free website hit counter

पहिलो विश्वयुद्धपछि गति लिएको मोटर बीमा

beemaadmin
२०७७ मंसिर १२, शुक्रबार

यान्त्रिक शक्तिबाट सडकमाथि गुडाइने सम्पूर्ण किसिमका सवारी साधनलाई मोटर भन्न सकिन्छ । यिनै साधनको जोखिम वहन निश्चित परिधिभित्र रहेर गरिनेलाई मोटर बीमा भनिन्छ । इन्जिनबाट चल्ने साधनलाई सवारी साधन भनिन्छ । यी साधन दुई प्रकारका हुन्छन्, जसमा निजी सवारी साधन र व्यवसायिक सवारी साधन हुन् ।

निजी सवारी साधनका विविध प्रकार हुन्छन् । ती हुन्– घरायसी वा बिक्री वा सामाजिक प्रयोजनमा लगाइने । हालसम्म आविस्कारको वा सहुलियतको हिसाबले २ पाङ्ग्रे र ४ पाङ्ग्रेमा विभाजित गरिएको छ । ३ पाङ्ग्रे साधन उपलब्ध भए पनि निजी प्रयोगमा नगन्य छन् ।

अर्थ आर्जनको उद्देश्यले सञ्चालनमा ल्याइएको सवारी साधनलाई व्यवसायिक सवारी साधन भनिन्छ, जसमा बस, ट्रक आदि पर्दछन् । तर यी व्यवसायिक साधनहरूमा सामान ओसार्ने र यात्रु ओसार्ने गरी दुई प्रकारको मानिन्छ । यस्ता कुनै पनि प्रकारको मोटर बीमा गराउनलाई केही आवश्यक नियमहरू छन्, जसमा बीमकले मान्यता दिने भौगोलिक क्षेत्र, सवारीको आवश्यक क्षमता, सवारी बनाउने कम्पनी, वर्ष बनावट, प्रकार, प्रस्तावकको प्रस्तावित मूल्य, बीमकले वहन गर्नुपर्ने जोखिमहरूको बारेमा केही हेरफेर हुन्छ ।

यातायात भनेको देशको आधारभूत आवश्यकता हो । यातायातबिना देशको समग्र विकास कल्पना पनि गर्न सकिँदैन । नेपाल भूपरिवेष्टित देश भएकाले जलमार्गको सम्भावना भर्खरै अध्ययन हुन थालेको छ । विकास निर्माणमा स्थल मार्ग नै अपनाउनु आवश्यक छ । पहाडी भू–धरातलले पूर्णरूपमा निर्माण भएको नेपालमा हवाई यातायात कठिन छ, जसमा मौसमको खराबी, धावन मार्गको कमी, नागरिकको कमजोर आयस्तरले गर्दा हवाई मार्ग विस्तारमा कठिन छ । देशको विकासका लागि स्थल मार्ग, सडक विस्तार अपरिहार्य छ । जसमा बस, ट्रक, कार, जिप, मोटरसाइकल, ट्रिपर पर्दछन् ।

जोखिम हुँदाहुँदै पनि दैनिक कार्य सञ्चालनका लागि यान्त्रिक सहायता लिनु अत्यावश्यक छ र उक्त यान्त्रित वस्तुको जोखिम पनि उत्तिकै प्रबल छ । जसमा दुर्घटना, आगलागी, बाढीपहिरो, हुलदङ्गा, दैविक प्रकोप प्रमुख छन् । बेलायतमा आविस्कार गरिएको मोटरको (सन् १८८०) बीमाको मूल्य बुझिएन । जब आविस्कार भयो, तब समस्या देखा प¥यो, जसमा विविध प्रकारका छन् । जे भए पनि सन् १८९० मा मोटर बीमा लेखको प्रारम्भ गरियो ।

\एउटा औपचारिकतामा मात्र सीमित मोटर बीमा प्रथम विश्वयुद्धपछि वा सन् १९१४–१५ पछि मात्र गति लियो । नेपालमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार चालक, यात्रु, हेल्पर, कन्डक्टरहरूको बीमा अनिवार्य गर्न सुरु भयो । यसमा तेस्रो पक्ष बीमा पनि समावेश गरिएको छ । मोटर बीमा भनेको इन्जिनबाट चल्ने साधनहरू, जसको आकस्मिक दुर्घटना भई स्वयं बीमितको (मोटरको) र तेस्रो पक्षको (त्यस मोटरको कारणले क्षति पुगेको वस्तु) को बीमा लेखमा आधारित भएर जोखिम वहन गरिने व्यवस्था मोटर बीमा हो । अर्थात् क्षतिपूर्ति गर्न यसअन्तर्गत् बीमक बाध्य हुन्छ । सम्भावित जोखिम निवारणमा मोटर बीमा उदाहरणीय मानिन्छ ।

यसरी मोटर बीमा गर्दा फारम भरी बीमकले स्वीकृत गरेको अवस्थामा बीमा शुल्क बुझाई बीमा प्रारम्भ गरिन्छ । यस्तो प्रकारले गरिने मोटर बीमाको क्षेत्र बृहत् छ, जसमा सवारी धनी वा प्रस्तावकको इच्छाअनुसार मोटरको जोखिमको आधारमा यसको क्षेत्र निर्धारण गरिन्छ । अग्नि तथा चोरी, व्यापक बीमा, तेस्रो पक्ष दायित्व प्रचलित मोटर बीमाका रूप हुन् । व्यापक बीमाअन्तर्गत गाडीको क्षति दुर्घटनाको कारणले भएमा, पाटपुर्जा खराब भएमा, रङ्गरोगन गर्नुपर्ने भएमा बीमकले भुक्तानी दिनुपर्दछ वा गाडीको दुर्घटनाका कारणले हुने भौतिक क्षति बीमा कम्पनीले बेहोर्नुपर्दछ ।

यसरी बेहोरिने क्षतिहरूमा रिसको पूर्वाग्रहमा आधारित, बाहिरी कारणको दुर्घटना, पारवहन मार्गको खराबी र डकैती, चोरी, आपसेआफ हुने आगलागी, अन्य कारणको आगलागी, प्राकृतिक प्रकोप, विष्फोट आदि पर्दछन् । यसरी गरिएको बीमामा ऐच्छिकरूपमा थप शुल्क लगाई भुइँचालो, चालक र यात्रुको दुर्घटना बीमा, हुलदङ्गाको क्षति, आँधीबेहरी तथा बाढीपहिरोको क्षतिको जोखिम वहन गर्न सकिन्छ र उक्त कारणबाट मोटरको क्षति भएमा बीमा कम्पनीले क्षतिपूर्ति दिनुपर्दछ ।

सम्बन्धित समाचार