काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजार सुधारका लागि दीर्घकालीन रणनीति, कार्ययोजना (रोडम्याप) र नयाँ नीति तथा कार्यक्रमसहितको ‘थ्री–इन–वान’ प्याकेज यसै साता सार्वजनिक गर्ने तयारी गरेको छ।
नयाँ अध्यक्ष गोपाल भट्टको नेतृत्वमा बोर्डले पूँजी बजार विकास मार्गचित्रलाई कार्यान्वयनमा लैजान तीनवटा महत्त्वपूर्ण दस्ताबेज एकैसाथ ल्याउने तयारी गरेको हो। बोर्ड स्रोतका अनुसार मंगलबार वा बुधबारभित्र यी दस्ताबेज सार्वजनिक हुन सक्नेछन्।
दीर्घकालीन रणनीतिले आगामी चारदेखि पाँच वर्षको पूँजी बजारको दिशा तय गर्ने, संरचनागत सुधार, नयाँ वित्तीय उपकरण र अन्तर्राष्ट्रिय स्तरको नियामकीय व्यवस्था समेट्नेछ। कार्ययोजनाले ती योजनाको कार्यान्वयनका लागि समयसीमा र जिम्मेवारी निर्धारण गर्नेछ भने आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा चालु वर्षका प्राथमिकता र नीतिगत सुधार समावेश गरिनेछ।
यसअघि बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, संस्थागत सुशासन निर्देशिका तथा धितोपत्र सम्बन्धी ऐनमा समसामयिक संशोधनको प्रक्रिया अघि बढाइसकेको जनाएको थियो। नयाँ दस्ताबेजहरूले ती सुधारलाई थप स्पष्ट बनाउने अपेक्षा गरिएको छ।
यद्यपि, नयाँ नेतृत्वप्रति लगानीकर्ताहरू अझै ‘पर्ख र हेर’को अवस्थामा छन्। बजारमा निरन्तर गिरावट र विगतमा घोषणा भएका सुधार योजनाको कार्यान्वयनमा ढिलाइ भएकाले उनीहरू व्यवहारिक नतिजाको प्रतीक्षामा रहेको देखिन्छ।
बोर्डभित्र भने नयाँ नेतृत्वसँगै सकारात्मक वातावरण बनेको बताइएको छ। अध्यक्ष भट्टले कर्मचारीका सेवा–सुविधा र वृत्ति विकाससँग सम्बन्धित मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि कर्मचारीको मनोबल बढेको स्रोतको दाबी छ।
अब बोर्डले सार्वजनिक गर्ने रणनीति र सुधार योजनाले लगानीकर्ताको विश्वास पुनः स्थापित गर्न र पूँजी बजारमा सकारात्मक सन्देश दिन कत्तिको सफल हुन्छ भन्नेमा सबैको चासो केन्द्रित भएको छ।