काठमाडौं । हालसालै भारतबाट नेपाल छिरेका १० जनामा फेरि कोरोना संक्रमण पुष्टि भएको छ । नेपालले लगातार लकडाउन गरे पनि छिमेकी भारतले नेपाली नागरिकलाई रातारात सिमाना ल्याएर छाड्ने गर्नाले उनीहरुबाट नेपालमा संक्रमण फैलिइरहेको छ । त्यसरी आउने नागरिकले पनि आफैं सचेत भएर सोझै स्वास्थ्य संस्थामा पुगेको भए यस्तो भयावह अवस्था पक्कै आउने थिएन ।
यो सँगै संक्रमितहरुको संख्या २ सय ९१ पुगेको छ । नेपालमा भेटिएका धेरैजसो संक्रमण भारतबाटै लुकिछिपी छिर्नेहरुमा देखिएको छ । यो आतंक बन्द गराउन सिमानामा अझ कडाई गरिनुपर्छ । नेपाली नागरिकलाई देश भित्र्याउँदा पनि आवश्यक स्वास्थ्य परीक्षण र क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन ढिला गर्नु हुँदैन । आइतबार रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार थप १० जना संक्रमित सबै रौतहटका हुन् ।
राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी रौतहटकै इशनाथ नगरपालिका ३ र ५ नम्बर वडाका २८, ३० र ३३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको डा। अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरुको कोरोना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको थियो । हालसम्म उनीहरूको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
उनीहरु केही दिनअघि मात्रै भारतको मुम्बइ, गुजरातलगायतका ठउँबाट नेपाल आएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिएका छन् । प्रजिअ घिमिरेका अनुसार भारतबाट फर्केलगत्तै उनीहरुलाई सीधै क्वारेन्टाइनमा पठाइएको थियो । क्वारेन्टाइनमा रहेका उनीहरुको गत शुक्रबार स्वाबको नमूना संकलन गरेर परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाएको थियो । संक्रमित सबैलाई उपचारका लागि वीरगञ्ज लैजाने तयारी भइरहेको छ ।