free website hit counter

पाँच अर्ब ह्याक गर्ने योजना यसरी भयो पर्दाफास

beemaadmin
२०७६ आश्विन ८, बुधबार

काठमाडौं । प्रविधिको विकासले जति सहज वातावरण भएको छ सुरक्षामाथि पनि चुनौती थपिएकै छ । चिनियाँ ह्याकरहरुले राजधानीबाटै ठूलो रकम झिकेको घटना सेलाउन नपाउँदै भारतीय ह्याकरको योजनामा कृषि विकास बैंकबाट ४ करोड ७३ लाख रुपैयाँ ट्रान्सफर गरिएको प्रहरीले बताएको । कृषि विकास बैंकको लाहान शाखाबाट सो रकम अन्य खातामा ट्रान्सफर गरिएको हो। सो मध्ये ६० लाख रकम ह्याकर समूहले झिकेको र सो कार्यमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलनको आयोजना गरेर जनाएको छ ।

अनुसन्धानबाट लाहान शाखाको रकम ११ वटा खातामा ट्रान्सफर भएको देखिएको एसएसपी सहकुल थापाले बताए । ती खाताबाट पैसा निकाल्न जाने सबै १२ जनालाई पक्राउ गरिसकिएको छ । पक्राउ पर्नेमा एक भारतीय नागरिक समेत छन्। घटनाको मुख्य योजनाकार मुम्बईमा रहेको प्रहरीले जनाएको छ। १०–१५ प्रतिशत कमिसन राखेर अरु पैसा मुम्बई पठाइदिने योजना रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । घटनामा कैलाश विकास बैंकको पनि संलग्नता देखिएकाले अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । ह्याकर समूहले ५ अर्ब रुपैयाँ झिक्ने योजना बनाएको प्रहरीको दाबी छ ।

पानस रेमिटको उजुरी आधारमा कृषि विकास बैंकको ह्याकिङ प्रकरण खुलासा भएको हो। असोज ५ गते सो रेमिट कम्पनीले संकास्पद गतिविधिबारे प्रहरीमा उजुरी गरेको थियो। पक्राउ पर्नेहरुमा लवाङ तामाङ, लक्ष्मी तामाङ रसुवा, सञ्जय घले काभ्रेस्थली, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्का सर्लाही, विद्यासागर लामिछाने लमजुङ, श्रमणकुमार श्रेष्ठ तनहूँ, सुनिता श्रेष्ठ, सुवम्कर पञ्जा कोलकाता, भारत, विजय साह कैलाली र चन्द्रबहादुर बुढा रहेका छन् ।

सम्बन्धित समाचार