free website hit counter

बढेकै हो त बीमाको पहुँच

beemaadmin
२०८० बैशाख २३, शनिबार

काठमाडौं । जनतामा चेतना, बीमकहरुका चेतनामूलक कार्यक्रम र अनिवार्य बीमाका केही प्रावधानका कारण बीमाको पहुँच वृद्धि भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बीमाको दायरा करिब ४४.५५ प्रतिशत (म्यादी,लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख सहित) पुगेको छ । गत आर्थिक वर्षको तुलनामा बीमाको पहुँच ७.२० प्रतिशतले बढेर ४४।५५ प्रतिशतमा पुगेको हो । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा बीमाको पहुँच ३७.३५ प्रतिशत जनसंख्यामा पुगेको थियो । म्यादी र लघु म्यादी जीवन बीमालेख सहित पनि बीमाको पहुँच ३९.७४ प्रतिशत पुगेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । गत आर्थिक वर्षका यसै अवधिमा म्यादी र लघु म्यादी जीवन बीमालेख सहितको यस्तो पहुँच ३४.५२ प्रतिशत मात्रै रहेको थियो । चैत सम्ममा बैदेशिक रोजगार बीमालेख संख्या ७१.१२ प्रतिशतले बढेर १४ लाख ५९ हजार ३१५ वटा पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरुले ८ लाख ५२ हजार ८२७ वटा यस्तो बीमालेख जारी गरेका थिए । यस्तै जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी र बैदेशिक रोजगार बीमालेख बाहेक) पनि १७.०५ प्रतिशतले बढेर ५५ लाख ७२ हजार ५२ वटा बीमालेख जारी भएको बीमा प्राधिकरणको तथ्यांक छ । कुल जीवन बीमालेख संख्या पनि २०.१४ प्रतिशतले बढेर १ करोड ४१ लाख ६५ हजार ९९८ वटा पुगेको छ । जीवन बीमाको दायरामा प्रति व्यक्ति बीमालेख गणना गरिने भएकोले सामुहिक बीमालेखलाई प्रति व्यक्ति बीमालेखमा गणना गरिएकोले पनि दायरा विस्तार उल्लेख सुधार भएको प्राधिकरणले जनाएको छ । निर्जीवन बीमा कम्पनीहरूको बीमालेख संख्या भने ०.४२ प्रतिशतले घटेर २१ लाख ६६ हजार ३२८ वटामा सीमित भएका छन् । गत वर्षको यहि अवधीमा निर्जीवन बीमा कम्पनीहरुले २१ लाख ७५ हजार ४१४ वटा बीमालेख जारी गरेका थिए । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क भने २।६७ प्रतिशतले बढेर १ खर्ब ३४ अर्ब ७४ करोड ९६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले १ खर्ब ३१ अर्ब २४ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । यस अवधिमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुका धमाधम मर्जरमा गएपछि शाखा कार्यालयहरु ५.४८ प्रतिशतले घटेर ३ हजार १५४ वटा कायम भएका छन् । यस्तै बीमा कम्पनीका कर्मचारीहरु पनि ३.३२ प्रतिशतले घटेर ११ हजार ४५३ जनामा झरेका छन् ।

सम्बन्धित समाचार