free website hit counter

प्रा.डा. देवेन्द्र खत्री चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्त

beemaadmin
२०८३ असार २३, मंगलवार

काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका कार्यकारी निर्देशक प्रा.डा. देवेन्द्र खत्री चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्त भएका छन्।

मंगलबार आयोगका सहअध्यक्ष तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलबाट उनले नियुक्तिपत्र बुझेका हुन्। नियुक्तिपत्र ग्रहण गरेसँगै प्रा.डा. खत्रीले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको कार्यकारी निर्देशक पदबाट राजीनामा दिने तयारी गरेका छन्।

प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष बालेन्द्र शाहले उनलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्। उपाध्यक्ष छनोटका लागि गठित समितिले प्रा.डा. खत्रीसहित डा. प्रमोद यादव र डा. श्रीकृष्ण गिरीको नाम सिफारिस गरेको थियो। तीमध्ये प्रा.डा. खत्री नियुक्त भएका हुन्।

आन्तरिक चिकित्सा (इन्टरनल मेडिसिन) विषयका प्राध्यापक रहेका प्रा.डा. खत्री नेपाली सेनाका पूर्वउपरथीसमेत हुन्। वि.सं. २०७७ पुस १५ गते उनी प्राविधिकतर्फ उपरथीमा पदोन्नति भएका थिए। त्यसपछि सैनिक स्वास्थ्य महानिर्देशनालयको महानिर्देशकका रूपमा जिम्मेवारी सम्हालेका थिए। उनले वीरेन्द्र सैनिक अस्पतालमा वरिष्ठ चिकित्सक तथा मेडिसिन विभाग प्रमुखका रूपमा पनि लामो समय सेवा दिएका छन्।

नेपाली सेना कल्याणकारी कोषद्वारा सञ्चालित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान नाफारहित चिकित्सा शिक्षण संस्थाका रूपमा परिचित छ। संस्थानअन्तर्गत ‘कलेज अफ मेडिसिन’ र ‘कलेज अफ नर्सिङ’ सञ्चालनमा छन्।

आयोगको उपाध्यक्ष पदका लागि प्रा.डा. खत्रीसहित प्रा.डा. श्रीकृष्ण गिरी, स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा. रोशन पोखरेल, प्रा.डा. गेहनाथ बराल, प्रा.डा. दिनेशकुमार लम्साल, प्रा.डा. दीपेन्द्र श्रेष्ठ, सहप्राध्यापक डा. प्रमोदकुमार यादव, प्रा.डा. सञ्जयकुमार श्रेष्ठ, प्रा.डा. सुरज बज्राचार्य र प्रा.डा. शैलेश प्रधानले आवेदन दिएका थिए। छनोट समितिले उम्मेदवारहरूको कार्ययोजना तथा सोचपत्रको प्रस्तुतीकरण र अन्तर्वार्ता लिएपछि सिफारिस गरेको थियो।

सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश जारी भएपछि आयोगको उपाध्यक्ष पद रिक्त भएको थियो। यसअघि डा. अञ्जनीकुमार झाले उक्त जिम्मेवारी सम्हालेका थिए। त्यसपछि स्थायी नियुक्ति नहुन्जेल प्रा.डा. श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो।

सम्बन्धित समाचार