free website hit counter

बयान जोसँग लिइयो सबै बितिसकेको दीपेन्द्रलाई पोल्ने

beemaadmin
२०७८ जेष्ठ १९, बुधबार
  • श्रीप्रसाद पण्डित


राजदरबार हत्याकाण्ड भएकै राति साढे ११ बजे एक जना घनिष्ट मित्रले फोन गरे । र,साउती मारेको स्वरमा दरबार हत्याकाण्डवारे जिज्ञासा राखे । उनले पुष्टि गर्नका लागि मलाई सोधेका थिए । तर,मेरो त पहिलो स्रोत नै उनी बने । तत्कालै केशवराज राजभण्डारी (तत्कालीन सचिव,पछि प्रमुख निर्वाचन आयुक्त पनि भए ।) उनलाई फोन घुमाएँ । उनले हो श्रीमान्,सबै सखाप भयो । कसले के गर्यो ? केही थाहा छैन भन्ने जवाफ फर्काए । राजदरबार हत्याकाण्डको पुष्टि भयो ।
भोलिपल्ट अदालत जाने कुरा भएन । दौरा सुरुवाल लगाएर छाउनी गयौं । त्यहाँ गाइँगुइँ चलिरहेको थियो युवराज दीपेन्द्रले हत्या गरेको । छाउनीमा (कुमार) महेश्वर सिँह (दरबारका ज्वाइँलाई कुमार भन्ने चलन थियो ।) ले ब्यान्डेज गरेर छातीमा हात झुण्ड्याएका थिए । के भयो कर्साप ? भनेर सोधे ।
जवाफ फर्काए, मलाई गोली लाग्यो श्रीमान् ।
हजुर त्यहीँ हुनुहुन्थ्यो ? मेरो सोधनी थियो ।
अँ,त्यहीँ थिएँ ।
के भएको हो त ? मेरो कौतुहलता ।

दीपेन्द्रले नै हो भन्ने जवाफ फर्काए ।

मलामी गएर फर्कियौं ।

शनिबार खासै केही भएन ।

आइतबार आयोग गठन भयो प्रधानन्यायाधीश केशव शर्मा उपाध्यायको अध्यक्षतामा तीन सदस्यीय ।

सभामुख तारानाथ रानाभाट,विपक्षी दलका नेता माधवकुमार नेपाल ।

मलाई पनि प्रधानन्यायाधीशबाट बालुवाटारमा बोलावट भयो । र, भन्नुभयो, तपाईं दरबारमै बसेर आठ दश–वर्ष काम गर्नुभएको व्यक्ति । दरबार नजिकबाट बुझेको मान्छे । मलाई सहयोग गर्नुपर्यो । यो आयोगमा बसिदिनुपर्यो। काशिराज दाहाल प्रधानन्यायाधीशको रोजाइमा पर्नुभयो ।

दिउँसो माधव नेपालजी आउनुभयो । हामी बालुवाटार प्रधानन्यायाधीशको क्वार्टरमा थियौं । पार्टीको निर्णय छ, म यो आयोगमा बस्दिन भन्नुभयो । मैले उहाँलाई एसम्यानहरूको मात्र आयोग भयो त बर्बाद हुन्छ । तपाई जसरी पनि यो आयोगमा बस्नुपर्छ भन्ने सल्लाह दिएको थिएँ ।

सभामुख तारानाथ रानाभाटको रोजाइमा परे,सूर्यकिरण गुरुङ (पछि राजदूत र सत्यनिरुपण आयोगका अध्यक्ष ।)

हामी तीनै जना (सूर्य,काशी र म) विशिष्ट श्रेणीका अफिसर । सचिवालयका प्रमुख भए सूर्यकिरण । हामीचाहिँ कारिन्दाजस्तो भयौं ।
आयोगलाई म्याण्डेट दिइएको थियो, के भएको हो भन्ने विषयमा बुझेर प्रतिवेदन पेश गर्ने ।

त्यो जाँचबुझ आयोग थिएन । जाँचबुझ आयोग भएको भए,म्याण्डेट दिइन्थ्यो के भएको सत्यतथ्य पत्ता लगाउनु भनेर ।

योचाहिँ घटना के–के भएको थियो भनेर घटनाको सिक्वेन्स मिलाउनका लागि मात्र गठन भएको आयोग थियो ।

राजा ज्ञानेन्द्रकहाँ गएर शपथ लिने काम पनि तिनै दुई जना (केशव र तारानाथ) ले गरे ।

हाम्रो कामचाहिँ सभामुखको भवन (संसद् सचिवालयभित्र) बाट हुन्थ्यो ।

काम गर्नका लागि मोडालिटी बनायौं । पहिलो चरणमा,प्रत्यक्षदर्शी, घाइतेलगायत त्यहाँ को को थिए रु घटनासँग जोडिएकासँग सोधपुछ थाल्यौं ।

पारस शाह,ज्ञानेन्द्रको महारानी कोमललगायत राजपरिवारसँग टेप रेकर्ड गरियो । तर, राजपरिवारका सदस्यसँग सोधपुछ गर्दा मलाई लगिएन ।
अरूको टिपोट मात्र गरियो ।

उनीहरूले जस्तो बयान गरे( त्यो प्रतिवेदन (किताब)मा आएकै छ ।

राजदरबारभित्र हरेक शुक्रबार पारिवारिक जमघट हुने । कुनै शुक्रबार मुभी हेरिने ९तीनताक भिडियो पाइँदैनथ्यो,हलबाट चक्का ल्याएर हेरिन्थ्यो० ।

यस्तो जमघटचाहिँ कहिले कुपण्डोलस्थित महेश्वर सिङको निवासमा, कहिले कुमार गोरखको त कहिले ज्ञानेन्द्रकोमा हुने चलन रहेछ ।
त्यसदिन दीपेन्द्रको पालो थियो ।

एडिसीहरूसँग सोध्दा उनीहरू पारिवारिक जमघटमा ढोकाबाहिरै बस्दा रहेछन् । बाहिरै खाने । बोलाए मात्र भित्र जाने हुँदा भित्र ड्वाङ्ग आवाज आएको मात्र सुनियो । के भएको हो हामीलाई पनि थाहा भएन भने ।

बयान दिनेहरू भन्थे( दीपेन्द्र पहिलादेखि नै पिइरहेका थिए (फेमस ग्राउज भन्ने ब्राण्डको)। यो रक्सी कुनै ठूलो ब्राण्डको होइन रहेछ । उही तपाई हामीले पिउने रेड लेबल मार्काको । त्यो रक्सीको डिष्टिब्युर्टसचाहिँ उनै कुमार महेश्वर सिंह। र, उनैले दरबारलाई भिडाएका रहेछन् । गेष्टहरू आउन ढिला भएको थियो ।

रक्सी धेरै पिएका कारण उहाँलाई लागिसकेकोथ्यो । पछि बान्ता गर्नुभयो । निदाउनुभएपछि हामी हिँड्यौं भन्छन् बयान दिनेहरू । बयान जोसँग लिइयो सबै बितिसकेको दीपेन्द्रलाई पोल्ने ।

गोरखसमशेरको छातिमा गोली लागेको तर मुटुमा सुनको लकेटले बचाएको रहेछ । त्यही लकेटको सानो चोइटोचाहिँ भित्र पसेछ । उनी पनि दीपेन्द्रलाई पोल्ने ।

केतकी शाहले पनि दीपेन्द्रलाई नै दोषी देखाइन् ।

हाम्रो कानुनमा प्रमाण ऐन छ, त्यसको पेटबोली छ मृत्युकालीन घोषणा ।

मान्छेले मर्ने समयमा साँचो कुरा बोल्छ रे ?

तर, मेरो मनमा चाहिँ चिसो पस्यो, पहिला सिभिल डेसमा भएको मान्छे पछि मेसिनगनले हान्न थाल्दा कम्व्याट ड्रेसमा,बुट पनि कसेको अवस्थामा छ रे ।

रक्सी खाएर,बान्ता गरेर सुतेको र निदाएको मान्छे त्यसरी आउन सक्छ ?

हामीले पनि रक्सी पिएका छौं । रक्सी कति लाग्छ ? राम्रोसँग थाहा छ ।

तत्कालै फ्रेस भई दुबै हातमा बन्दुक लिएर कसरी आउन सक्छ ? मलाई शंका लाग्यो ।

आफ्नो शंका प्रधानन्यायाधीशसँग राखें ।

यो विषयको जाँचबुझ गर्न एक जना डाक्टर लिएर आऔं भनें । तर, उनले त्यसो गर्न मानेनन् ।

उसो हो भने साइकियाटृक वा मनोविद्हरूलाई ल्याऊँ भन्ने प्रस्ताव राखेँ ।

रिटायर्ड डाक्टर कृष्णचन्द्र राजभण्डारीलाई बोलाइयो ।

प्रधानन्यायाधीशहरूको चाहिँ त्यहीँ भएका मान्छेसँग मात्र सोधपुछ गरेर काम फत्ते गरौं भन्ने मनशाय थियो ।

मैलेचाहिँ रक्सी पिएर लडेको,निदाएको भनिएको मान्छे फेरि तत्कालै उठेर कम्ब्याट ड्रेस लगाएर, बुट कसेर मेसिनगन चलाउन सक्छ कि सक्दैन ? त्यो कुरा चाहियो भन्ने अडान राखेपछि मनोविद् डाक्टर कृष्णचन्द्र राजभण्डारीलाई त्यहाँ बोलाइयो ।

थोरै कुरा सोधेर कृष्णचन्द्रलाई बिदा गरिदिनुभयो उहाँहरूले ।

पछि घटनास्थल हेर्न गयौं । त्यो पनि उनीहरूसँग अनुमति लिएर,उनीहरूले भनेको समयमा रोजेको फोटोग्राफर मात्र लिएर जान पाइने ।
घटनास्थल त्रिभुवन सदन देखाइयो । अलि अघि राजा वीरेन्द्रको च्यातिएको ढाकाटोपी र गोलीका खोका छरपष्ट थिए । हतियार थिएनन् ।
युवराजको खोपीमा पुग्यौं । भर्याङको भित्तामा गिदी देखियो । ऐश्वर्यको गिदी भएको अनुमान लगाए उनीहरूले ।

बाहिर साथीभाइहरूले प्रश्न राख्थे( दीपेन्द्रले नै गरेको हो त यो सबै ?

मैले त्यही बेला भनेको थिएँ, कुनै पनि हालतमा दीपेन्द्रले दरबार हत्याकाण्ड गरेका थिएनन् ।

पछिका वस्तुस्थितिले त्यो पुष्टि गर्दै गयो । प्लान्टेड मान्छेहरू त्यहाँ थिए ।

दीपेन्द्रका आमा छोराको झगडा भन्ने हल्ला चलाए । तर,उनीहरूबीच केही झगडा थिएन । दरबार हत्याकाण्ड ग्राण्ड डिजाइनअनुरुप नै भएको हो ।

पछि मैले महेश सिङसँग पोष्टमार्टम नगरी त शव के चलाउने होला र ? भन्ने कुरा उठाएँ । उनले मुमाबडामहारानी (रत्न) बाट हुकुम आएको छ, दरबारका कसैको पनि पोष्टमार्टम गर्न चलन छैन भन्ने जवाफ दिए ।

पोष्टमार्टम गर्न किन दिएनन् ? घटनास्थल भोलिपल्टै गएर जाँच्नुपर्ने थियो । त्यो प्रधानन्यायाधीशले भन्नुपर्ने कुरा हो।

तर, अन्तिममा प्रतिवेदन बुझाउनुअघि मात्र घटनास्थल हेर्न गयौं । राजा ज्ञानेन्द्रले घटनास्थल नहेरी रिपोर्ट बनायौ ? भनेर सोधे वा के भएर हो ? अन्तिम घडीमा हामी घटनास्थल हेर्न गयौं ।

घटनास्थल हेर्न जाँदा गोलीको खोकाबाहेक केही थिएन ।

आयोगलाई जुन म्याण्डेट दिइएको थियो त्यो गलत थियो । सत्यतथ्य पत्ता लगाऊ भन्ने म्याण्डेट हुनुपर्नेमा के भएको रहेछ वस्तुस्थिति बुझी प्रतिवेदन पेश गर्ने भन्ने म्याण्डेट थियो ।

जस्तो महाभारतको लडाइँमा सञ्जयले आफ्नो राय केही दिँदैनन् । यस्तो भएको रहेछ,उस्तो भएको रहेछ भन्छन् । यसैगरी आयोगलाई पनि आफ्नो राय दिन नपाउने मात्र म्याण्डेट थियो ।

नेपालको राजतन्त्र सखाप पार्नमा देशीरविदेशीको ठूलो हात रह्यो । जसरी नेपालमा अकस्मात् गणतन्त्र पास भयो । यो घटना नै प्रिप्लान हो । नेपालको राजतन्त्र खत्तम पारेर गणतन्त्र ल्याउनमा विदेशीको ठूलो हात छ ।

(लेखक पूर्व न्यायाधीश, दरवारको बिशेष जाहेरी बिभागका हाकिम र दरवार हत्याकाण्डताका सर्वोच्च अदालतको रजिस्ट्रार हुनुहुन्थ्यो)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार