free website hit counter

बलात्कारको ‘बात’ ले गाह्रो छ बाँच्न

beemaadmin
२०७६ मंसिर १९, बिहीबार

कानुन नागरिक समाजलाई सुरक्षित, अनुशासित र मर्यादित बनाउनका लागि आउने हो । तर, गत वर्ष जारी मुलुकी अपराध संहिताको दफा २१९ ले रिस उठेको मान्छेलाई सताउने मेलो खोलेको छ । मन मिलुन्जेल प्रेम, मन भाँचिएपछि ‘जक’ को चलन यति बढ्यो कि देशभरका प्रहरी हिरासतदेखि कारागार यस्तै कसुरदारले भरिभराऊ छन् ।

सभामुख कृष्णबहादुर महरादेखि चतराधामका ‘सिद्धबाबा’ भनिने कृष्णदासजी महाराजसम्म अहिले कानुनी दायरामा छन् । उनीहरुको कसुर वास्तविक हुन् या बनावटी भन्ने कुरा त सम्मानित अदालतको अन्तिम फैसलाबाटै आउला । तर, ‘बाख्रीको पुच्छर काटे बोकालाई सजिलो’ भनेजस्तो आरोप लगाइदिएपछि मुद्दा चल्न अर्थोक नचाहिने स्थितिले यही नाममा मोलमोलाइको धन्दा बढेको छ । यस्तो मुद्दाले गर्दा महरालाई राखिएको डिल्लीबजार कारागारमा पनि कैदीको चाप थेग्न नसक्ने गरी बढेको छ । त्यहाँ प्रहरीका पूर्वआइजिपी रमेशचन्द ठकुरीदेखि प्रहरी हत्याको अभियोग लागेका सांसद रेशम चौधरीसम्मका कैदी छन् ।

मुलुकी अपराध संहिताको दफा २१९ लागेर पुगेका कैदीसँग कारागारभित्रै रकमको मोलतोल बढ्न थालेपछि त्यस्तालाई त्यहाँका जेलर अरुण पोखरेलले भेटघाटै बन्द गराइदिएका छन् । भक्तपुर जिल्ला अदालतले कारागार चलान गर्नेमध्ये ८० प्रतिशत यही कसुरसँग सम्बन्धित छन् ।

एउटा ताजा घटना हेरौँ । बालाजु, नेपालटारभित्रको भेटघाट चोकमा डेरा बस्ने र त्यहीँको मानसिंह स्कुलमा ९ कक्षामा पढ्ने १८ वर्षीया शर्मिला ओली (नाम परिवर्तन) एक वर्षदेखि नुवाकोट बेलकोटगढी– २, कुमारीगाउँका २५ वर्षीय विष्णु न्यौपानेसँगको नियमितसम्पर्कमा थिइन् । विष्णुचाहिँ अस्पतालहरुलाई सर्जिकल सामान सप्लाई गर्ने कम्पनीमा काम गर्ने र त्यही कम्पनीको गाडी चलाउने गर्छन् । नेपालटारको ग्रामीण आदर्श क्याम्पसमा पढ्ने र प्रहरी कार्यालय छेउछाउ लेखन्दासको काम गर्ने शर्मिलाकी दिदीसँग विष्णुका एकजना साथीको प्रेम सम्बन्ध थियो । शेषमतिमा रहेको एक क्याफेमा साथीसँग उनको प्रेमिका भेट्न जाने क्रममा बहिनी पनि भेटिएकी थिइन् । त्यसबेला शर्मिलासँग मोबाइल थिएन ।

त्यसैले कहिले दिदीको त कहिले आमाको मोबाइलबाट फोन गर्थिन् । यो कुरा थाहा पाएपछि दिदीले शर्मिलालाई गाली गरिन् र करिव १० महिना उनले विष्णुलाई फोन गरिनन् । ०७५ कात्तिकमा आफ्नै मोबाइल लिइन् र विष्णुलाई फोन गरिन् । विष्णु विवाहित हुन् । बुटवलकी शोभा थापा (नाम परिवर्तन) सँग चार वर्षपहिला विवाह भएको थियो । शोभा हाल जापानमा छिन् । शर्मिलाले आफ्नै मोबाइल लिएपछि विष्णुसँग नियमित कुराकानी हुन थाल्यो ।

विष्णुले आफ्नै कोठामा उनीसँग सहमतिमै सम्पर्क राखे । अन्तिमपटक गत असोज ३० गते सम्पर्क भएको थियो । त्यसपछि गर्भ रह्यो । र, उनीहरुले एक मेडिकल सेन्टरमा आफूहरु पतिपत्नी भएको र सहमतिमै गर्भपतन गराउन चाहेको कागजमा सही गरे । गर्भपतन भयो । भोलिपल्टदेखि शर्मिलाकी दिदीले विष्णुसँग कुरा गर्न थालिन् । भनाइ थियो, ‘मेरी बहिनीलाई दुई जिउकी बनाएर किन गर्भपतन गराइस् ?’

विष्णुको भनाइ थियो, ‘सहमतिमै भएको ।’ यसपछि माग भयो, ५० लाखको । अर्काको गाडी चलाएर गुजारा गर्ने विष्णुले त्यत्तिका पैसा दिनसक्ने अवस्था थिएन । गर्भपतनपछिका दिनमा शर्मिला विष्णुको सम्पर्कमा आइनन्, जे–जे कुरा गरिन्, उनकी दिदीले नै गरिन् । शर्मिलाकी दिदीको बार्गेनिङ २५ लाखसम्म पुगेको थियो । तर, विष्णुले जापानमा रहेकी पत्नीलाई ढाँटेर भए पनि १० लाखसम्म मगाउने बताए । शर्मिलाकी दिदीले मानिनन् ।

यसपछि शर्मिलाको जाहेरी लिएर दिदी आफँै बालाजु पुगिन् । त्यहाँका प्रहरीले पीडित उपस्थित हुनुपर्ने भन्यो । तर, प्रहरीको भनाइ थियो, मुलुकी अपराध संहिताको दफा २१९ अनुसार शर्मिलाको जाहेरी त दर्ता हुन्छ । तर, उनीहरुले सात महिनाको बच्चाको अवैध गर्भपतन गराएका छन् । गर्भपतन गराउने क्रममा आफूहरु पतिपत्नी भएको कागजमा सही गरेका छन् । मुलुकी अपराध संहिताको दफा १८८ अनुसार गर्भपतन गराउन नहुने कसुरमा स्वयं शर्मिला पनि प्रतिवादी हुने छिन् । २५ हप्ताभन्दा बढीको गर्भपतन भए पाँच वर्ष कैद र ५० हजार जरिवानाको कानुनी व्यवस्था छ । प्रहरीले जाहेरी दर्ता ग¥यो ।

तर, शर्मिलालाई प्रतिवादी बनाएर पक्राउ पुर्जीका लागि सरकारी वकिलकहाँ लेखी पठाउँदा सरकारी वकिल र प्रहरीका उच्चपदस्थ हाकिमले पनि उनलाई प्रतिवादी नबनाउन दबाब दिए । यसपछि शर्मिला प्रतिवादी बनिनन् । विष्णु पक्राउ परे । केही दिनअघि पुर्पक्षका लागि केन्द्रीय कारागार चलान भएका छन् । तर, कालिमाटी र टेकु प्रहरी कार्यालयतिर लेखापढी व्यवसाय गर्ने शर्मिलाकी दिदी अहिले पनि विष्णुसँग मोलतोल मिलाउन कारागार जाने गरेकी छन् । यदि उनीहरुको आर्थिक कारोबार मिल्यो भने शर्मिलाले जाहेरी फिर्ता लिन्छिन्, बयान फेर्छिन् र विष्णु थुनामुक्त हुन्छन् । यदि त्यसो भएन भने उनीमाथि कानुनी कारवाही हुन्छ ।

(बुधबार प्रकाशित जनआस्था साप्ताहिकबाट)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार