free website hit counter

प्रधानमन्त्री नआए पनि आज नेकपाको बैठक अघि बढ्ने

beemaadmin
२०७७ मंसिर २८, आईतवार

काठमाडौं । आफ्नो विपक्षको मोर्चाबन्दी फुटाउन अनेक प्रयास असफल भएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली आज हुने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा उपस्थित नहुने बुझिएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने मनस्थितिमा पुगेको एक नेताले बताए । यसअघि मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली सहभागी भएका थिएनन्। बैठकमा प्रधानमन्त्री ओलीले बैठकमा पत्र पठाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदन फिर्ता नलिएसम्म बैठकमा सहभागी नहुने बताएका थिए।

Advertisement
Advertisement

प्रचण्ड–नेपाल पक्षले भने प्रधानमन्त्री ओली बैठकमा सहभागी नभएपछि बैठक अघि बढाउने तयारी गरेका छन्। आज बस्ने बैठकमा यसअघि प्रस्तुत भएका दुवै अध्यक्षका प्रतिवेदनमाथि सदस्यहरुले बोल्ने क्रम सुरु हुने बताइएको छ। यद्यपी बैठकमा कुनै एजेण्डा तय नभएको नेताहरुले बताएका छन्। नेकपाको विधानमा दुवै अध्यक्षको सहमतिमा महासचिवले बैठक बोलाउने र एजेण्डा तय गर्नुपर्ने उल्लेख छ।

Advertisement
Advertisement

यसैबीच नेकपाभित्रको विवाद बहुमत अल्पमतमा प्रवेश गरेपछि दुवै समूह आफ्नो पक्षमा बहुमत पुर्याउने कसरत थालेका छन्।
सचिवालयदेखि केन्द्रीय कार्यसमितिसम्म अल्पमतमा रहेका ओली संसदीय दलमा भने आफ्नो बहुमत रहेको भन्दै संसदीय दलमा बहुमत पुर्याउने कसरतमा जुटेका छन्।

एक हप्ता स्थगित भएको स्थायी कमिटी बैठकको बीचमा प्रधानमन्त्री ओली समूह र प्रचण्ड–नेपाल समूहले गुटको भेलासमेत गर्न भ्याएका छन्। माधव नेपालको साथ पाएका प्रचण्ड पक्षधरले कार्यकर्ताहरूलाई सचिवालय बैठकमा पेश भएका दस्ताबेजका बारेमा जागरूक गराइरहेका छन्। पार्टीमा देखिएको समस्याबारे जानकारी दिन गुटगत भेलाहरूसमेत भइरहेकाछन्। ‘गुटगत भेलाहरू पनि भइरहेका छन्। कुनै ठाउँमा भएका भेलाको चर्चा भयो, कुनै ठाउँको प्रचारमा नआएको मात्रै हो,’ प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले भने।

अध्यक्ष ओलीले केही समय अघि मदन भण्डारी फाउण्डेसनका नाममा प्रदेश–१, कर्णालीलगायत विभिन्न स्थानमा भेलाहरू गरेका थिए। यस्तै, प्रचण्ड–नेपाल समूहले पनि विभिन्न स्थानमा आफ्नो समूहलाई प्रशिक्षण दिइरहेका छन्। दाहाल–नेपाल समूहले केही दिनअघि काठमाडौंको थापाथली क्याम्पसमा विद्यार्थी भेला गरेको थियो।

सम्बन्धित समाचार