काठमाडौँ । विश्वकै प्रमुख प्रविधि कम्पनीमध्ये एक एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले पदबाट राजीनामा दिएका छन्। चिनियाँ महिला एलिस हुआङसँगको प्रेम सम्बन्ध र कम्पनीकै एक महिला उच्च अधिकारीसँगको कथित सम्बन्धलाई लिएर विवादमा तानिएपछि उनले राजीनामा दिएका हुन्।
एनभिडियाको सञ्चालक समितिले बिहीबार हुआङको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएको छ। उनी कम्पनीको अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समितिको सदस्य पदबाट तत्काल लागू हुने गरी बाहिरिएका हुन्।
कम्पनीको वित्त प्रमुख (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ। स्थायी उत्तराधिकारी नियुक्त नभएसम्म उनले सीईओ र सीएफओ दुवै जिम्मेवारी सम्हाल्नेछिन्।
एनभिडियाको सञ्चालक समितिले नयाँ सीईओको खोजी सुरु गरिसकेको छ। यसका लागि कम्पनीभित्रका र बाहिरका सम्भावित उम्मेदवारलाई समेत विचार गरिने कम्पनीले जनाएको छ।
हुआङको राजीनामाको घटनाक्रमसँग जोडिएर पछिल्लो समय दुई महिलासँगको कथित सम्बन्ध सार्वजनिक भएको थियो। अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सका अनुसार हुआङको सम्बन्ध चिनियाँ महिला एलिस हुआङसँग रहेको विषय यसअघि नै सार्वजनिक भएको थियो। एलिसमाथि अमेरिकी गुप्तचर निकायले चीनका लागि जासुसी गरेको आशंका गरेको समाचारमा उल्लेख छ।
यस विषयमा हुआङले आफ्नो परिवारसँग माफी मागेको र अनुसन्धानमा सहयोग गरिरहेको समाचारहरूमा जनाइएको छ।
त्यसैगरी, एनभिडियाकै हेल्थकेयर विभागकी उपाध्यक्ष किम्बर्ली पावेलसँग पनि हुआङको सम्बन्ध रहेको दाबी सार्वजनिक भएको थियो। न्युयोर्क टाइम्सले कम्पनीमा पहिले काम गरेका पाँच जनालाई उद्धृत गर्दै उक्त सम्बन्धबारे समाचार प्रकाशित गरेको थियो।
यी घटनाक्रमपछि हुआङको नेतृत्व र कम्पनीको आन्तरिक व्यवस्थापनमाथि प्रश्न उठेको थियो। कम्पनीको सञ्चालक समितिले समेत यस विषयमा अनुसन्धान अघि बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
एनभिडियाले भने सीईओ परिवर्तनको आधिकारिक घोषणामा हुआङको राजीनामाको कारण खुलाएको छैन। कम्पनीले उनलाई तीन दशकभन्दा बढी समयको योगदानका लागि धन्यवाद दिँदै नेतृत्व परिवर्तनको जानकारी दिएको छ।
हुआङले सन् १९९३ मा एनभिडियाको स्थापना गरेका थिए। उनको नेतृत्वमा कम्पनी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) प्रविधिको विश्वकै अग्रणी कम्पनीमध्ये एक बनेको थियो।
उनको बहिर्गमनसँगै एनभिडियाले नयाँ नेतृत्व खोज्ने प्रक्रिया अघि बढाएको छ। अन्तरिम सीईओ क्रेसले कम्पनीको विद्यमान रणनीति र प्रविधि विकासलाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी छन्।