काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले आफूसँग एकता सहमति गरेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई आफ्ना सभापति रवि लामिछानेपछिको वरीयता दिने भएको छ। रास्वपा नेता एवं एकताका लागि गठित कार्यदलका सदस्य शिशिर खनालले सहमति पत्रमा त्यो कुरा उल्लेख नभए पनि बालेनलाई पार्टीमा दोस्रो वरीयता दिने निर्णय भएको जानकारी नेपालखबरलाई दिएका हुन्। सहमतिमा छैन, बालेनजीले म केन्द्रीय सदस्य मात्रै बन्छु भन्नुभयो। तर प्रधानमन्त्री बन्छु भनेर लाग्नुभएको नेतालाई त्यसरी त कहाँ हुन्छ र, खनालले आइतबार बिहान भने, मैले नै उहाँको सम्मानका लागि दोस्रो वरीयतामा राखौँ भनेर प्रस्ताव गरेको हुँ। उहाँले केन्द्रीय सदस्य मात्रै बन्छु भन्ने भएकाले पद केही हुँदैन, तर पार्टीको मिटिङमा सभापतिपछि बोलाइने नाम उहाँकै हुन्छ। उनले थपे, पार्टीको सम्पूर्ण नेतृत्व रवि लामिछानेले गर्ने, संसदीय फाँटको नेतृत्व उहाँले गर्ने हो नि त । त्यसैले उहाँलाई दोस्रो वरीयतामा राखिन्छ।
शनिबार मध्यरातसम्म भएको छलफलपछि रास्वपा सभापति लामिछाने र काठमाडौँका मेयर बालेनबीच आइतबार बिहानै एकता सहमति भएको हो। सहमतिअनुसार पार्टीको नेतृत्व रविले नै गर्ने तर आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने समझदारी भएको छ।