काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग भदौ १० गते प्रतिनिधि सभामा हुने प्रश्नोत्तर कार्यक्रममा ११ सांसदले प्रश्न दर्ता गराएका छन्। प्रश्न दर्ताका लागि अधिकतम १५ जनाको सीमा तोकिए पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले आफ्नो कोटाअनुसार प्रश्न दर्ता नगरेपछि ११ वटा प्रश्न मात्र दर्ता भएका हुन्।
रास्वपाका सांसदले सातवटा प्रश्न दर्ता गर्न पाउने कोटा पाए पनि तीनवटा मात्र प्रश्न दर्ता गरेका छन्। अन्य दलका सांसदले भने आफूलाई तोकिएको कोटाअनुसार प्रश्न दर्ता गराएका छन्।
सभामुख डोलप्रसाद अर्यालले भदौ १० गतेको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने जानकारी दिँदै भदौ ५ गतेभित्र प्रश्न दर्ता गराउन सांसदहरूलाई निर्देशन दिएका थिए। निर्धारित समयभित्र ११ सांसदले प्रश्न दर्ता गराएका हुन्।
संसद् सचिवालयका अनुसार रास्वपाबाट अमरेशकुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बाँस्कोटाले प्रश्न दर्ता गरेका छन्। नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरुङ तथा नेकपा एमालेबाट ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रश्न राखेका छन्।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र प्रमेश हमाल, श्रम संस्कृति पार्टीबाट हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुश्बु ओलीले प्रधानमन्त्रीसँग प्रश्न गर्न नाम दर्ता गराएका छन्।
सभामुखको रुलिङअनुसार प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा प्रतिनिधि सभामा रहेका सबै दलको सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरिएको छ। त्यसअनुसार छवटा दलबाट कम्तीमा एक–एक प्रश्न अनिवार्य रूपमा समेटिने व्यवस्था छ।
बाँकी प्रश्न भने प्रतिनिधि सभामा रहेका दलहरूको उपस्थितिको अनुपातका आधारमा बाँडफाँट गरिएको हो। संसद् सचिवालयले दलहरूलाई उपलब्ध गराएको विवरणअनुसार रास्वपाका लागि सात, नेपाली कांग्रेस, एमाले र नेकपाका लागि दुई–दुई तथा श्रम संस्कृति पार्टी र राप्रपाका लागि एक–एक प्रश्नको कोटा निर्धारण गरिएको थियो।