काठमाडौं । नेपाल बीमा प्राधिकरणले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित बीमित र बीमितका हकवालालाई बीमा रकम भुक्तानी सहज बनाउन जीवन तथा लघुजीवन बीमा कम्पनीहरूलाई ८ बुँदे व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ।
ल्हेन्दे खोला, भोटेकोशी, त्रिशूली तथा नारायणी नदी प्रणालीमा आएको भीषण बाढीबाट प्रभावित बीमितलाई दाबी भुक्तानीमा सहजता ल्याउने उद्देश्यले प्राधिकरणले यस्तो व्यवस्था गरेको हो। विपद्का कारण बीमालेख तथा आवश्यक कागजात नष्ट भएको, बीमित बेपत्ता भएको वा बीमा कम्पनीकै अभिलेखमा क्षति पुगेको अवस्थालाई समेत ध्यानमा राखेर प्रक्रिया सरल बनाइएको प्राधिकरणले जनाएको छ।
१. दाबी निवेदनमा आवश्यक विवरण मात्र
दाबी निवेदनमा बीमितको नाम, मृत्यु भएको मिति, मृत्युको कारण, बीमालेख नम्बर तथा दाबीकर्तासँगको नाता खुलाउनुपर्नेछ।
२. नाता र परिचय खुल्ने कागजात
दाबीकर्ताले बीमितसँगको नाता प्रमाणित हुने कागजात र आफ्नो परिचय खुल्ने सरकारी कागजात पेस गर्नुपर्नेछ। नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, राहदानी वा जग्गाधनी प्रमाणपत्रलगायतका कागजातलाई आधार मान्न सकिनेछ।
३. मृत्यु वा बेपत्ता भएको प्रमाणका लागि वैकल्पिक व्यवस्था
बाढी वा विपद्का कारण बीमितको मृत्यु वा बेपत्ता भएको पुष्टि गर्न सम्बन्धित निकाय वा अधिकारीबाट जारी प्रमाणपत्र वा सिफारिसलाई आधार मान्न सकिनेछ। यस्तो प्रमाण उपलब्ध हुन नसके अदालतबाट भएको मृत्युको न्यायिक घोषणालाई समेत आधार बनाएर दाबी भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।
४. सक्कल बीमालेख नभए पनि दाबी प्रक्रिया अघि बढ्ने
सक्कल बीमालेख उपलब्ध नभएको अवस्थामा बीमा कम्पनीको अभिलेखमा रहेको बीमालेखको प्रतिलिपिका आधारमा दाबी प्रक्रिया अघि बढाउन सकिनेछ।
५. बीमालेखको प्रतिलिपि निःशुल्क दिनुपर्ने
बीमितले माग गरेमा बीमा कम्पनीले आफ्नो अभिलेखमा रहेको बीमालेखको प्रतिलिपि निःशुल्क उपलब्ध गराउनुपर्नेछ।
६. कम्पनीको अभिलेख नष्ट भए पुनः विवरण तयार गर्न सहयोग
विपद्का कारण बीमा कम्पनीमा रहेका कागजात तथा अभिलेख नष्ट भएको अवस्थामा बीमित तथा अभिकर्ताले आवश्यक कागजात र विवरण उपलब्ध गराई अभिलेख अद्यावधिक गर्न सहयोग गर्नुपर्नेछ।
७. प्रिमियम र बीमा कर्जाको किस्तामा ६ महिनासम्म थप समय
विपद्का कारण नियमित किस्ता तिर्न नसक्ने बीमितलाई प्रिमियम तथा बीमा कर्जाको किस्ता भुक्तानीका लागि ६ महिनासम्म थप समय उपलब्ध गराइनेछ। उक्त अवधिमा थप ब्याज नलाग्ने व्यवस्था गरिएको छ।
८. बेपत्ता बीमितका हकवालाले पनि दाबी गर्न सक्ने
बाढी वा अन्य प्राकृतिक विपद्का कारण बीमित बेपत्ता भएको अवस्थामा कानुनी हकवालाले बीमा रकम दाबी गर्न सक्नेछन्। यसका लागि बीमित जीवित रहेको प्रमाणित भएमा प्रचलित कानुनबमोजिम हुने कारबाही स्वीकार गर्ने प्रतिबद्धतासहित स्वघोषणा वा प्रतिबद्धतापत्र पेस गर्नुपर्नेछ।
प्राधिकरणका अनुसार विपद्का कारण बीमित तथा उनीहरूका परिवारले भोग्नुपरेको कागजात अभाव र आर्थिक कठिनाइलाई ध्यानमा राखेर दाबी भुक्तानी प्रक्रिया सरल बनाइएको हो। प्राधिकरणले यसअघि पनि रसुवा बाढी प्रभावित बीमितका लागि छुट्टै संक्षिप्त कार्यविधि जारी गर्दै दाबी प्रक्रियालाई सहज बनाएको थियो।