काठमाडौं । हालैको अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका जलविद्युत् आयोजना तथा प्रसारण र वितरण प्रणालीमा क्षति पुग्दा १ हजार २९२ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ। क्षति पुगेका तथा सुरक्षाका कारण बन्द गरिएका आयोजनामध्ये पानीको बहाव घटेसँगै अधिकांश आयोजना पुनः सञ्चालनमा आउन थालेका छन्।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार असोज ९ गतेदेखि आएको वर्षाका कारण सुरक्षाका दृष्टिले फोर्स सटडाउन गरिएका आयोजनाहरू क्रमशः सञ्चालनमा ल्याइएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले मर्स्याङ्दी करिडोरका १९० मेगावाट र सेती–मादी करिडोरका २६२ मेगावाट क्षमताका आयोजना पुनः सञ्चालनमा आइसकेको जानकारी दिए।
प्राधिकरणका अनुसार १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको प्राविधिक परीक्षणसमेत पूरा भएको छ। आयोजना पुनः सञ्चालनको तयारीमा रहेको छ। यस्तै, बाढी तथा पहिरोका कारण प्रभावित राहुघाट आयोजना सफाइ गरेर पुनः सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने अनुमान गरिएको छ।
तर, प्रसारणलाइनमा भएको क्षतिका कारण अझै ठूलो परिमाणको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिन सकेको छैन। प्रसारण संरचनामा क्षति हुँदा करिब २३० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिन नसकेको प्राधिकरणले जनाएको छ।
कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी प्रसारणलाइनका टावरमा क्षति पुगेपछि नीलगिरि–१, नीलगिरि–२ र मिस्त्रीखोलालगायत सातवटा आयोजनाको करिब १९० मेगावाट विद्युत् प्रसारण हुन सकेको छैन। त्यस्तै, भदौ १० गते आएको बाढीले माथिल्लो त्रिशूली–३ ‘बी’ प्रसारणलाइनमा क्षति पुर्याएपछि रसुवा–त्रिशूली करिडोरका ४३०.८ मेगावाट क्षमताका आयोजना समेत प्रभावित अवस्थामा छन्।
बाढीपहिरोबाट विद्युत् संरचनामा भएको क्षतिको प्रारम्भिक विवरणअनुसार प्राधिकरण र उसका सहायक कम्पनीको मात्रै करिब ७४ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। यद्यपि, अधिकांश प्रभावित जिल्लामा विद्युत् आपूर्ति पुनः सञ्चालन भइसकेको प्राधिकरणले जनाएको छ। मनाङमा समेत मंगलबारसम्म विद्युत् आपूर्ति पुनः सञ्चालन गर्ने तयारी रहेको बताइएको छ।
यसैबीच, पिक समयमा बढ्ने विद्युत् माग धान्न नेपालले भारतबाट आकस्मिक रूपमा विद्युत् आयात गरिरहेको छ। अहिले विभिन्न सीमा बिन्दुमार्फत २५१.४ मेगावाट विद्युत् आयात भइरहेको प्राधिकरणले जनाएको छ।
आगामी हिउँदमा विद्युत् अभाव हुन नदिन प्राधिकरणले आयातको विस्तृत कार्ययोजनासमेत सार्वजनिक गरेको छ। पुस २०८३ देखि वैशाख २०८४ सम्मको सुख्खायाममा आवश्यकताअनुसार भारतबाट विद्युत् आयात गरेर लोडसेडिङ हुन नदिने प्राधिकरणको योजना छ।
प्राधिकरणका अनुसार मंसिरसम्म नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता ४ हजार ६० मेगावाट पुग्ने अनुमान छ। तर, सुख्खायाममा जलविद्युत् आयोजनाको उत्पादन घटेर करिब १ हजार २१८ मेगावाटमा सीमित हुन सक्ने प्रक्षेपण गरिएको छ।
आन्तरिक उत्पादनमा आउने कमी पूर्ति गर्न ढल्केबर–मुजफ्फरपुर, बिहार–उत्तर प्रदेश सीमा बिन्दु, द्विपक्षीय आरटीसी सम्झौता तथा टनकपुर–महेन्द्रनगर प्रसारणलाइनमार्फत भारतबाट कुल १ हजार १५४.८० मेगावाटसम्म विद्युत् आयात गर्ने तयारी गरिएको छ।
आयातसहित सुख्खायाममा नेपालमा उपलब्ध विद्युत्को कुल क्षमता करिब २ हजार ३७२ मेगावाट पुग्ने प्राधिकरणको अनुमान छ। यो गत वर्षको उच्चतम विद्युत् माग २ हजार २९२ मेगावाटभन्दा बढी हो।
प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले आयातको व्यवस्था र आन्तरिक उत्पादनलाई व्यवस्थापन गरेर आगामी हिउँदमा विद्युत् आपूर्ति नियमित राख्ने तयारी गरिएको बताउँदै नागरिक तथा उद्योगले लोडसेडिङ भोग्नुपर्ने अवस्था नआउने दाबी गरेका छन्।