काठमाडौं । भएका बीमा कम्पनीलाई व्यवसाय नपुगेर फोर्स मर्जरमा पठाएको नियामक निकाय बीमा समितिले फेरि सात वटा लघु बीमा कम्पनीलाई लाइन्सेन्स दिने भएको छ । समितिले ७ लघुबीमाको लाइसेन्स वितरण गर्न प्रस्ताव आह्वान गरेको छ । आज सार्वनिक सूचना निकालेर बीमा समितिले नयाँ लघुबीमाको लाईसेन्स लिन चाहने जोसुकैलार्र्ई लघुबीमा स्थापना सम्बन्धी निर्देशिका बमोजिमको प्रस्ताव दर्ता गर्न आह्वान गरेको हो । बीमा समितिले प्रकाशन गरेको सूचना अनुसार ३५ औं दिन दिनको १२ बजेभित्र दरखास्त पेश गरिसक्नुपर्नेछ । प्राप्त प्रस्तावहरु मध्ये सबैभन्दा उच्चतम अंक ल्याउने मध्येबाट तीन वटा जीवन बीमा र चार वटा निर्जीवन लघुबीमालाई लाइसेन्स वितरण गरिनेछ । कूल ७५ करोड चुक्ता पुँजि भएको लघुबीमा कम्पनी काठमाडौं बाहिर कार्यालय राखी सञ्चालन गर्नुपर्नेछ । लघुबीमा कम्पनीको लाइसेन्स लिँदा क्रस होल्डिङ हुने गरी लगानी गर्न नपाइने व्यवस्था गरिएको छ । लघुबीमाको लाइसेन्स घुस सेटिङमा दिन लागेको भन्दै चौतर्फी आलोचनाका बीच बीमा समितिले लाईसेन्स वितरण गर्ने कार्य अघि बढाउन आज सूचना प्रकाशित गरेको हो ।