free website hit counter

पूर्वराजासँग अब समय छैन

beemaadmin
२०७७ चैत्र ४, बुधबार

‘कोसँग कति आश गर्ने ? कहिलेसम्म आश गरेर बस्ने ?’ पूर्वराजा ज्ञानेन्द्रको मनमा मडारिएका प्रश्न हुन् यी । र, राजसंस्था पुनःस्थापनाका सम्भावनाबारे निकटस्थहरूसँग हिजोआज अनेकन गन्थन गरेर समय बिताइरहनुभएको छ ।
एकातिर नेपाल सरकारले घरका बार्दलीदेखि कोठाचोटासम्म सुराकी छाडेकोमा उहाँको असन्तुष्टि छ भने अर्कातिर भारतबाट खेलाई–खेलाई धोका दिइएकोप्रति उत्तिकै वितृष्णा छ । यस्तो स्थितिमा कसलाई रोज्ने ? किन रोज्ने ? निकट एक नेतासँग केही दिनअघि भारतप्रतिको दिक्दारी पोख्नुभयो । भन्नुभयो, ‘कहिले के भन्दै, कहिले के भन्दै उनीहरूले (भारत) यत्रो वर्ष अल्मल्याए । समय कम छ, अब विकल्प खोज्नुपर्छ ।’ जे गर्ने हो, त्यो सबै आफ्नो जीवनकालमै होस् भन्ने उहाँको चाहना देखिन्छ । ‘मेरो पनि उमेर ७३ वर्ष भयो । त्यसैले अब हामीले केही गर्नुपर्छ या उत्तरतिर ढल्किनुपर्छ’, उहाँको धारणा थियो । अलिक विश्वास बढेको छ, केपी ओलीप्रति । आफ्नै पार्टीभित्र अनुदार भए पनि हिन्दूहरूका पक्षमा प्रस्तुति र योगदान पछिल्लो समय आश्चर्यजनक रुपमा बढ्नुले केपीलाई विश्वास गर्न सकिने आधार बनेको ठम्याई पूर्वराजाको छ । उहाँले अभिनेत्री मनिषा कोइरालालाई भनेजस्तै कुरा जनआस्थाको सम्पर्कमा आएका ती नेतासँग भन्नुभएको छ, ‘अहिलेका नेपाली नेतामध्ये तुलनात्मक रुपमा अरुभन्दा केपी ओली देशभक्त छन् । उनी राष्ट्रवादी भएको हुनाले पनि सफ्ट कर्नर (सदाशयता) राख्न सकिन्छ ।’
आफूमाथि सरकारी निगरानी बढेकोमा भने बडो दिक्दारी छ । ‘अनावश्यक निगरानी बढाइयो, तर सुरक्षाचाहिँ कटौती भयो’, उहाँले भन्नुभयो । व्यक्तिगत भेटघाटका क्रममा नेपालीभाषी बाहुल्य उत्तरपूर्वी भारतीय प्रान्त सिक्किम र दार्जिलिङमा दश दिन बिताएर फर्किनुभएका उहाँ देश बाहिर भएकै बेला उहाँको सुरक्षार्थ तैनाथ ९८ सुरक्षाकर्मीमध्ये ५८ लाई तानेर ४० जना बाँकी राखिएका छन् । त्यसमध्येबाट पनि तानेर १६ मा सीमित गर्ने लक्ष्य छ । तर, उहाँलाई लक्ष्यित गरेर ती तानिएको नभई प्रचण्डको रिस फेर्ने योजना बनाउँदा त्यही घानमा पूर्वराजा पनि पर्नुभएको हो । उहाँ फर्किनासाथ कटौतीमा परेका सुरक्षाकर्मी आ–आफ्नो ठाउँमा पुग्छन् ।
माग्न जाँदा हिस्स !
कुनै बेला वाइसिएलको उपत्यका इञ्चार्जका रुपमा निक्कै छाएका चन्द्रबहादुर थापा (सागर) अहिले हिन्दू राजतन्त्रको वकालत गर्दै एउटा पार्टी चलाउँछन् । कसै कसैले प्रचण्डले खोलिदिएको पार्टी पनि भन्छन्, तर उनको काम गर्ने शैली र प्रचण्डको पक्षधरतामा आकाश–जमिनको फरक छ । उनै सागर आफ्ना गतिविधि सञ्चालन गर्नका निम्ति पूर्वराजा ज्ञानेन्द्रसँग पैसा माग्न पुगे । तर, ज्ञानेन्द्रले सोचेभन्दा ९० डिग्री अन्तरको व्यवहार गरेर फिर्ता पठाउनुभयो । भन्नुभयो, ‘नेपाली जनताले चाहे भने फर्किन्छु । नभए यत्तिकै मर्छु । तर, पैसा खर्च गरेर राजाको पक्षमा नाराबाजी गराउन तयार छैन ।’
पूर्वराजाबाट यस्तो जवाफ पाएपछि सागर कार्यकारी राष्ट्रपतिको नारासहित सडकमा देखिएका छन् । उनले फागुन २१ गते हिन्दू राष्ट्र बनाउने एजेण्डासहितको आमसभा आयोजना गरे । त्यसमा पनि कार्यकारी राष्ट्रपतिको वकालत गरेका छन् ।
उता, पूर्वराजाको जस्तै सुरक्षा कटौतीमा परेका केही राजनीतिक दलका नेताले भने फेरि सरकारसँग सुरक्षा माग गरेका छन् । डा.रामशरण महत, पूर्णबहादुर खड्का, डा.प्रकाशशरण महत, बालकृष्ण खाँणसहितका १६ नेताले त्यस्तो गरेका हुन् । उनीहरूलाई नेपाल प्रहरीबाट पिएसओ दिने, तर सवारी चालक र भान्से नदिने नीति बनाइएको छ । यो गृहसचिवस्तरीय निर्णय हो । यसलाई अब केन्द्रीय सुरक्षा समितिमा पेश गर्ने भनिएको छ । (जनआस्थाबाट)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार