free website hit counter

पुनर्बीमा कम्पनीलाई पुँजी वृद्धिका के के छन् विकल्प ?

beemaadmin
२०८० माघ १८, बिहीबार

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले पुँजी वृद्धि गर्न निर्देशन दिएसँगै पुनर्बीमा कम्पनीहरू त्यसको तयारीमा जुट्नुको विकल्प छैन । प्राधिकरणले पुनर्बीमा कम्पनीको चुक्ता पुँजीप् एक वर्षभित्र २० अर्ब पुँजी पुर्याउन निर्देशन दिएसँगै दुई पुनर्बीमा कम्पनीका सञ्चालकहरू आन्तरिक छलफलमा जुटेका हुन् । प्राधिकरणले दुईटै पुनर्बीमा कम्पनीलाई १५ दिनभित्र पुँजी वृद्धिको योजना पेस गर्न पनि समय दिएको छ । अब कुन उपकरण अपनाएर पुँजी वृद्धि गर्ने भन्ने विषयमा दुवै कम्पनीका सञ्चालक समिति आन्तरिक छलफलमा जुटेका हुन् । उसो त यसअघि पनि प्राधिकरणले पुनर्बीमा कम्पनीका सीईओहरूलाई प्राधिकरणमै बोलाएर पुँजी वृद्धिको विषयमा छलफल गरिसकेको थियो । प्राधिकरणले पुँजी वृद्धि गर्न निर्देशन दिए पनि कसरी वृद्धि गर्ने भन्ने विषयमा भने सार्वजनिक धारणा राखेको छैन । त्यसका लागि योजना पेस गर्न कम्पनीलाई नै जिम्मा दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल दुईटै पुनर्बीमा कम्पनीले पेस गरेको पुँजी वृद्धिको योजना अध्ययन गरेर सही विकल्पलाई अनुमति दिने बताउँछन् । नेपाल पुनर्बीमा कम्पनीको हालको चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४४ हजार रुपैयाँ छ । २० अर्ब पुँजी पुर्याउन कम्पनीले ७ अर्ब १८ करोड ६४ लाख रुपैयाँ थप गर्नु पर्ने देखिन्छ । नेपाल पुनर्बीमा कम्पनीमा सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकी बीमा कम्पनी तथा संगठित संस्थाहरूको लगानी छ । पुँजी वृद्धिका लागि सरकारले मात्रै ३ अर्ब पुँजी थप्नु पर्ने देखिएको छ । नेपाल पुनर्बीमा कम्पनीलाई भने पुँजी वृद्धिका लागि सकस नहुने देखिएको छ । कम्पनीले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा बोनस सेयर वितरण गरेर पुँजी बढाउने योजना बनाइरहेको छ । अपुग पुँजीका लागि कम्पनीले एफपीओ जारी गर्न सक्छ । सोही विषयमा कम्पनीमा छलफल पनि भइसकेको बुझिएको छ ।
यस्तै, हाल हिमालयन रिइन्स्योरेन्सको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ । हिमालयनले हालै मात्र प्रिमियम मूल्यमा आईपीओ जारी गरेको थियो । सुरुमा ७ अर्ब रहेको पुँजी आईपीओ जारी गरेपछि १० अर्ब पुगेको छ । कम्पनीले अझै १० अर्ब पुँजी थप्नु पर्ने देखिएको छ । कम्पनीमा ३० जना संस्थापक सेयरधनी छन् । जसमध्ये सबैभन्दा धेरै सेयर स्वामित्व अम्बर प्रोभेष्टमेन्टको ६७ लाख ८५ हजार कित्ता रहेको छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको ५०–५० लाख कित्ता, इन्फिनीटी होल्डिङ्गसको ४५ लाख कित्ता र जगदम्बा मोटर्सको ३२ लाख कित्ता सेयर स्वामित्व छ । यस्तै, केएल दुगड ग्रुपका प्रबन्ध संचालक विकास दुगड र जगदम्बा स्टिलसको २२–२२ लाख कित्ता, साफ्रोन सिके र हंसराज हुलासचन्दको २०र२० लाख कित्ता, आरएमसी कन्ष्ट्रक्सन र सशीकान्त अग्रवालको १५–१५ लाख कित्ता, कार्भी ग्लोबल, अटल फिन्कोर्प, अकोर्ड फिन्कोर्प र कालिका फिन्कोपको १३.५०–१३.५० लाख कित्ता सेयर स्वामित्व छ । कम्पनीमा सौर्य सिमेन्ट, सन्दिप अग्रवाल, राहुल अग्रवाल, विकास जे।वि।राणा, शालिमार इनभेष्टमेन्ट, राजेश हार्डवेयर, कैलाश सिरोहिया, किर्ती एपेक्स, ओण्डर भेन्चर्स, उज्जिवन मर्चेन्ट र अजन्ता होल्डिङ्गसको १०र१० लाख, एक्सप्रेस इनभेष्टमेन्ट र कामधेनु इनभेष्टमेन्टको ९र९ लाख कित्ता, पशुपति मुरारका र सिरिश कुमार मुरारकाको ७।२५र७।२५ लाख कित्ता सेयर स्वामित्व छ । नेपाल पुनर्बीमाको तुलनामा हिमालयनलाई पुँजी वृद्धिमा केही सकस भोग्नु पर्ने देखिन्छ । कम्पनीले पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्ने वा विदेशी साझेदार भित्र्याउन सक्नेछ । कम्पनीले बोनस सेयर वितरण गरेर एक वर्षभित्र १० अर्ब पुँजी बढाउन सक्ने सम्भावना देखिँदैन । पुँजी वृद्धिको अर्को उपकरण भनेको मर्जर हो । तर, नेपाल पुनर्बीमा र हिमालयन पुनर्बीमाबीच मर्जरको सम्भावना शून्य प्राय छ ।

सम्बन्धित समाचार