काठमाडौं । काठमाडौं उपत्यकामा खानेपानीको मागअनुसारको आपूर्ति नभइरहेको परिप्रेक्ष्यमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले नियमित श्रोतका अलावा काठमाडौं उपत्यका भित्रका ढुंगेधारा र पोखरीहरुको संरक्षण गर्ने कार्यलाई अगाडि बढाउने भएको छ । बोर्डले भूमिगत पानीको उपयोगलाई नियमन गर्ने क्रममा अनुमतिपत्र जारी गर्ने, सेवाप्रदायक संस्थाहरुलाई थप जिम्मेवार र सेवामुखी बनाउने, प्राकृतिक मुहान इनार, कुवा, ढुंगेधारा जस्ता श्रोतहरुको संरक्षण तथा परिचालन गर्ने आवश्यक नीति निर्देशिका लागू गर्ने कार्यलाई अगाडि बढाउने सिलसिलामा शुक्रबार खानेपानी मन्त्री बीना मगरको उपस्थितिमा बोर्ड, उपत्यकाका दुई नगरपालिका मध्यपुर थिमी र ललितपुरको महालक्ष्मी नगरपालिकाबीच समझदारी भएको छ ।
सम्झौता कार्यक्रमपछि बोर्डका कार्यकारी निर्देशक सञ्जिव विक्रम राणाले उपत्यकाको खानेपानी व्यवस्थापनलाई सरल र सहज बनाउनका लागि यो सम्झौता महत्वपूर्ण हुने बताउनुभएको थियो । मध्यपुर थिमी र महालक्ष्मी नगरपालिकाभित्र रहेका ढुंगेधारा तथा पोखरीहरुको संरक्षण र पुनर्निर्माण आगामी दुई वर्षभित्र सम्पन्न गरिसक्ने प्रतिबद्धता दुवै नगरपालिकाले गरेका छन् । बोर्डले उपत्यकाभित्रका १० वटा नगरपालिकाहरुमा रहेका ढुंगेधारा र पोखरीहरुको अवस्था बारे अध्ययन गरेर संरक्षणका लागि सबै नगरपालिकाहरुसँग समझदारी गर्ने योजना अनुरुप पहिलो चरणमा यी दुई नगरपालिकासँग समझदारी गरिएको बोर्डका प्रमुख बित्त अधिकृत रामचन्द्र ढकालले बताउनुभयो ।
उहाँले प्राविधिक, नीतिगत र समन्वयकारी भूमिका बोर्डको हुने भएका कारण यसमा आर्थिक दायित्व अहिले नपर्ने नगरपालिकाले नै त्यसको व्यवस्थापन गर्ने र आगामी दिनमा आवश्यक परे बोर्डले सोच्न सक्ने बताउनुभयो । बोर्डको अग्रसरतामा उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर,ललितपुरका करिब ८ सय ढुंगेधारा, इनार कुवा जस्ता पानीका प्राकृतिक स्रोतहरुको पहिचान गरी सम्भाव्यता अध्ययन भइसकेको र पहिलो चरणमा दुई नगरपालिकाबाट सो कार्य अगाडि बढाउने तयारी भएको ढकालले बताउनुभयो ।
कार्यक्रममा बोल्दै खानेपानी मन्त्री बीना मगरले उपत्यकाभित्रका सबै ताल तलैया पोखरी र ढुंगेधाराहरुको संरक्षण र सौन्दर्यीकरण गर्दै जाने बताउँदै मन्त्रालयको योजना नुसार नै ढुंगेधारा र पोखरीहरुको संरक्षणमा जुट्न सबै स्थानीय तह र समुदायको सहयोग अति आवश्यक रहेको कुरामा जोड दिनुभयो । एक तथ्यांकअनुसार बोर्डले काठमाडौं उपत्यका भित्रका महानगरसहित १० वटै नगरपालिका भित्र रहेका कूल ५ सय ७३ ढुंगेधारा र २ सय ७३ पोखरीहरुको विस्तृत अध्ययन र नक्सांकन गरेको थियो । जसमध्ये ४ सय ७९ वटा ढुंगेधाराहरु स्थलगत रुपमा भेटिएका र ९४ वटा ढुंगेधाराहरु हराएको अध्ययनले देखाएको छ । त्यसैगरी १ सय ९३ वटा पोखरीहरु स्थलगत रुपमा भेटिएका र ४० वटा पोखरीहरु हराएको बोर्डले जनाएको छ ।
मध्यपुर थिमी नगरपालिका भित्र ५९ वटा ढुंगेधाराहरु रहेका छन् भने १७ वटा पोखरीहरु छन् जसमा ३ वटा पोखरीहरु लोप भएका छन् । त्यस्तै महालक्ष्मी नगरपालिकाभित्र १० वटा ढुंगेधारा र १४ वटा पोखरीहरु स्थलगत रुपमा भेटिएको देखिएको छ भने ६ वटा पोखरीहरु विभिन्न कारणले लोप भएका छन् । आगामी दिनमा बाँकी स्थानीय तहसँग सम्झौता गरी कार्याक्रम सञ्चालन गर्ने बोर्डको तयारी रहेको छ । मेलम्ची खानेपानी व्यवस्थापनलाई सहजीकरण गर्न अग्रसर बोर्ड प्राकृतिक स्रोतहरुको व्यवस्थापनका लागि पनि अग्रसर देखिनुले पछिल्लो समयमा बोर्डको सक्रियता बढ्दै गएको आभाष हुन थालेको छ ।