काठमाडौं । नाबालिग करणीको आरोप लागेका अभिनेता पल शाहले करणीको आरोपलाई अस्वीकार गरेका छन् । नवलपुर जिल्ला अदालतमा दर्ता गरिएको अभियोग पत्रमा बयान दिँदै शाहले करणी गरेको कुरालाई अस्वीकार गरेका हुन् । पलले २०७८ सालको वैशाख महिनामा तनहुँमा म्युजिक भिडियोहरूको सुटिङ सकिएको दुई तीन महिनापछि पीडितले आफूलाई फोन गरि बाहिर सम्बन्धलाई लिएर चर्चा भइरहेको बताएपछि आफूहरूबीच विवाद भएको जाएका छन् ।
बिबाद बढ्दा जाँदा ‘तिमी आफ्नो तरिकाले गर भनि बादबिबाद भएको केही समयमा पीडितको तर्फबाट प्रहरीमा उजुरी परेको’ उल्लेख गरेको बयानमा भनिएको छ ।
रिसोर्टमा आफूले पीडितलाई मादक पदार्थ सेवन गराई जबरजस्ती करणी गरेको भन्ने व्यहोरा झुटो भएको उनले बयानमा भनेका छन् । उनले बयानमा भनेका छन्, ‘म र पीडितबीच प्रेम सम्बन्ध थिएन।’
बलात्कार मुद्दा दर्ता
शाहविरुद्ध जिल्ला अदालत नवलपरासी बर्दघाट सुस्ता पूर्वमा बलात्कार मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार दिउँसो साढे तीन बजेतिर शाहविरुद्ध बलात्कार मुद्दा दर्ता गराएको हो । गायिका समेत रहेकी पीडित बालिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १ र २ बमोजिम कसूरदार ठहर गर्दै सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको हो । जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीका अनुसार शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ । सोही अनुसारको सजाय माग दाबी गरिएको उनले बताए ।
त्यस्तै यौन हिंसा अध्यादेश २०७७ मा चार लाखसम्म जरिवाना हुनसक्ने उल्लेख छ । सोही अनुसार चार लाख रुपैयाँ क्षतिपूर्तिको समेत मागदाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता नेपालीले बताए । शाहलाई तनहुँबाट झिकाउने भन्ने अभियोगपत्रमा उल्लेख गरिएको छ । तनहुँबाट झिकाएपछि मात्र थुनछेक बयान सुरु हुने उनको भनाइ छ । नवलपसारीमा अनुसन्धानपछि शाहलाई तनहुँ लगिएको थियो ।