free website hit counter

पूर्वराजालाई सुनाउन जो–जो पुगे

beemaadmin
२०७७ चैत्र १८, बुधबार

पूर्वराजा ज्ञानेन्द्र शाहले एक महिनाभन्दा धेरै पूर्वी नेपाल र सिक्किममा बिताउनुभयो । संयोग कस्तो भने, उहाँमा प्रम केपी ओलीप्रतिको विश्वास एकदमै बढिरहेको छ र बस्न पनि ओलीकै जिल्ला झापामा बस्ने गर्नुभएको छ ।
त्यसरी प्रधानमन्त्री केपी ओलीप्रति विश्वस्त हुनुपर्ने आधार र कारणबारे पूर्वराजाले धेरैलाई खुलस्त बताउनुभएको छैन । तर, हरेक भेटघाटमा भन्ने गर्नुहुन्छ, ‘ओलीले केही गर्छन् !’ काठमाडौंदेखि पूर्वराजा भेट्न झापा पुग्नुभएका पूर्वगृह र भूमिसुधार मन्त्री बुद्धिमान तामाङदेखि पाँचथरका युवा नेता सगुनसुन्दर लावती, दमकको मेयरमा पराजित भएर कांग्रेस पसेका राम थापा, कांग्रेसबाट राप्रपातिर लागेका भक्ति सिटौला, शाही अंगरक्षक भरतकेशर सिंहका छोरादेखि अस्मिता भण्डारीसम्मलाई पनि उहाँले ओलीप्रति विश्वस्त हुन सकिने मनशाय व्यक्त गर्नुभएको छ । तर, त्यसका आधार, कारण वा घटनाक्रमबारे त्यति खुल्न चाहनुभएन ।
झापा बस्दा उहाँले त्यतातिरका प्रायःजसो राजावादी र हिन्दू अभियन्तासँग भेट गरिसक्नुभएको छ । आफ्नो कुरा खासै भन्नुहुन्न, तर भेट्न गएकाहरूले भन्ने कुरा ध्यानपूर्वक सुन्ने गर्नुहुन्छ । देशको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा आगन्तुकले राख्ने धारणा रुचीपूर्वक सुन्नमा खुब रुचि छ । र, कुराकानीका क्रममा हिन्दु राष्ट्र र राजसंस्था फर्किनेमा विश्वास व्यक्त गर्नुहुन्छ तर कसरी, कुन माध्यमबाट र कुन प्रक्रियाबाट ती कुरा पूरा हुन्छन् ? न भेट्न जानेले सोध्न सक्छन् न त उहाँले नै भन्नुहुन्छ । तर, उहाँको भनाइबाट बुझिन्छ, आफ्नो बलले हैन, ‘अरु कारण’ ले हिन्दू राज्य फिर्ता हुन्छ । भेट्न गएका एक हिन्दूवादी अभियन्ताले भने, ‘चीनले नेपालमा स्थायित्व चाहेको छ । चीन राजा हट्ने बेलामा समर्थन र विरोध दुबैतिर गएन । कम्युनिष्टलाई स्थायी शक्तिका रुपमा उभ्याउन खोज्यो । तर, कम्युनिष्टहरूकै झगडाका कारण त्यसो हुन सकेन । त्यसैले ऊ खोपीको देउताका रुपमा राजा रहोस् भन्ने चाहन्छ । भारतले नाममात्रको भए पनि राजसंस्था हुँदा नेपालको हित हुन्छ भन्ने बुझिसकेको छ । त्यसमाथि विभिन्न सन्दर्भमा राष्ट्रपतिका भूमिकाहरू प्रश्नयोग्य बन्नुले पनि राजाकै परिपक्व नेतृत्व मुलुकले चाहेको धारणा उहाँको बुझिन्छ’, भेट गर्न गएका ती अभियन्ताले जनआस्थालाई सुनाए । कुराकानीमा पूर्वराजा केपीलाई समर्थन गर्नुपर्छ भन्नेमा स्पष्ट हुनुहुन्छ । भेट्न जानेहरूलाई ‘राजनीतिक अवस्था कता जान्छ ?’ भनेर प्रश्न गर्नुहुन्छ । तर, सामान्य अनुमान गरौँ, केपी ओलीले राष्ट्रपतिबाट विद्या भण्डारीलाई हटाएर राजालाई कसरी फर्काउनुहोला ? पूर्वराजासँग भेट्न जानेहरूको शंका छ, उहाँहरुबीच केही कुरा भएको हुनुपर्छ ।
त्यसमाथि केपी ओलीको कार्यशैली छ, मन्त्रिपरिषद्बाट निर्णय नगरी घोषणा गर्ने । संविधानमा संसद् विघटनको व्यवस्था नहुँदा नहुँदै पनि उहाँले त्यस्तो कदम चाल्नुभयो । राजावादीहरूले अनुमान गरेका छन्– यस्तै केही हुनसक्छ । (जनआस्था साप्ताहिकबाट)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार