free website hit counter

बढ्दो सेयर बजारमा देखिएका चुनौति

beemaadmin
२०७७ माघ ७, बुधबार

नेपाली सेयर बजारमा दैनिक झै नयाँ नयाँ रेकर्ड बन्न थालेको छ । नेप्से परिसूचकले दैनिक नयाँ उचाइको बिन्दू बनाउँदै गएको वर्तमान सन्दर्भमा लगातार नौ दिनमा १५२ अड्कको बृध्दि पश्चात् नेप्समा मंगलबार सामान्य करेक्सन देखिएको हो ।

मंगलबार नेप्सेमा पाँच दशमलब ५७ अडकको करेक्सन सहित नेप्से २३२६.९० को बिन्दूमा आइपुगेको छ । बजारमा कारोबार रकम भने सात अर्बभन्दा माथि हुनुले भने औषत कारोबारभन्दा बढी भएकोले बजारमा सेयरको माग अझै उच्च रहेको छ भन्ने स्पस्ट छ ।

अहिले सेयर बजार बढ्दै जाँदा आम लगानीकर्ताको निकै उच्च मनोबल उच्च छ । प्राथमिक सेयरका लागि खोलिएको डिम्याटमा सेयर परेर विवरण नदेखिए तापनि दोस्रो बजारबाटै भए पनि केही खरिद गर्ने जमर्को नयाँ लगानीकर्ताले गरेको देखिन्छ । हालै खुलेको चन्द्रागिरीको प्राथमिक सेयर पश्चात इन्फ्रास्टक्चर बैंकको ठूलो मात्राको सेयरमा समेत लगानीकर्ताको उत्साहले पनि बजारमा कसरी लगानीकर्ताको ओहिरो लागेको छ भन्ने अनुमान गर्न सकिन्छ । हाल दैनिक २२ देखि ३० हजारसम्म पनि डिम्याट खाता खुलेको मात्र होइन डिम्याट खोल्ने लगानीकर्ताको सड्ख्या २६ लाख नाघिसकेको वर्तमान सन्दर्भले पनि बजारमा सेयरको माग उच्च बनाउन सहयोग गरेको छ भने अन्त्यमा बजार बढने कारणतत्वको रुपमा पनि सो महत्वपूर्ण बन्दै आएको छ ।

वित्तीय प्रणालीमा अधिक तरलता हुनु, रेमिट्यान्सको आगमनमा देखिएको बढोत्तरी बैंकहरुको कर्जा विस्तार र सेयर कर्जाका देखिएको सहजता र अन्य क्षेत्रहरुमा लगानीको सम्भावना न्यून रहेको र विश्वका अन्य सेयर बजार पनि उकालो लाग्ने यात्राका कारण नै लगानीकर्ताको मनोबल उच्च बनेको हो । त्यसको प्रभाव नेपाली बजारमा पनि देखिनु स्वभाविक नै हो ।

बजार बढेको वर्तमान सन्दर्भ र लगानीकर्ता एकाएक झुम्मिएको अवस्थामा प्राथमिक बजारको लगानी त सुरक्षित नै हुन्छ । तर दोस्रो बजारमा हुने लगानी भने जोखिमयुक्त नै हुन्छ । यस्तो अवस्थामा भनिन्छ घोडा र गधासँगै दौडिएको हुन्छ । अब लगानीकर्ताले घोडा पहिचान गरेर लामो वा छोटो समयका लागि लगानी गर्ने कला नै अहिलेको चुनौति हो । बजार न्यून बिन्दूमा रहेका बेला लगानी जोखिम पूर्ण थिएन तर अहिले भने छ । बजारमा छोटो समयका लागि कारोबार गर्नेहरुका लागि प्राविधिक विश्लेषण सहितको निकै दक्षता जरुरी हुन्छ ।

लामो समयका लागि लगानीका लागी भने लगानी गर्ने कम्पनीको समग्र अवस्थाको अध्ययन जरुरी छ जसमा सस्थाको नाफा र नाफा बृध्दिको अवस्था, रिजर्भ, प्रतिसेयर आम्दानी, कम्पनी सञ्चालकहरुको बजारमा ख्याती, भावि योजना, बैंकहरुको हकमा निक्षेप र लगानी, खराब कर्जाको अवस्था अनि बिमा कम्पनीहरुको हकमा बिमा कोष, बिमालेख विक्रीमा बढोत्तरीको अवस्था त्यसैगरी जलविद्युत कम्पनीहरुको विद्युत विक्रीबाट हुने आम्दानी लगायतको राम्रो अध्ययनका साथै आफूले कति सययका लागि होल्ड गर्ने हो अनि आफ्नो जोखिम बहन गर्नसक्ने क्षमतालाई पनि विचार पुर्याउनु जरुरी हुन्छ । बजारमा चल्ने हल्लाको भरमा लगानी गर्दा फस्ने डर भने बढदो बजारमा रहने गर्छ ।

सेयर बजारमा कुनै पनि कम्पनीको मूल्य कति छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यसलाई सो कम्पनीको प्रगतिले न्याय गरेको छ वा छैन भन्ने विषय नै त्यो भन्दा पनि महत्वपूर्ण हो । जसरी मुलुकको अर्थतन्त्रको ऐना मानिने सेयर बजार अर्थतन्त्रको विकासको गतिसँगै हिडेको छ वा छैन हेरिन्छ । त्यसरी नै आफूले खरिद गर्ने सेयर जारी गरेको कम्पनीको प्रगति अनुसार बजार मूल्य बढेको हो वा हल्लाको भरमा बढेको हो सो नै लगानीकर्ताले मुख्य हेक्का राखेर मात्र लगानी गर्नु उपयुक्त हुन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार