free website hit counter

पौडेल दम्पतीविरुद्ध ६९ करोडको मुद्दा

beemaadmin
२०८३ बैशाख १७, बिहीबार

काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) को अभियोगमा विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेतविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशकसमेत रहेका पौडेलविरुद्ध यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राजस्व अनुसन्धान विभागबाट भ्रष्टाचार, अवैध सम्पत्ति आर्जन तथा विदेशी विनिमय अपचलनसम्बन्धी मुद्दाहरू दायर भइसकेका छन्। हाल उनी कारागारमा छन्, र विशेष अदालतले उनलाई २ वर्ष कैद सजाय सुनाइसकेको छ।

विभागका अनुसार पर्वतको साविक कटुवाचौपारी–४ स्थायी ठेगाना भएका ४३ वर्षीय पौडेल र उनकी पत्नी बस्नेतले विदेशी विनिमय अपचलनमार्फत अवैध कारोबार गरेको पुष्टि भएको छ। यसअघि उनीहरूविरुद्ध ६२ करोड ६५ लाख ९१ हजार ८९३ रुपैयाँ बिगो कायम गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अन्तर्गत मुद्दा दायर गरिएको थियो।

थप अनुसन्धानका क्रममा उक्त अवैध आम्दानी सम्पत्ति शुद्धीकरणमा प्रयोग गरिएको देखिएको भन्दै विभागले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत नयाँ अभियोग पनि दर्ता गरेको हो।

नयाँ मुद्दाअनुसार विकल पौडेलविरुद्ध ६१ करोड १३ लाख २१ हजार १५३ रुपैयाँ २० पैसा र एलिना बस्नेतविरुद्ध ७ करोड ८१ लाख ४४ हजार ५१ रुपैयाँ ५० पैसा गरी कुल ६८ करोड ९४ लाख ६५ हजार २०४ रुपैयाँ ७० पैसा बिगो दाबी गरिएको छ।

विभागले बिगो असुल गर्नुका साथै सोही ऐनअनुसार दोब्बर जरिवाना, कसूरको गम्भीरताअनुसार कैद सजाय र अवैध रूपमा आर्जित सम्पत्ति जफत गर्न माग गरेको छ।

उक्त मुद्दा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत अदालतमा दर्ता गरिएको हो।

को हुन् एक्लै ६९ करोड ‘कुम्ल्याउने’ पौडेल ?

सम्बन्धित समाचार