free website hit counter

फर्स्ट माइक्रोफाइनान्सको नाफामा ७४ प्रतिशतको छलाङ

beemaadmin
२०८३ श्रावण ३, आईतवार

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा उल्लेखनीय सुधार भएको जनाएको छ।

विवरणअनुसार संस्थाले समीक्षा अवधिमा १९ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १० करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको संस्थाको नाफा यस वर्ष ७३.६४ प्रतिशतले बढेको हो।

Advertisement
Advertisement

संस्थाको खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ। अघिल्लो वर्ष २१ करोड १६ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी ७.४७ प्रतिशतले बढेर २२ करोड ७४ लाख रुपैयाँ पुगेको छ।

Advertisement
Advertisement

यस्तै, सञ्चालन नाफामा उल्लेखनीय सुधार देखिएको छ। अघिल्लो वर्ष १५ करोड ७६ लाख रुपैयाँ रहेको सञ्चालन नाफा बढेर २७ करोड २७ लाख रुपैयाँ पुगेको छ।

संस्थाका अनुसार खराब कर्जा असुलीमा भएको सुधार र ब्याज खर्च नियन्त्रण गर्न सफल भएकाले नाफामा उल्लेखनीय वृद्धि भएको हो।

लाभांश क्षमता पनि बलियो

नाफा बढेसँगै लाभांश वितरण गर्ने क्षमता पनि सुदृढ भएको छ। असार मसान्तसम्म संस्थाको कुल वितरणयोग्य नाफा १३ करोड ६१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ९ करोड ३ लाख रुपैयाँको तुलनामा ५०.७६ प्रतिशत बढी हो।

यस आधारमा संस्थाको वार्षिक प्रति सेयर वितरणयोग्य आम्दानी १० रुपैयाँ १३ पैसा पुगेको छ।

खराब कर्जा घट्यो, स्रोत लागतमा सुधार

फर्स्ट माइक्रोफाइनान्सले निष्क्रिय कर्जा (एनपीएल) पनि घटाउन सफल भएको छ। अघिल्लो वर्ष ३.८४ प्रतिशत रहेको खराब कर्जा घटेर २.८८ प्रतिशतमा झरेको छ।

त्यसैगरी, संस्थाको स्रोत लागत (कस्ट अफ फन्ड्स) ६.२२ प्रतिशतबाट घटेर ४.७५ प्रतिशतमा आएको छ। आधार दर (बेस रेट) पनि ७.५६ प्रतिशतबाट घटेर ६.४१ प्रतिशतमा झरेको छ।

खराब कर्जामा आएको कमी, स्रोत लागत घट्नु र सञ्चालन नाफामा सुधारले संस्थाको वित्तीय अवस्था थप सुदृढ बन्दै गएको संकेत गरेको छ।

सम्बन्धित समाचार