सार्वजनिक प्रशासन राज्यद्वारा जनता समक्ष प्रतिवद्दता गरिएका उद्देश्यहरुको परिपूूर्तिको लागि निरन्तर रूपमा दत्तचित्त, तयारी अवस्थामा रहनु पर्ने र सक्रिय रहनुपर्ने अंग हो । जसरी समयको परिवर्तन भएको छ तदनुरूप जनताको व्यक्तिगत तहमा आशा र अपेक्षा वृद्धि भएको हुन्छ रत्यो आशा र भरोसा सरकार तर्फ लक्षित रहेको हुन्छ अन्तत ः सरकार तर्फ लक्षित जनताको आशा र अपेक्षा पुरा गर्नु पर्ने दायित्व सार्वजनिक प्रशासनमा सर्न पुग्दछ ।समय, शिक्षा, प्रविधिको परिवर्तन संगै राजनितिक र शासकीय आयामहरु धेरै परिवर्तन हरू आउछन् र यी परिवर्तन हरूले स्वभावत सार्वजनिक प्रशासनमा पनि परिवर्तनका धेरै दवावहरू सिर्जना गर्दछन् । यस्ता दवावहरूले सार्वजनिक प्रशासनको भूमिका परिवर्तित सन्दर्भमा वा विद्यमान पर्यावरणीय सन्दर्भमा अझै प्रभावकारी हुनुपर्ने विषयमा जोड दिने गर्दछ ।यस परिवेशमा सार्वजनिक प्रशासनको कार्यशैली, व्यवहार, प्रक्रिया, सेवा प्रवाहको सुनिश्चितिता र सेवाको गुणस्तर को प्रत्याभूति जस्ता क्षेत्रहरूमा पनि सकारात्मक परिवर्तनको अपेक्षा राखेको हुन्छ ।
देश विशेषको राजनैतिक प्रणाली को प्रभाव सर्वत्र परेको हुन्छरयसको सकारात्मक झझल्को दिने प्रमुख अंग नै सार्वजनिक प्रशासन हो । राजनैतिक प्रणालीको उदारता र अनुदारताको आधारमा सार्वजनिक प्रशासनको पारदर्शिता र उत्तरदायिताको तह निर्धारण हुने गर्दछ । तटस्थ, प्रतिबध्द र परिणाममुखी प्रशासन यस सन्दर्भको सामयिक अवश्यकता हो।
समाज विविधताको सम्मिश्रण हो । जात, संस्कृति, परम्परा, रीतिरिवाज समाजका मिश्रीत परिचायक हुन् । समाजको यो विम्वको प्रभाव सार्वजनिक प्रशासनमा परेको हुन्छ किनकी सार्वजनिक प्रशासन समाज कै एक सह उत्पादन हो । राजनैतिक आर्थिक परिवर्तनले सामाजिक मूूल्य मान्यतामा समेत परिवर्तन ल्याउछ ।समाजको वनोट त्यसको चरित्र यसले अंगालेको संस्कृति र चाल चलन अनुुरूप सार्वजनिक प्रशासन पनि चल्नुपर्ने हुन्छ । समावेशी प्रशासन, सरकारी कामकाजमा क्षेत्रविशेषको भाषाको प्रयोग, सामाजिक परिवेशको आधारमा सार्वजनिक विदा जस्ता विषयहरु यस अन्तरगत पर्दछन् ।
प्रजातान्त्रिक परिपाटिको शुरुवात संगै आर्थिक उदारीकरणको विषय प्रखर रूपमा अगाडी वढेको छ । यसले प्रतिस्पर्धा, गुणस्तरता, निजी क्षेत्रको सहभागिता, व्यवस्थापनवाद, कम लागतमा वढी उत्पादकत्व जस्ता विषयलाई जोड दिएको छ ।आर्थिक मान्यतामा आएको यो लहरबाट सार्वजनिक प्रशासन प्रभावित हुनु स्वभाविकै हो । यसले सार्वजनिक प्रशासन चुस्त, दुरूस्त, प्रभावकारी, जनमुखी बन्नुपर्ने कुरामा जोड दिएको छ ।
प्रजातान्त्रिक शासन प्रणाली ले ल्याएको अर्को परिवर्तन शासकीय सहकर्ताहरुको प्रवेश पनि हो । यस सन्दर्भमा सार्वजनिक प्रशासन निजी क्षत्र, सामुदायिक संस्थाहरु, सहकारी जस्ता सहकर्ता हरु संग मिलेर काम गर्नुपर्ने भएको छ । सहकर्ताहरुको उपस्थितिले सार्वजनिक प्रशासन वढी सिर्जनशील, समन्वयकारी र सहभागितामूलक हुनु पर्ने अवस्थाको सिर्जना गराएको छ ।
प्रविधिको प्रयोगमा आएको व्यापकतालाई सार्वजनिक प्रशासनले अवलम्वन गर्नुपर्ने स्थिति सिर्जना गर्नु पर्ने भएको छ ।यसका लागि विद्युतीय शासन, अनलाईन सेवा प्रवाह, अनलाईन गुनासो प्रकटगर्ने प्रणाली, कागजातको न्यून प्रयोग, सेवा प्रवाहको लागि सम्पर्क विन्दुहरूको न्यूनीकरण, विद्युतीय भुक्तानी प्रणाली आदि विधिहरू प्रयोगमा आएका छन । यसले एकातर्फ सेवा प्रवाहको प्रभावकारितामा जोडदिएको छभने अर्को तर्फ पारदर्शिता र उत्तरदायित्वमा वृद्धिल्याउनुपर्ने कुरामा जोड दिएको छ ।
यसै गरि विपद, संकट, महामारीको अवस्थामा आपूर्ति व्यवस्थापन,शान्ति सुरक्षाको प्रत्याभूति, सेवा प्रवाहलाई निरन्तरता दिने दायित्व पनि प्रशासन संयन्त्रको भएकोले यस्ता असहज परिवेशका लागि पनि प्रशासन संयन्त्र चुस्त दुरुस्त रहनुपर्दछ ।
सार्वजनिक प्रशासनमा पर्ने आन्तरिक र वाह्य प्रभावको सन्दर्भमा सरकारको कार्यशैली र प्रवृत्तिमा आयामिक परिवर्तन ल्याउनु पर्ने र अवको प्रशासन वढी प्रभावकारी, नतीजाउन्मुख, व्यवसायिक र जनमैत्री हुनुपर्ने मान्यता राख्दै प्रशासनिक परपाटी पुनः परिमार्जित हुनु पर्ने विषय सामयिक आवश्यकता हो । वदलिदो परिवेशले शासकीय आयामहरुमा परिवर्तन ल्याएको छ र सार्वजनिक प्रशासनवाट उत्पादकत्व क्षमता र गुणस्तरता को अपेक्षा हुनु स्वभाविकै हो । यस सन्दर्भमा सरकारले पनि आफ्नो क्षमता अर्थात सार्वजनिक प्रशासकको क्षमता अनुरुप सरकारको प्राथमिक आवश्यकतामा पर्ने पर्ने विषयको दायरामा आफूलाई सीमीत गर्ने र सो क्षेत्रमा आफ्नो क्षमता वा बलको सुदृढीकरण गर्ने रणनीति लिनु पर्दछ । आफ्नो क्षमता कम भएका क्षेत्रहरु राज्यको प्रारम्भिक प्राथमिकतामा नपर्ने अन्य सहकर्ताहरुको विज्ञता परिचालन गर्न सक्दछ । सार्वजनिक प्रशासन समग्र प्रणालीको एक उप प्रणाली भएकोले समग्र प्रणालीका क्रियाकलाप, परम्परा , अभ्यास, मान्यताहरुको प्रत्यक्ष वा परोक्ष प्रभाव सार्वजनिक प्रशासनमा पर्नु स्वभाविकै हो । प्रणालीगत प्रभावहरु सार्वजनिक प्रशासनमा प्रशासनिक मान्यताहरुमा , प्रक्रियागतरुपमा र प्रशासकहरुको वानी व्यहोरा र चरित्रमा गरी तीन रुपमा प्रभावित हुने गर्दछ । प्रणालीमा आएको परिवर्तनलाई ग्रहण गर्न सक्ने शक्तिले सार्वजनिक प्रशासनमा सकारात्मक परिवर्तन ल्याइदिन्छ भने नकारात्मक परिवर्तनको सामना गर्न सक्ने शक्तिले सार्वजनिक प्रशासन थप सकारात्मक बन्न पुग्दछ ।
पर्यावरणीय परिवेश परिवर्तनको उपज हो । परिवर्तनले जनतामा बढाएको आशा र अपेक्षा पूरा गर्न स्थायी संयन्त्र गतिलो सम्बन्धसेतु बन्नु आवश्यक छ । यस्ता स्थायी संयन्त्रमा निजामती प्रशासन, सार्वजनिक संस्थान , शिक्षण संस्थाहरु, संगठित निजी क्षेत्र, गैर सरकारी संस्थाहरु र सरकार संग सहकार्य गर्ने सवै सहकर्ताहरु पर्दछन् । स्थायी संयन्त्रमा अनुकुलनको यो सिध्दान्तको व्यवहारिक प्रयोग प्रजातान्त्रिक शासन प्रणालीको अपरिहार्यता हो ।