काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। बढेको मूल्य गएराति १२ बजेदेखि नै कार्यान्वयनमा आइसकेको छ। अमेरिका–इजरायल–इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नुपरेको प्रष्टीकरण निगमले दिएको छ। निगमका अनुसार पेट्रोलमा १५ र डिजेल तथा मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो। खाना पकाउने ग्यासको मूल्य भने यथावत नै छ।
निगमका अनुसार पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य भारी वृद्धि भएर आए पनि नेपालमा नबढाइएको हो। खाना पकाउने ग्यास प्रतिसिलिन्डर २१६ रुपैयाँ बढेर आए पनि बढाइएको छैन। अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार हाल पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको मूल्य वृद्धि नगरेर थोरै मात्र वृद्धि गरिएको निगमले जनाएको छ। निगमका अनुसार बढेर आएको मूल्यअनुसार नेपालमा पेट्रोलको मूल्य वृद्धि गरिएको भए प्रतिलिटर ३१ रुपैयाँ बढाउनु पर्ने थियो। त्यसैगरि डिजेलको मूल्य प्रतिलिटर ५४ रुपैयाँ बढाउनु पर्ने थियो। डिजेमा बढेर आएको भन्दा ४४ रुपैयाँ कम मूल्य वृद्धि गरिएको हो। निगमका अनुसार, अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टीतेलको मूल्य १५२ रुपैयाँ कायम भएको छ। त्यसैगरि दोस्रो वर्गमा पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१, डिजेल र मट्टीतेलको मूल्य १५१ पुगेको छ। निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई भने पहिलो वर्गमा राखेको छ। यी ठाउँमा पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजेल–मट्टीतेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम भएको निगमले जनाएको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नु पर्नाको कारणबारे निगमले विज्ञप्ति जारी गरेर लामो प्रष्टीकरण दिएको छ।