काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सचिवालय टोलीको जिम्मेवारीमा व्यापक हेरफेर गरेका छन्। आइतबारदेखि लागू हुने गरी केही कर्मचारीलाई सचिवालयबाट हटाइएको छ भने केहीको जिम्मेवारी परिवर्तन र बढुवा गरिएको छ।
प्रधानमन्त्री शाहले माधव खनाललाई सचिवालयबाट हटाएका छन्। त्यस्तै, दीपा दाहाल, विश्व राई र सञ्जिव पाण्डेको जिम्मेवारी हेरफेर गरिएको छ।
यसअघि प्रेस तथा अनुसन्धान विज्ञका रूपमा नियुक्त भएकी दीपा दाहाललाई अब मिडिया व्यवस्थापन संयोजकको जिम्मेवारी दिइएको छ। त्यसैगरी, इन्जिनियर सञ्जिव पाण्डेलाई विकास तथा मन्त्रालयगत समन्वय संयोजक बनाइएको छ।
विश्व राईलाई सामाजिक विकास समन्वय संयोजकको जिम्मेवारी दिइएको छ। उनीहरू तीनै जना यसअघि विज्ञका रूपमा प्रधानमन्त्रीको सचिवालयमा नियुक्त भएका थिए। आइतबारदेखि भने उनीहरूलाई संयोजक तथा सहसंयोजकको जिम्मेवारी दिइएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा समेत नयाँ जिम्मेवारीबारे जानकारी अद्यावधिक गरिएको छ।
प्रधानमन्त्री शाहकै निर्देशनमा सचिवालयका सदस्यहरूको जिम्मेवारी हेरफेर तथा केहीलाई सेवाबाट हटाइएको प्रधानमन्त्रीको सल्लाहकार टोलीका एक सदस्यले बताएका छन्।
नेपालखबरसँग कुरा गर्दै उनले कार्यसम्पादनको समीक्षा गरेपछि राम्रो प्रदर्शन गर्ने केहीलाई बढुवा गरिएको र केहीको जिम्मेवारी परिवर्तन तथा घटुवा गरिएको जानकारी दिए।
‘कार्यप्रगति रिभ्यु भएको थियो, जसमा बेटर पर्फमेन्स भएका केही बढुवा गरियो, कतिपयको जिम्मेवारी हेरफेर, घटुवा पनि भएको छ,’ उनले भने, ‘यो सबै सम्माननीय पीएमकै चाहनाअनुसार भएको हो।’
विज्ञको जिम्मेवारीबाट हटाइएका केही व्यक्तिको हकमा भने यसअघिकै कार्यक्षेत्रलाई निरन्तरता दिइएको देखिएको छ।
प्रधानमन्त्री शाहले सचिवालयका केही सदस्यको जिम्मेवारी हेरफेर गरे पनि स्वकीय सचिव तथा पाँच जना सल्लाहकारलाई भने यथावत् राखेका छन्।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदिशप्रसाद अग्रवाल, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रको जिम्मेवारी परिवर्तन गरिएको छैन।
त्यस्तै, प्रमुख स्वकीय सचिव सुवास शर्मा र स्वकीय सचिव नवीन भण्डारी पनि पुरानै जिम्मेवारीमा कायम छन्।
सचिवालयका सदस्यहरूको कार्यसम्पादन समीक्षा गरेर जिम्मेवारी हेरफेर गरिएको प्रधानमन्त्रीको सल्लाहकार टोलीको भनाइ छ।