free website hit counter

पाँच सचिवमा आउने यी हुन् नयाँ अनुहार

beemaadmin
२०७६ माघ २६, आईतवार

काठमाडौं । गृहसचिवमा महेश्वर न्यौपानेको सरुवासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रदेश नं. १ का प्रमुख सचिव दिनेश घिमिरेलाई ल्याइयो भने सो स्थानमा सहसचिव दिनेश भट्टराईलाई बढुवा गरेर पठाइयो । सोही दिन चार जना सचिवहरुले अवकाश पाए पनि सरकारले बाँकी सहसचिवहरुलाई बढुवा गरेन । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले रिक्त सचिव पदमा नियुक्ति गर्ने बताइएको छ । लामो समय प्रधानमन्त्री कार्यालयमै बिताएका अनिल ठाकृुरले पनि माघ २२ गतेबाट अवकाश पाए । सचिवमा बढुवा भएपछि आपूर्ति मन्त्रालयको सचिवमा सरुवा गरिएका ठाकुरकै पालामा आयल निगम जग्गा प्रकरण बाहिर आएको थियो ।

सोही प्रकरणपछि त्यहाँबाट सरुवा गरिएका ठाकुर महिला आयोग हुँदै प्रधानमन्त्री कार्यालयमा पुर्याइए । दुर्भाग्य नै भन्नुपर्छ उनको सरुवासँगै महिला आयोगमा सचिव पदको दरबन्दी काटियो । सहसचिव कर्मचारी प्रमुख हुने व्यवस्था गरियो । त्यस्तै गृहसचिव प्रेमकुमार राईले पनि सोही दिन अवकाश पाए पनि सरकारले गृहमा भने सरुवा गरिसकेको छ । उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य पनि अवकाश पाएका छन् । श्रम तथा रोजगार मन्त्रालयमा करिब ३ महिनामात्रै काम गर्ने अवसर पाएका आचार्यले सचिव कार्यकालभरि मन्त्रालय नपाउने अभागी सचिवको परिचय बनाए ।

प्रधानमन्त्री कार्यालयमा दुई पटक, महालेखा नियन्त्रण कार्यालय हुँदै उपराष्ट्रपति कार्यालय पुर्याइका आचार्य कम बोल्ने सचिवका रुपमा चिनिन्थे । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालकी श्रीमती गायत्री नेपालका भाइ आचार्य पटक पटक कम्युनिष्ट पार्टीको सरकार बने पनि उनी ओझेलमै परिरहे । त्यस्तै गजेन्द्र ठाकृुर कुनै बेलाका कर्मचारी प्रशासनका चर्चित सचिव, मेलम्चीका ठेकेदारसँग रकम बार्गेनिङ गर्दै ठेकेदार भगाएको आरोप लागेका ठाकुरलाई सोही आरोपका कारण सरुवा गरेर नेपाल ट्रष्टको कार्यालय पुर्याइयो ।

सचिव बढुवासँगै भौतिक योजना मन्त्रालयमा केही समय बिताएका ठाकुर त्यसपछि शान्ति तथा पुननिर्माण मन्त्रालयमा २ पटक, खानेपानी मन्त्रालयमा २ पटक पुगेर सेवा गर्ने अवसर पाए । खरो र हेपाह व्यवहार प्रदर्शन गर्ने शैलीकै कारण पटक पटक सरुवामा पर्दै आएका र मन्त्रालयका कर्मचारी र मन्त्रीहरुले रुचाउँदैनथे । पछिल्लो समय ट्रष्टको सचिव रहँदा पनि यति होल्डिङ्स प्रकरणका कारण चर्चामा रहे । त्यस्तै अर्थसचिव राजन खनालले पनि अवकाश पाएका छन् । लामो समय अर्थ मन्त्रालयमा बिताएका खनाल अर्थबाटैं बिदा भए ।

सो स्थानमा सरकारले राजश्व सचिव शिशिर ढुंगानालाई सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट ल्याउँदैछ । यसैगरी, कृषि मन्त्रालयका सचिव युवकध्वज जिसीको बुधबारबाटै लागू हुने गरी राजीनामा स्वीकृत भइसकेको छ । बुधबार उनको बिदाईसँगै सो स्थानमा पनि सचिव खाली हुन पुगेको छ । जिसी विश्व खाद्य कार्यक्रमको क्षेत्रीय निर्देशकमा नियुक्ति भएपछि उनले सचिव पदबाट राजीनामा दिएका हुन् । कृषि मन्त्रालयमा दुई जना सचिवको दरबन्दी रहेको छ । पशु सचिवमा डा. प्रकाश माथेमा कार्यरत छन् । सरकारले जिसीको स्थानमा नयाँ सचिव नियुक्ति गर्ने वा दरबन्दी घटाएर एउटै सचिव मात्र राख्ने भन्ने निर्णय सोमबार गर्दैछ ।

यदि दरबन्दी काटियो भने माथेमाले नै कृषि मन्त्रालयको कर्मचारीको नेतृत्व सम्हालेछन् । उता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दुई सचिवमध्ये एक सचिव खगराज बराल कार्यरत छन् भने अर्का सचिव डा. पुष्पा चौधरीको राजीनामा स्वीकृत भइसकेको छ । चौधरीको स्थानमा ११औं वा १२औं तहका चिकित्सकमध्येबाट एक जनालाई बढुवा गर्नुपर्ने छ । त्यसो हुँदा स्वास्थ्यमन्त्री भानुभक्त ढकालको रोजाईमा डा. रोशन पोखरेल परेका छन् । उनलाई १२औं तहको बढुवाका लागि समेत सिफारिश गरिसकिएको छ । केही दिनअघि बढुवा समितिले मन्त्रालयका ३ प्रमुख विशेषज्ञ पदमा ५ जनाको सिफारिश गरिसकेको छ ।

त्यहीमध्येबाट एक जनालाई सचिव बनाउने र बाँकी चारमध्ये तीन जनालाई प्रमुख विशेषज्ञ पदमा बढुवा गर्ने मन्त्रिपरिषद्को तयारी छ । यसो हुँदा डा. दिपेन्द्ररमण सिंह, डा. भीमसिंह टिंकरी, डा. महेन्द्रप्रसाद श्रेष्ठ १२औं तहमा बढुवा हुने पक्कापक्की जस्तै छ । रिक्त तीन प्रशासनिक सचिवमा एकनारायण अर्याल, टेकनारायण पाण्डे र रामशरण पुडासैनी नियुक्त हुनेछन् । अर्याल कोलकातास्थित महावाणिज्य दूतका रुपमा कार्यरत छन् भने पाण्डे प्रदेश नं. ५ को मुख्यमन्त्री कार्यालयमा कार्यरत छन् । पुडासैनी केही समय अघि पूर्व मुख्य सचिव डा. सोमलाल सुवेदीलाई फर्काएर उनको स्थानमा मिसनमा गएका सहसचिव हुन् । अर्थ मन्त्रालयमा लामो समय बिताएका र कम्युनिष्ट प्रशासकहरुको रोजाइमा परेका पुडासैनी सचिव हुनेबित्तिकै राजश्व सचिवमा लगिने छ । त्यसैगरी प्राविधिक सचिव पदमा भने सागर राई बढुवा हुँदैछन् ।

सम्बन्धित समाचार