free website hit counter

बजारलाई सकारात्मक प्रभाव पार्दै व्याजदर

beemaadmin
२०७७ मंसिर ३०, मंगलवार

बजारमा लगातारको बढोत्तरी पश्चात् अधिल्लो हप्ता बजार माथि जाने हो वा पुन ओरालो लाग्ने हो भन्ने अनिश्चितता रहे तापनि यस साताको तिन दिनको कारोबारलाई हेर्दा भने बजार हाल ठूलो करेक्सनको मुडमा नभै माथि जाने दिशातर्फ नै अग्रसर भएको पाइएको छ । साताको पहिलो दिन आइतबार आइतबार र सोमबार गरी १०२ अङ्कले बढोत्तरी भएको बजारमा मंगलबार पनि अल टाइम हाइ भएर झण्डै दुई हजार एक सेयको बिन्दू छोएर फर्किएको बजारमा सामान्य ५ अङ्कको गिरावट देखिएको छ । जसलाई सामान्य करेक्सनको रुपमा लिन सकिन्छ । मंगलबारको सामान्य गिरावटको कारण खोज्ने हो भने लगानीकर्ताले सेयर खरिदका लागि ठूलै मोलभाउ गर्न थालेको र नाफा बुकिङ्ग गर्ने लगानीकर्ताका कारण बजारमा उच्च मात्रामा सेयरको आपूर्ति हुनु नै देखिएको छ ।

मंगलबार नेप्सेमा झिनो करेक्सन सहित बजार दुई हजार ६१ को अङ्कमा थामिएको छ । कारोबार पनि पाँच अर्बभन्दा माथि हुनु वर्तमान परिवेसमा बजार माथि लाने आधारको रुपमा हेरिदै आएको अवस्थामा मंगलबार ६ अर्ब रुपियाँभन्दा बढीको कारोबार सम्भव भएको छ । जसले बजारमा सकारात्मक प्रभाव पार्ने निश्चित छ । मंगलबार झण्डै दुई हजार एक सयको अङ्क नजिक पुगेको बजारमा देखिएको सामान्य गिरावटलाई स्वभाविक नै मान्न सकिन्छ । सामान्य गिरावट सहित केही सय अङ्क उकालो लागे पश्चात् बजारमा करेक्सन देखिनु र बजार लगातार नबढेर करेक्सन हुँदै अघि बढनुले बजार सकारात्मक ढङ्गले अघि बढेको संकेत गरेको छ ।

बजार माथि जान्छ भन्ने तर्कभन्दा पनि माथि जाने वर्तमान आधारहरु हेर्ने हो भने । सेयर बजारमा पर्याप्त मात्रामा पुँजी भित्रिने अवस्था त्यसमा पनि सस्तो व्याजदरको रकम उपलब्धिता नै हो । जसमा मुख्य रुपमा बैंक तथा वित्तीय सस्थाले दिने व्याजदर नै प्रमुख हो । हाल नेपालमा बाणिज्य बैंकहरुमा बचतको ब्याजदर १ देखि २ प्रतिशत मात्रै र मुद्दतीको ब्याजदर पनि ५ देखि ७ प्रतिशत मात्रै भएको अवस्था विद्यमान छ । त्यसमा तत्काल बढोत्तरी हुने अवस्था पनि देखिदैन । नियमनकारी निकाय नेपाल राष्ट्र बैंक पनि कोभिडको असर कम गर्दै मुुलुकको अर्थतन्त्र चलायमान बनाउन सस्तो व्याजदरको ऋण उपलब्ध गराउने कुरामा सकारात्मक नै देखिनुले व्याजदर तत्काल बढने अवस्था पनि देखिदैन । त्यसको सकारात्मक प्रभाव सेयर बजारमा पर्ने देखिन्छ ।

सेयर बजारमा हालको भाउमा पनि बार्षिक १० प्रतिशतको हाराहारीमा प्रतिफल उपलब्ध हुने खालका राम्रा र दरिला कम्पनीहरुको उपस्थिति छ भने अर्कोतिर सेयरको मूल्यबृध्दि भएर पुँजीगत लाभ हासिल गर्ने सम्भावना त छदैछ । त्यसले पनि आगामी दिनमा नेपाली सेयर बजारमा पर्याप्त मात्रामा लगानी भित्रने देखिन्छ जसको कारण सेयर आपूर्ति गर्नेको सङ्ख्या कम हुँदा बजार माथि जाने बलियो आधार तयार हुँदैछ ।

सेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने मात्र होइन बजारमा भित्रने रकमको ठूलो हिस्सा सेयर धितो कर्जा पनि एक हो । त्यसमा पनि हाल बैंक वित्तीय सस्थाहरुले अन्य क्षेत्रमा लगानीको दरिलो अवसर नभएको र लगानी गर्दा जोखिमका क्षेत्रमा भन्दा सेयर धितो कर्जालाई प्राथमिकतामा राख्ने निश्चित देखिएको छ ।

सेयर धितो कर्जा सजिलो र कर्जा डुब्ने सम्भावना ज्यादै न्यून भएकोले पनि बैंक वित्तीय सस्थाहरु त्यसमा आकर्षित हुने निश्चित छ । त्यसको अतिरिक्त कोभिडको असर तत्काल नसकिएको अवस्थामा कर्जा लगानीको राम्रो क्षेत्र पहिचान गरी लगानी विस्तार गर्न बैंक वित्तीय सस्थाहरुलाई अझै केही समय लाग्ने देखिन्छ ।

ठूलो लगानी लाग्ने खालको जलविद्युत जस्ता क्षेत्रमा प्रसस्त मात्रामा लगानी भइसक्नु अनि अन्य लगानीको सम्भावनाहरु ज्यादै न्यून भएको अवस्थामा बैंक वित्तीय सस्थाहरुले लगानी बढाउन नसक्दा सेयर धितो कर्जा पनि उपयुक्त लगानीको क्षेत्र बनेको छ । अनि लगानीकर्ताका लागि पनि ८–९ प्रतिशतको हाराहारीमा सेयर धितो कर्जा पाउने अवस्था रहेकोले त्यसको राम्रो प्रभाव बजारमा अझै पर्ने निश्चित छ ।

बजारमा पर्याप्त लगानी भित्रिने र लगानीको गतिलो सम्भावना भएको यस समयमा लगानी गर्दा भने भविष्यमा राम्रो प्रतिफल दिने खालको कम्पनीमा लगानी गर्नुपर्ने भने हुन्छ । त्यसका लागि हल्लाको पछि नलागेर विशेषज्ञको सल्लाह र बजारका बारेमा ज्ञान बढाएर मात्र लगानी गर्नु बेस हुन्छ । विश्व सेयर बजारका बादशाह मानिएका अमेरिकी लगानीकर्ता वारेन बफेटको भाषामा भन्ने हो भने “जति धेरै अध्ययन त्यति धेरै कमाई” ।

सम्बन्धित समाचार