काठमाडौं। मधेस र सुदूरप्रदेशलगायतका प्रदेशमा सरकार गठनलगायतका विषयमा छलफल गर्न ४ जेठ प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ पाँच दलीको बैठक बसेको थियो। बिहीबार विहान साढे नौ बजे सुरु भएको बैठकका एजेण्डामा छलफल सुरु नहुँदै त्यहाँ हिन्दु धर्मको विषयमा प्रवेश पायो। बैठकमा माओवादीबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा र उपसभापतिसमेत रहेको उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल, लोपसाबाट नेताहरु सर्वेन्द्रनाथ शुक्ल र शरतसिंह भण्डारी सहभागी थिए। बैठकमा सहभागी दोस्रो तहका नेताहरुले हिन्दू धर्मका विषयमा साइड टक गर्न थालेपछि माओवादी उपाध्यक्षसमेत रहेको उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले हिन्दु धर्मको विषय बैठकमा खुलस्त पारेर राखे। स्रोतका अनुसार श्रेष्ठले हिन्दु धर्मका विषयमा माओवादीलाई कुनै आपत्ति नहुने बताएका थिए। उनले हिन्दु धर्मममा लचकता रहेको उल्लेख गर्दै अन्य धर्ममा जस्तो यही गर्नुपर्छ भन्ने नरहेको उल्लेख गर्दै हिन्दु धर्मका विषयमा माओवादीलाई कुनै आपत्ति नरहेको जनाएका थिए। नारायाणकाजीले हिन्दु धर्मका विषयमा माओवादीलाई कुनै आपत्ति नरहेको बताउँदा प्रधानमन्त्री प्रचण्डले कुनै प्रतिक्रिया नदिइ सुनिरहे र नारायणकाजीको भनाइमा मौन समर्थन समेत जनाए।
नारायणकाजीले हिन्दु धर्मलाई लचक धर्मभन्दै हिन्दु धर्मप्रति आफूहरुलाई माओवादी कुनै आपत्ति नरहेको जनाएपछि अन्य कुनै पनि नेताले त्यस विषयमा प्रतिक्रिया जनाएनन्। तर जसपा अध्यक्ष उपेन्द्र यादवले भने नारायणकाजीको भनाइप्रति आपत्ति जनाउँदै त्यसो भए मनुस्मृतिलाई नै संविधान मानौं भनेपछि मनुस्मृतिका विषयमा शास्त्रार्थ चलेको थियो। बैठकमा सहभागी सबै जसो नेताले मनुस्मृति कुनै धर्मशास्त्र नभइ हजारौं वर्ष पहिला अनुशासनको नियम बनाउन मनुस्मृतिले महत्वपूर्ण काम गरेको भन्दै मनुस्मृतिलाई गीतासँग तुलना गर्न नहुने बताएका थिए। हिन्दु राज्य बनाउने भन्दै व्यवस्थामाथि नै चुनौती उत्पन्न भएको भनेर चर्चा भइरहेका बेला प्रधानमन्त्री निवासमा हिन्दु धर्मका विषयमा छलफल हुनुलाई कतिपयले संयोगमात्र मान्न नसकिने बताएका छन्। बिहीबार विहान प्रधानमन्त्री निवासमा हिन्दु धर्मका विषयमा छलफल हुँदा सोही दिन दिउँसो संसदमा प्रधानमन्त्री प्रचण्डले सांसदले सोधेका प्रश्नको जवाफ दिएका थिए। प्रदेश सरकार गठनलगायतका विषयमा छलफल गर्न बसेको पाँच दलको बैठकमा सो विषयले प्रवेश पाएन भने एजेण्डा नै नभएको विषय हिन्दुधर्मले राम्रो स्थान पाएको थियो।
पछिल्लो समय मुलुकलाई हिन्दु राज्य बनाउनु पर्ने भन्दै विभिन्न समूह क्रियाशील रहेका छन्। यस्तो अवस्थामा माओवादीले हिन्दुधर्मप्रति आफूलाई आपत्ति नहुने जनाएपछि त्यसले सत्ता गठबन्धनभित्र तरंग उत्पन्न भएको छ।