काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको दौडधूपपछि पनि आफ्नो पक्षमा माहोल नबनेपछि संसद विघटन जस्ता घृणित खेलमा लागे । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गरेका हुन् । उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ । यसअघि शनिबार पार्टीभित्र विवाद कायमै रहेका वेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए । राष्ट्रपतिसँगको भेटमा ओलीले संसद् विघटन र मध्यावधी निर्वाचनमा जान सकिनेबारे छलफल गरेका थिए ।
प्रतिवाद गर्ने काँग्रेसको घोषणा
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् विघटन गर्ने मन्त्रिपरिषद्को सिफारिसप्रति आपत्ति जनाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्नुभएको हो भने त्यसको हामी राजनीतिक सबै रूपले प्रतिवाद गर्छौं।’ प्रधानमन्त्री ओलीले आइतबार बिहान आकस्मिक रूपमा मन्त्रिपरिषद बैठक बोलाउँदै संसद विघटनको सिफारिस गरेका थिए। उक्त सिफारिस मन्त्रिपरिषदले राष्ट्रपतिकहाँ पठाउँदै छ। संविधानमा संसद विघटन गर्न सक्ने व्यवस्था छैन। शर्माले संसद विघटन प्रधानमन्त्रीको अविवेकी निर्णय र अधिनायकवादी आकांक्षाको निर्णय भएको बताए।
लागू हुँदैन : नेकपा प्रवक्ता
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए । नेकपा प्रवक्ता श्रेष्ठले यसको चर्को विरोध गरे । प्रवक्ता श्रेष्ठले भने, यो गैर अलोतान्त्रिक र नेपालको राजनीतिक परिर्वतनलाई पछाडि धकेल्ने अविवेकी निर्णय हो, यो लागू हुन सक्दैन ।