free website hit counter

प्रचण्डको मन यस कारण भरंग

beemaadmin
२०७७ आश्विन २१, बुधबार

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्रीले पार्टीको सल्लाहमा सरकार सञ्चालन गर्ने समझदारी बनेपनि त्यसअनुरूपको व्यवहार नभएपछि हिजो बिहान अर्का अध्यक्ष प्रचण्डले आफू दिक्दार भएको बताउनुभएको छ । ‘जति भनेपनि र जस्तोसुकै सहमति गरेपनि वहाँको रवैयामा परिवर्तन नआएको’ भन्दै दाहालले निकटस्थहरूसँग दिक्दारी व्यक्त गर्न थाल्नुभएको हो ।
माउ जस्तो भएपनि बाच्छाबाच्छीले लुछ्न छाड्दैनन् भनेझैँ यता बालुवाटारमा पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति बिरलै हुँदा उता खुमलटारमा भने नेता तथा कार्यकर्ताको भीड हुने गरेको छ । मन्त्रिमण्डल पुनर्गठनसम्बन्धी समाचार बाहिरिएपछि वास्तविकता पत्ता लगाउन पनि प्रभावशाली नेता तथा कार्यकर्ताहरूको खुमलटार आवतजावत बाक्लिएको हो ।

स्रोतका अनुसार विष्णु पौडेल अर्थ मन्त्री बन्ने पक्का झैं भएको खुमलटारले समेत पुष्टि गरेको छ । पूर्व माओवादीको कोटामा जनार्दन शर्मालाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने समाचार बाहिरिए पनि अध्यक्ष दाहालका अनुसार प्रधानमन्त्रीले शर्मालाई मन्त्री बनाउने छाँट देखाउनुभएको छैन । प्रधानमन्त्रीको रणनीतिअनुसार वरिष्ठ नेता माधव नेपाललाई रौतहटको आन्तरिक राजनीतिमा काउण्टर दिन र उनको राजनीतिलाई कमजोर बनाउन प्रभु साहलाई मन्त्री बनाउनुपर्नेमा बालुवाटारले जोड गरिरहेको बताइएको छ ।

उता,सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले औपचारिक रूपमा पटक पटक नेकपा ज्वाईन गर्ने बताए पनि हालसम्म कुनै सम्भावना र लक्षण नदेखाएकोले प्रधानमन्त्री असन्तुष्ट बन्नुभएको थियो । त्रिपाठीको यदाकदा उल्टै आफूले नयाँ पार्टी बनाउने उद्घोषले प्रधानमन्त्रीको असन्तुष्टीरूपी आगोमा घिउ हाल्ने काम भएको स्रोतको दाबी छ । दशैंअघि रिक्त तीनवटा मन्त्रालयमा मात्र मन्त्री नियुक्त गर्ने र पुनर्गठनको काम भने दशैंपछि मात्र गर्ने संकेत देखिएपछि अर्का अध्यक्ष थप दिक्दार हुनुभएको बताइन्छ ।

यता,मन्त्रिमण्डल पुनर्गठन तथा नयाँ मन्त्री थप्ने काम बालुवाटारको लागि पनि टाउको दुखाईको विषय बनेको छ । सोमबार दुईजना अध्यक्षबीच महासचिव पौडेललाई अर्थमा नियुक्त गर्ने एक किसिमको सहमति भइसके पनि आज एकाएक उक्त सहमति कार्यान्वयनमा आशंका उब्जेको छ । रिक्त तीन वटै मन्त्रालय यसअघि पूर्व एमालेको भागमा परेको थियो ।

शहरी विकास मन्त्रालय पनि उपेन्द्र यादव सरकारबाट बाहिरिएपछि पूर्व एमालेको भागमा नै थियो । यस्तो अवस्थामा न तीनवटै मन्त्रालयमा आफ्ना मान्छे भर्नु न आफ्नो गाँस काटेर पूर्व माओवादीलाई दिनु भन्ने असमान्जस्यताको स्थिति देखिएपछि मन्त्री नियुक्तिको विषयले मंगलबारको सचिवालय बैठकमा प्रवेश नै नपाएको हो । (जनआस्थाबाट)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार