free website hit counter

पेट्रोलको गन्धमै बिलायो करोडौं बीमा रकम

beemaadmin
२०८० भाद्र १३, बुधबार

काठमाडौँ । निश्चित रकम तिरेर बीमालाई जोखिम हस्तान्तरण गरिन्छ । त्यसैले त ठूला दुर्घटना हुँदा पनि कुनै कम्पनी बन्द गरेर हिँड्नु पर्ने अवस्था आउँदैन । पेट्रोलियम पदार्थको ढुवानी नेपालमा अरवौंको हुन्छ । बिमाका नाममा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले करोडौं रुपैयाँ अपचलन गरिरहेको आरोप लागेको छ । नेपाल आयल निगमको डिपोबाट पम्पसम्म इन्धन ढुवानी गरेबापत बिमा शुल्कमा एसोसिएसनले बर्सेनि ठूलो परिमाणमा रकम अपचलन गरेको आरोप लागेको हो । एक वर्षमा मात्रै ५ करोड रुपैयाँभन्दा बढीको अपचलन हुने गरेको पम्प व्यवसायी बताउँछन् । यस्तो प्रवृत्ति दशकदेखि निरन्तर चलिरहेको उनीहरूको भनाइ छ । बिमा शुल्कका नाममा निगमले ०.०६ प्रतिशतका दरले रकम उपलब्ध गराउँछ, गत वर्ष पेट्रोल र डिजेल बिक्री गरेका हिसाबले १८ करोड १५ लाख रुपैयाँ संकलन भएको छ । तर, डिलर एसोसिएसनले सोहीअनुसार शुल्क बुझाउँदैनन् । ०७९–८० मा १ खर्ब १ अर्ब ९३ करोड ५३ लाख १३ हजार ३ सय ३७ रुपैयाँको पेट्रोल बिक्री भएको निगमको तथ्यांक छ । यसबाट ०.०६ प्रतिशतका हिसाबले ६ करोड १२ लाख बिमा शुल्क संकलन भएको छ । २ खर्ब ५४ करोड ३४ लाख १८ हजार ३ सय ५१ रुपैयाँको डिजेल बिक्री हुँदा बिमा शुल्कबापत १२ करोड ३ लाख रुपैयाँ संकलन भएको छ । अर्थात् आर्थिक वर्ष ०७९–८० मा बिमा शुल्कका नाममा १८ करोड १५ लाख रुपैयाँ उठेको छ । तर एसोसिएसनले राष्ट्रिय बिमा कम्पनीमा १२ करोड ३ लाख रुपैयाँ मात्रै शुल्क बुझाएको छ । आर्थिक वर्ष ०७९–८० मा २ खर्ब २१ अर्ब ९७ करोडको बिमा भएको देखिन्छ । तर एसोसिएसनले बिमा शुल्क १३ करोड २६ लाख रुपैयाँ मात्रै तिरेको छ । निगम र बिमा कम्पनीको तथ्यांक केलाउँदा एक वर्षमा ४ करोड ८९ लाख गायब देखिन्छ । आर्थिक वर्ष ०७८–७९ मा ९२ अर्ब ४२ करोडको बिमा भएको छ । तर, एसोसिएसनले ११ करोड ५४ लाख मात्रै बिमा शुल्क तिरेको तथ्यांकमा उल्लेख छ । जबकि निगमले एसोसिएसनलाई आर्थिक वर्ष ०७८–७९ मा बिमा शुल्कबाट १६ करोड ७९ लाख भुक्तानी दिएको छ । ०७८–७९ मा ८९ अर्ब ९७ करोड २१ लाख ४४ हजार ६ सय ९७ रुपैयाँको पेट्रोल बिक्री हुँदा बिमा शुल्कबापत ५ करोड ४० लाख संकलन भयो । डिजेल १ खर्ब ८९ अर्ब ८२ करोड ११ लाख ८९ हजार २ सय ४३ रुपैयाँको बिक्री हुँदा बिमा शुल्क ११ करोड ३९ लाख रुपैयाँ संकलन भएको छ । तर, एसोसिएसनले ११ करोड ५४ लाख रुपैयाँ मात्रै बिमा शुल्क बुझाएको छ । बाँकी ५ करोड २५ लाख खै ? बिमा गराउँदा त्यसको भ्याटसहितको बिल उपलब्ध गराउनुपर्ने प्रावधान छ । तर, एसोसिएसनले ०६३ सालदेखि नै बिनाभ्याटको बिमा रसिद दिएर व्यवसायीसँग अवैध रूपमा रकम असुलिइरहेको छ । यस्तो प्रकारका अपचलन शृंखलाबद्ध रूपमै भइरहेको छ ।
इन्धन ढुवानीका क्रममा भारतीय आयल कर्पोरेसन आईओसीको रिफाइनरीदेखि निगमको डिपोसम्म आइपुग्दा निगम स्वयंले नै ढुवानी बिमा गर्छ । निगमको डिपोदेखि व्यवसायीको पम्पसम्म ढुवानी गर्दा एसोसिएसनलाई ढुवानी बिमाको अधिकार छ । त्यसको बिमा शुल्क निगमले नै उपलब्ध गराइदिन्छ । निगमले पेट्रोलियम विक्रेता तथा ग्यास कम्पनीरविक्रेताको खर्च मुनाफा शीर्षकबाट बिमाको रकम दिन्छ । निगमको विवरणअनुसार हाल विक्रेताको खर्च मुनाफा शीर्षकमा प्रतिलिटर पेट्रोलमा ६ रुपैयाँ १० पैसा र डिजेलमा ४ रुपैयाँ ८५ पैसा दिन्छ । डिपोबाट पम्पसम्म ढुवानी भाडा पनि यहीभित्र पर्छ । अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य १ सय ७८ रुपैयाँ र डिजेलको १ सय ६७ रुपैयाँ तोकिएको छ । बिमा शुल्क उठाउने हकमा बिमा कम्पनीले एसोसिएसनलाई एजेन्टको मान्यता दिएको छ । एजेन्ट भएका नाताले करिब ५ प्रतिशत कमिसन दिने गरेको एसोसिएसनले जनाएको छ । एसोसिएसनले निगमको बिक्री परिमाणसँग नमिल्ने बताए पनि एसोसिएसन स्वयंले संकलन गरेको रकममा पनि फरक देखिन्छ । निगमले बिमा शुल्कबापत प्रतिलिटर ६ पैसा दिइरहँदा एसोसिएसनले ८ पैसा उठाएको छ । ८ पैसाका हिसाबले ०७९–८० मा मात्रै १९ करोड ७१ लाख रुपैयाँ संकलन भएको छ । बिमा कम्पनीमा १४ करोड ९८ लाख रुपैयाँ शुल्क बुझाएको एसोसिएसनको दाबी छ । डिपोमा कर्मचारी खटाएका हिसाबले जिल्लास्थित स्थानीय संकलकलाई १ करोड ४५ लाख बुझाएको दाबी गरिएको छ । तर पनि निगम र पम्पबाट १९ करोड ७१ लाख रुपैयाँ संकलन भएको देखिन्छ । बिमा कम्पनी र स्थानीय डिलरलाई १६ करोड ४३ लाख रुपैयाँ मात्रै बुझाउँदा एसोसिएसनलाई ३ करोड २८ लाख फाइदा नै रहन्छ । यसरी बिमा शुल्कमा अपारदर्शी काम भइरहेको केही व्यवसायी बताउँछन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार