामा विजयी टोली तथा खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रमको अन्तिम दिन कर्मचारीलाई रिफ्रेसमेन्टका लागि कर्णाली चिसापानी भ्रमणसमेत गराइएको थियो।

कम्पनीका अनुसार चारदिने कार्यक्रमले कर्मचारीको प्राविधिक ज्ञान, व्यावसायिक दक्षता, नेतृत्व क्षमता, व्यवहार तथा संस्थागत कार्यसंस्कृति विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार