काठमाडौं । विश्व महामारी कोरोना कहरका कारण विश्व अर्थतन्त्र धरासायी भइरहेको बेला पनि अजोड इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमाससम्ममा राम्रै आर्थिक प्रगति गरेको देखिएको छ । कम्पनीले पहिलो त्रैमासभित्र ५ करोड २२ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । गत वर्ष ५० लाख ३२ हजार रुपैयाँ घाटामा रहेको कम्पनीले यस आवमा मुनाफा कमाउन सफल भएको हो ।
अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी सो मुनाफा सुरक्षित गर्न सफल भएको हो । कम्पनीले गत आर्थिक वर्षको यहि अवधिको तुलनामा खुद बीमा शुल्क आर्जन बृद्धि गर्न सफल भई मुनाफा समेत बढाउन सफल भएको हो । गत वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले ७ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको वित्तीय विवरणमा देखिएको छ ।
कम्पनीले तीन महिनामा पाँच करोड ३८ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । समीक्षा अवधीमा कम्पनीले अभिकर्तालाई कमिशन बापत एक करोड १० लाख रुपैयाँ वितरण गरेको छ भने तीन करोड ४५ लाख खुद दावी भुक्तानी गरेको छ ।
यस वर्ष आईपिओ जारी गरी चुक्ता पूँजी १ अर्ब रुपैयाँ रुपैयाँ पुर्याउन सफल भएको अजोड इन्स्योरेन्सको जगेडा कोषमा ६ करोड ९३ लाख रुपैयाँ छ भने बीमा कोषमा ५ करोड ८१ लाख र महाविपत्ति कोषमा ९७ लाख रुपैयाँ संचिति रहेको छ ।
गत असोज मसान्तसम्ममा अजोडले ३८ हजार ८३१ वटा बीमालेखमार्फत ३३ करोड १८ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । समीक्षा अवधीमा कम्पनीले ५९७ वटा दाबी वापत ६ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५४२ दाबीका लागि १२ करोड ११ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।