काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण अन्तिम समयमा स्थगित भएको छ। आगामी जेठ १८ गते नयाँदिल्ली पुगेर ‘बिग क्याट अलायन्स’ सम्मेलनमा सहभागी हुने कार्यक्रम तय भए पनि सम्मेलन नै स्थगित भएपछि उनको भ्रमण रोकिएको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भनिएको उक्त सम्मेलनलाई नेपाल–भारत सम्बन्धमा नयाँ संवादको अवसरका रूपमा हेरिएको थियो। तर भारतले इबोला भाइरसको सम्भावित जोखिमलाई कारण देखाउँदै कार्यक्रम तत्कालका लागि स्थगित गरेको जनाएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार सदस्य राष्ट्रहरूको पूर्ण र प्रभावकारी सहभागिता सुनिश्चित गर्न सम्मेलनको मिति सारिएको हो। भारतको वातावरण मन्त्रालयले पनि नयाँ मिति सम्बन्धित पक्षहरूसँगको परामर्शपछि तय गरिने जनाएको छ। बाघ, चितुवा र हिउँचितुवालगायत दुर्लभ वन्यजन्तु संरक्षणसम्बन्धी उक्त सम्मेलन जेठ १९ र २० गते आयोजना हुने तय भएको थियो।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले भारतीय विदेशमन्त्री एस जयशंकर र वाणिज्यमन्त्री पियुष गोयलसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तयारी गरेका थिए। ती भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, उच्चस्तरीय भ्रमण आदानप्रदान र क्षेत्रीय सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको थियो।
साथै, विदेशमन्त्री जयशंकरलाई औपचारिक रूपमा नेपाल भ्रमणको निमन्त्रणा दिने तयारी पनि रहेको बताइएको थियो। परराष्ट्र मामिला जानकारहरूका अनुसार यस्तो भेटवार्ताले नयाँ नेपाली सरकार र भारतीय नेतृत्वबीच सम्बन्ध विस्तारका लागि सकारात्मक वातावरण बनाउन सक्ने अपेक्षा गरिएको थियो।
विशेषगरी भारतीय विदेश सचिव विक्रम मिश्रीको प्रस्तावित नेपाल भ्रमण अन्तिम समयमा स्थगित भएपछि देखिएको कूटनीतिक अन्योल कम गर्न पनि खनालको भारत भ्रमणलाई महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको थियो। प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणका लागि समेत यसले वातावरण तयार पार्ने विश्वास गरिएको थियो।
तर सम्मेलन स्थगित भएसँगै ती सबै कूटनीतिक पहलहरू तत्कालका लागि रोकिएका छन्। यसले नेपाल–भारत सम्बन्धमा देखिएको दूरी कम गर्न अब दुवै देशले नयाँ संवादका माध्यम र अवसर खोज्नुपर्ने अवस्था सिर्जना गरेको छ।
उल्लेखनीय छ, भारतीय विदेश सचिव विक्रम मिश्री गत वैशाख २८ गते नेपाल भ्रमणमा आउने तयारीमा थिए। तर अन्तिम समयमा भ्रमण स्थगित भएको थियो। औपचारिक रूपमा स्पष्ट कारण सार्वजनिक नगरिए पनि प्रधानमन्त्री बालेन शाहसँगको भेटको समय नमिलेका कारण भ्रमण प्रभावित भएको चर्चा कूटनीतिक वृत्तमा हुँदै आएको छ।