free website hit counter

प्रचण्डले रोके रास्वपाका मन्त्रीहरूको राजीनामा

beemaadmin
२०८१ असार २१, बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका मन्त्रीहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बालुवाटारबाट फर्किएका छन्। राजीनामा दिने तयारीमा रहेका उनीहरू त्यसअघि प्रधानमन्त्रीसँग छलफल गर्न बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। प्रधानमन्त्री प्रचण्डसँग छलफलपछि उनीहरू राजीनामा नदिईकन फर्किएका हुन्। प्रधानमन्त्री प्रचण्डले आफूले संसद्‌बाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि तत्काल राजीनामा नदिने निर्णय भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नेपालखबरलाई जानकारी दिए। रास्वपाबाट सरकारमा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन्।
यसअघि बुधबार नेकपा एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिइसकेका छन्। नेकपा माओवादी केन्द्रसँगको गठबन्धन लत्याउँदै नेकपा एमालेले गत सोमबार मध्यराति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति गरेपछि सरकार परिवर्तन हुन लागेको हो। एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार अल्पमतमा परिसकेको छ।

सम्बन्धित समाचार