काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले फागुन २१ गतेको निर्वाचनपछि पुँजी बजारमा सुधार आउनुपर्ने अपेक्षा गरिए पनि उल्टै बजार कमजोर बनेको भन्दै यसको कारण पहिचान गरी सुधारका उपाय खोज्ने बताएका छन्।
आइतबार आयोजित ‘नेपालको पुँजी बजार : आर्थिक लगानीको आधार’ विषयक छलफलमा सभापति थापाले निर्वाचनपछि पुँजी बजारले सकारात्मक गति लिने अपेक्षा गरिए पनि त्यसअनुसार अघि बढ्न नसकेको बताए।
उनले भने, ‘चुनावपछि सबैभन्दा राम्रोसँग अघि बढ्ला भनेर अनुमान गरिएको थियो। सबै उत्साहित थिए, पुँजी बजारप्रति अपेक्षा थियो। दुर्भाग्यवश हाम्रो पुँजी बजार जसरी अघि बढ्नुपर्ने हो, त्यसरी जान सकेन।’
थापाले पुँजी बजार कमजोर हुनुका कारण र बजारमा देखिएका अवरोध पहिचान गर्नुपर्नेमा जोड दिए। उनका अनुसार बजारको वर्तमान अवस्थाबारे गम्भीर अध्ययन गरी तत्काल सुधार गर्न सकिने उपाय पहिल्याउन आवश्यक छ।
‘यसको कारण के होला? अप्ठेरा के–के हुन्? तत्काल सुधारका उपाय के हुन सक्छन्?’ उनले प्रश्न गर्दै यी विषयमा गम्भीर छलफल आवश्यक रहेको बताए।
सभापति थापाले संसद्मा आर्थिक तथा वित्तीय विषयलाई प्रभावकारी ढंगले उठाउन कांग्रेसका सांसदहरूलाई आर्थिक विषयमा थप सक्षम बनाउने उद्देश्यले परामर्श र छलफल अघि बढाइएको जानकारी दिए।
कांग्रेसले आयोजना गरेको ‘सुवर्ण शमशेर इकोनोमिक सिरिज’ को तेस्रो शृंखलाअन्तर्गत पुँजी बजार र अर्थतन्त्रसँग सम्बन्धित विषयमा विज्ञहरूसँग छलफल गरिएको हो।
थापाका अनुसार कार्यक्रममा विज्ञहरूले प्रस्तुत गरेका विषयवस्तु तथा दिएका सुझावलाई समेटेर प्रतिवेदन तयार गरिनेछ। उक्त प्रतिवेदन कांग्रेसका सांसदहरूलाई उपलब्ध गराइने उनले बताए।
कार्यक्रममा अर्थशास्त्री, पुँजी बजारका विज्ञ तथा नेपाली कांग्रेसका नेताहरूको सहभागिता रहेको थियो।
कांग्रेसले आर्थिक तथा वित्तीय विषयमा सांसदहरूको ज्ञान र क्षमता अभिवृद्धि गर्दै संसद्मा आर्थिक मुद्दालाई तथ्य र विज्ञको सुझावका आधारमा प्रभावकारी रूपमा उठाउने उद्देश्यले यस्तो छलफललाई निरन्तरता दिने जनाएको छ।