free website hit counter

बादललाई फाल्ने, सरकार ढाल्ने खेल सुरु

beemaadmin
२०७८ बैशाख ८, बुधबार

आफू समस्यामा पर्ने जान्दाजान्दै पनि जेसुकै होस्, प्रधानमन्त्रीमा चुनाव गराइहाल्ने अचम्मको हतारो पाइन्छ ।
माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य पद रिक्त गराएपछि जेठको दोस्रो साता हुनुपर्ने चुनाव बागमती प्रदेशबाट निर्वाचित गृहमन्त्री रामबहादुर थापा (बादल) ले हार्ने देखिन्छ । चितवनबाट ०६४ मा जितेका बादललाई ०७४ माघको राष्ट्रियसभा चुनावमा एमाले र माओवादी केन्द्र मिलेर जिताएका हुन् । उनलाई जिताउनका लागि केपी ओलीले माधवपक्षीय बेदुराम भुसाललाई उम्मेदवारी फिर्ता लिन लगाउनुभएको थियो । अहिले बागमती प्रदेशमा एमाले स्पष्टतः आधा–आधा छ । प्रदेशसभा सदस्य ११० (मतभार ५२८०), गाविस अध्यक्ष÷उपाध्यक्ष, नगरपालिका मेयर÷उपमेयर २३८ (मतभार ४२८४) सहित जम्मा ३४८ (मतभार) ९५६४ ले बादललाई सर्लक्कै जिताउलान् भन्ने के ग्यारेन्टी ? माओवादीका बादलबाहेक सबै सर्लक्कै एकातिर छन् । त्यसमाथि कांग्रेससँग एमालेको माधव समूह र माओवादीले चुनावी गठबन्धन गर्ने सम्भावना पनि बढेको छ । कर्णालीमा खुला मतदान हुँदा त फ्लोरक्रस हुन थालेपछि गोप्य मतदानमा पराई भइसकेका बादललाई कसले, के भनेर जिताउने ?
राष्ट्रियसभाको यो खिचलोमा छिर्नुअघि नै प्रधानमन्त्रीले माधव नेपालसहित उहाँको पक्षमा रहेका ३२ सांसदको पद रिक्त गराउने प्रक्रिया अघि बढाउनुभएको छ । यसो गर्दा माओवादी र काँग्रेसले ल्याउन खोजेको अविश्वासको प्रस्ताव सजिलै पास हुँदैन, अर्कोखाले गठबन्धनबाट पनि नयाँ सरकार बन्दैन । र, यही बहानामा चुनावमा जान सकिने हिसाव बालुवाटारको देखिन्छ । बुझिएअनुसार, प्रतिनिधिसभाका रिक्त सीटहरूमा उपचुनाव गराएर ‘अर्ली इलेक्सन’ मा जान पनि तत्काल सम्भव भएन । त्यसकारण अहिले निर्वाचन आयोगले राष्ट्रियसभा, प्रदेश र स्थानीय तहका हकमा मात्रै उपचुनाव गराउने नीति बनेको छ । अनि, माधव समूहलाई चुनावसम्म ‘निर्दलीय’ बनाउनका लागि निर्वाचन आयोगले पनि एमाले विवादलाई ‘आन्तरिक मामिला’ भनेर पन्छाउन लगाउने तयारी बुझिन्छ । जेहोस्, उसै त माओवादीसँग छुट्टिएपछि अलपमतमा परेको सरकार प्रतिनिधिसभाका २७ भाइ आफ्नै सांसदको पद खोस्नेतिर लाग्दा १२१ बाट ९४ मा झरी झन् कमजोर हुने पक्का छ ।
गर्न त गर्ने, तर के गर्ने ?
निर्वाचन आयोग उपचुनाव गराउनुपर्छ भन्ने मानसिकतामा त छ, तर कहाँ–कहाँका लागि त्यस्तो चुनाव गराउने भन्ने अझै टुंगो लागेको छैन । कहिलेसम्म रिक्त भएका पदमा उपचुनाव गराउने भन्ने पनि ठेगान छैन । राष्ट्रियसभाको एक पद रिक्त भएको सूचना आयोगले पाइसकेको छ । अरु पद पनि रिक्त हुने क्रम शुरु भएको छ । तर, रिक्त प्रदेशसभा सदस्यबारे औपचारिक जानकारी छैन । ढिलो–चाँडो त्यस्तो जानकारी पाउला नै । त्यसबेलासम्म निर्वाचन व्यवस्थापनका काममा ढिलाई होला भनेर उसले अनौपचारिक विवरण भने अद्यावधिक गरेको स्रोतले जनाएको छ ।
आजभोलि नै सरकारले निर्वाचन गरिने निकाय र मितिबारे निर्णय लिएन भने समस्या आउने पक्का छ । राष्ट्रियसभा सदस्यको हकमा पद रिक्त भएको ३५ दिनभित्र चुनाव गराइसक्नुपर्छ । मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने हो । रामबहादुर थापाको पद रिक्त भएको सूचना निर्वाचन आयोगले भोलिपल्टै पाइसक्यो । त्यस हिसाबले पनि अब ३० दिनभित्र उक्त पदको निर्वाचन भइसकेर सदस्यले शपथ लिएको हुनुपर्छ । तर, कुनै सुरसार छैन । निर्वाचन मिति तोक्नासाथ आयोगले राजनीतिक दल दर्ता र दल विवादको विषय निरुपण गरिसकेको हुनुपर्छ । त्यसपछि निर्वाचन हुने क्षेत्रका मतदाताको नामावली प्रकाशित गर्नुपर्छ । राष्ट्रियसभा निर्वाचनमा प्रदेशभरिका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, महा–उपमहानगर र नगरका प्रमुख उपप्रमुख तथा प्रदेशसभा सदस्यहरू मतदाता हुन्छन् । यसमा प्रदेश र प्रतिनिधिसभाको जस्तो खुला मतदान हुँदैन । यसमा फ्लोर क्रस भन्ने हुँदैन र ह्वीप पनि लाग्दैन । यसरी हेर्दा पनि बादलको पद धराप छ ।
तर, सरकारले ६ महिनाभित्र उपचुनाव गराउने कि देशैभरि मध्यावधि वा ‘अर्ली इलेक्सन’ गराउने भनेर टुंगो नलगाउँदै प्रतिनिधिसभामा रिक्ततर्फ टोपबहादुर, लेखराजसहित चार सदस्यबारेको सूचना भने निर्वाचन आयोग पुगिसकेको छ । अहिले त्यस्तै, अनौपचारिक विवरणअनुसार प्रदेश १ मा एक, प्रदेश २ मा चार, लुम्बिनीमा दुई, कर्णाली पाँच र सुदूरपश्चिममा एक पद रिक्त छन् । यसरी राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभासमेत जोड्दा १६ स्थान खालि भैसके । आयोगले निर्देशन पायो भने यी सबैको निर्वाचन ६ महिनाभित्र गर्न सक्ने भनेको छ । सरकारले निर्वाचन गराऊ नभनी आयोगले गराउन सक्दैन । किनभने, त्यसका लागि आवश्यक स्रोत र साधन सरकारमा निर्भर हुन्छ । आयोगले भनेको छ, ‘उपचुनाव गराउने हो भने असार १० भित्र सक्नुपर्छ । नत्र, असोजअघि सकिँदैन ।’
अर्को अनुत्तरित मामिला छ, स्थानीय तहमा । देशभरि ४८ वटा पद रिक्त छन् । ऐनले एक वर्ष पदावधि बाँकी छ भने निर्वाचन गर्न भन्छ । ०७४ को वैशाखदेखि असोजसम्मका निर्वाचनबाट स्थानीय तहहरू निर्वाचित भएका हुन् । तीमध्ये अर्को वर्ष (०७९ साल) को वैशाखमा बागमति, गण्डकी प्रदेश, लुम्बिनीका स्थानीय निर्वाचन सम्पन्न भएको पाँच वर्ष पूरा हुन्छ । अर्थात्, अर्को वर्ष यतिबेला स्थानीय निर्वाचनको समय हो । त्यसैले ती रिक्त पदका लागि उपचुनाव गराउनमा व्यवधान आउने स्थिति छ ।
एमाले के होला ?
स्रोतका अनुसार, नेकपा (एमाले) को आधिकारिकतासम्बन्धी विवाद हल गर्नका लागि उसको कुन केन्द्रीय कमिटीलाई आधिकारिक मान्ने भन्ने विषय पहिला निरुपण हुनुपर्छ, जुन निर्वाचन आयोगको हातमा छैन । सर्वोच्च अदालतले फागुन २३ गते नेकपाको नामसम्बन्धी रिटउपर फैसला दिने क्रममा साविकका एमाले र माओवादी केन्द्रलाई अलग–अलग भई एकताअघि (०७५ जेठ २) को अवस्थामा पुगेर पुनः एकताको प्रस्ताव ल्याउन भनेको थियो । तर, एमालेको केपी ओली समूहले फागुन २८ गते निर्वाचित पदाधिकारीहरू खारेजीसँगै केही केन्द्रीय सदस्यलाई मनोनित गरेको छ । माधव नेपाल समूहले त्यसलाई वैधानिकता नदिइयोस् भनेको छ । तर, अब निर्वाचन आयोग एउटा निर्णयमा पुग्नुपर्ने समय आइसकेको छ । आयोगको दाबी छ– अदालतको आदेशले एमाले र माओवादी केन्द्र व्यँुतिएका कारण उनीहरूका कुन कमिटीलाई कसरी हेर्ने वा बुझ्ने भन्ने कुरा पनि अदालतमै निर्भर रहन्छ । त्यसैले आयोगले अदालतसँग सोध्ने भएको छ, ०७५ जेठ २ सम्मको कमिटीलाई मान्ने कि केपी ओलीले ०७७ फागुन २८ मा चलाएको कमिटीलाई मान्ने ? तर, यदि आयोगले भनेजस्तो असार १० गतेभित्र चुनाव गराउने हो भने यो विवाद हल हुँदाहुँदै उम्मेदवार मनोनयनको मिति आइसक्छ । त्यसो गर्दा एमालेको एउटा समूह दलविहीन अवस्थामा पुग्न सक्छ । (जनआस्था साप्ताहिकबाट)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार