काठमाडौं । जीवन बीमा बजारमा नयाँ नयाँ बीमालेख जारी गर्दै ग्राहकको मन जित्न सफल आइएमई लाइफ जीवन बीमा कम्पनीले बालबालिकालाई लक्षित गरी बालकिरण जीवन बीमा योजना सञ्चालनमा छ । बालबालिकाका लागि लक्षित गरेर बिक्रि–वितरण गर्ने यस बीमालेख अग्रिम भुक्तानी सावधिक जीवनबीमा योजना हो । यो बीमामा भर्खर जन्मिएका बालबच्चादेखि १५ वर्षसम्मका बालबच्चा बीमायोग्य हुन्छन् भने प्रस्तावक १८ वर्षदेखि ६५ वर्ष भित्रको हुनुपर्दछ । र, बीमालेख परिपक्क हुँदा प्रस्तावक ७० वर्षभित्रको हुनुपर्दछ । यस बीमा कम्तिमा १० वर्ष अवधिको र बढीमा २५ वर्ष अवधिको गर्न सकिन्छ । बीमालेख परिपक्क हुँदा बीमित कम्तिमा १६ वर्षको र बढीमा २५ वर्षको हुनुपर्दछ । यस बीमालेखको न्यूनतम बीमाङ्क रकम पाँच लाख र अधिकतम बीमाङ्क रकम ५० लाख निर्धारण गरिएको छ तर सोभन्दा बढी बीमाङ्क रकमको बीमा गर्न चाहेमा प्रस्तावकको पनि सोहि रकम बराबरको बीमा जरुरी हुन्छ ।
यसलाई प्रस्तावकको स्वास्थ्य अवस्था, आर्थिक स्रोत र पारिवारीक विवरणले निर्धारण गर्दछ । यस बीमालेखको बीमाशुल्क एकल, वार्षिक, अर्धवार्षिक, त्रैमासिक र सिमित भुक्तानी तरिकाले गर्न सकिन्छ । सिमित भुक्तानी तरिका भनेको १० वर्ष अवधिको बीमा गरेमा ५ वर्ष वा ८ वर्षसम्ममात्र बीमाशुल्क तिर्न सकिन्छ । यदि १५ वर्ष अवधिको बीमा गरेमा ५ वर्ष, १० वर्ष र १२ वर्षसम्म मात्र बीमाशुल्क बुझाए हुन्छ । २० वर्ष अवधिको बीमा गरेमा ५, १०, १५ वर्ष बीमाशुल्क भुक्तानी गर्दा हुन्छ । त्यस्तै २५ वर्ष अवधिको बीमा गरेमा ५ वर्ष, १० वर्ष, १५ वर्ष र २० वर्षसम्म बीमाशुल्क भुक्तान गरे पुग्दछ । स्मरणिय के छ भने २५ वर्षे अवधिको बीमा गरेर ५ वर्षमा सबै शुल्क तिर्ने गरि बीमा गरिए पनि बीमालेख परिपक्क हुन २५ वर्ष लाग्दछ ।
यस बीमालेख अन्तर्गत बीमाङ्कको आधारमा छुटको व्यवस्था गरिएको छ । पाँच लाख एक रुपियादेखि आठ लाख बीमाङ्कमा प्रतिहजार एक रुपियाँ र त्यो भन्दा माथिको बीमाङ्कमा प्रतिहजार दुई रुपियाँ छूट प्रदान हुनेछ । यसैगरी बीमाशुल्क वार्षिक भुक्तान गर्दा २ प्रतिशत र अर्धवार्षिक रुपमा भुक्तान गर्दा १ प्रतिशत छूटको व्यवस्था गरिएको छ ।
जोखिम प्रारम्भ हुने मिति
बीमितको उमेर ६ वर्ष पुगेमा वा बीमा प्रारम्भ मितिबाट २ वर्ष अवधि पूरा भएको मितिमा (जुन घटना पछि घट्छ) जोखिम वहन शुरु हुनेछ । यद्यपी, बीमितको प्रवेश उमेर १५ वर्ष भएमा बीमा प्रारम्भ भएको १ वर्ष पछि नै जोखिम वहन गरिनेछ ।
रकम भुक्तानी दिइने अवस्थाहरू
नियमित बीमाशुल्क बुझाइरहेको बीमालेखमा बीमितको जोखिमबहन नहुँदै मृत्यु भएमा अतिरिक्त बीमाशुल्क कट्टा गरेर बीमालेखको शर्तअनुसार सबै बीमाशुल्क फिर्ता गरिन्छ । सक्रिय बीमालेखमा बीमितको जोखिमबहन भैसकेपछि बीमितको मृत्यु भएमा बीमाङ्क रकमको २५ प्रतिशत रकम प्रस्तावकलाई भुक्तान गरिन्छ भने बाँकी ७५ प्रतिशत बीमाङ्क रकम र आर्जित बोनस बीमालेख परिपक्क भएपछि भुक्तानी गरिने छ । सक्रिय बीमालेखमा बीमित जीवित भई बीमालेखको चौथो वार्षिकोत्सवमा बीमाङ्क रकमको ४ प्रतिशत रकम प्रत्येक वर्ष भुक्तानी गरिने छ भने बीमालेख परिपक्क हुँदा बीमाङ्क रकमलाई २५ प्रतिशत बढाई १२५ प्रतिशतले हिसाब गरी पहिला वार्षिक रुपमा भुक्तानी गरेको रकम कट्टी गरी बोनस जोडेर एकमुष्ट रकम बीमितलाई हस्तान्तरण गरिन्छ ।
यस बीमालेखका प्रमुख आकर्षणहहरू
– बीमालेख धितोमा ऋण पाइने ।
– चुक्ता र समपर्ण मुल्य उपलब्ध हुने ।
– वार्षिक रुपमा पैसा फिर्ता हुँदा आर्थिक रुपमा सवल हुने ।
– बीमा समाप्तिमा १२५ प्रतिशत बीमाङ्क रकम प्राप्त गर्न सकिने ।
– आकर्षक पुरक करारहरू उपलब्ध हुने ।