free website hit counter

प्रहरीका ८ एआईजीको सरुवा

beemaadmin
२०८३ असार १९, शुक्रबार

काठमाडौं– सरकारले नेपाल प्रहरीका आठ जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संगठनको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उच्च तहका प्रहरी अधिकारीहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।

सरुवा निर्णयअनुसार कार्य विभागमा कार्यरत एआईजी उमा चतुर्वेदीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुखको जिम्मेवारी दिइएको छ। सीआईबीका प्रमुख एआईजी डा. मनोज केसीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ।

Advertisement
Advertisement

यस्तै, एआईजी सुशील सिंह राठौरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा पदस्थापन गरिएको छ भने त्यहाँ कार्यरत एआईजी ईश्वर कार्कीलाई मानव स्रोत विकास विभागमा सरुवा गरिएको छ।

Advertisement
Advertisement

मानव स्रोत विकास विभागका एआईजी राजन अधिकारीलाई नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी) पठाइएको छ। प्रहरी एकेडेमीका एआईजी सिद्धिविक्रम शाहलाई कार्य विभागको जिम्मेवारी दिइएको छ।

त्यसैगरी, प्रदेश समन्वय विभागका एआईजी डम्बर विकलाई प्रशासन विभागमा सरुवा गरिएको छ भने प्रशासन विभागका एआईजी हिमालयकुमार श्रेष्ठलाई प्रदेश समन्वय विभागमा पठाइएको छ।

सरकारले प्रहरी संगठनको कार्यक्षमता अभिवृद्धि र जिम्मेवारी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उच्च तहका अधिकारीहरूको सरुवा गरिएको जनाएको छ।

सम्बन्धित समाचार