काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बालेन शाह नेतृत्वमा बन्ने नयाँ सरकारका लागि मन्त्री चयनको अन्तिम तयारीमा जुटेको छ। पार्टी स्रोतका अनुसार केही मन्त्रालयका जिम्मेवारी टुंगो लागिसकेको भए पनि बाँकीबारे अन्तिम छलफल जारी छ। ती विषयमा पार्टी सभापति रवि लामिछानेले सम्बन्धित व्यक्तिहरूसँग अन्तिम परामर्श गरिरहेका छन्। बालेन शाहले यही चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने तयारी गरेका छन्। सोही दिन सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने योजना रहेको छ। हाल १५ देखि १८ सदस्यीय मन्त्रिपरिषद् बनाउने विषयमा छलफल भइरहेको बताइएको छ। चुनावी घोषणापत्रअनुसार मन्त्रालयको संख्या १८ मा सीमित राख्ने नीति भएकाले सोभन्दा ठूलो मन्त्रिपरिषद् नबनाइने तयारी गरिएको छ। केही मन्त्रालय गाभेर सानो र प्रभावकारी मन्त्रिपरिषद् बनाउने योजना रहेको एक नेताले बताए। उनका अनुसार मन्त्रिपरिषद्मा केही अप्रत्याशित नामहरू पनि देखिन सक्छन्। साथै, पार्टी सञ्चालनका लागि केही प्रमुख नेतालाई ‘रिजर्भ’ मा राख्ने तयारी गरिएको छ। स्रोतका अनुसार बालेन शाहले प्रधानमन्त्रीसँगै रक्षा मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्ने सम्भावना छ। उपसभापतिद्वय डीपी अर्याल र डा। स्वर्णिम वाग्ले मन्त्री बन्ने लगभग निश्चित छ, जसमा गृह, अर्थ वा भौतिक पूर्वाधार मन्त्रालयमध्ये कुनै जिम्मेवारी दिनेबारे छलफल भइरहेको छ। भौतिक पूर्वाधार मन्त्रालयका लागि सुनिल लम्सालको नाम चर्चामा छ भने परराष्ट्र मन्त्रालयमा शिशिर खनालको सम्भावना देखिएको छ। खनाल पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखसमेत हुन्। त्यस्तै, सोविता गौतमलाई स्वास्थ्य वा कानुन मन्त्रालय दिनेबारे छलफल भइरहेको छ। उनी सभामुख पदका लागि पनि चर्चामा छन्। सभामुखका लागि पूर्व सञ्चारमन्त्री जगदिश खरेल र प्रतिभा रावलको नाम पनि चर्चामा आएको छ। खरेललाई सञ्चार मन्त्रालयमा समेत ल्याउने विषयमा छलफल भइरहेको बताइएको छ। युवा तथा खेलकुद मन्त्रालयका लागि सुदन गुरुङको नाम चर्चामा छ भने मनिष झालाई पर्यटन वा सञ्चार मन्त्रालयमा ल्याउने सम्भावना रहेको छ। झालाई युवा तथा खेलकुद मन्त्री बनाउने प्रस्तावसमेत आएको बताइएको छ। यद्यपि, विभिन्न नामहरूबारे छलफल जारी रहे पनि अन्तिम निर्णय भइसकेको छैन। गत फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको थियो भने समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ। प्रतिनिधि सभामा कुल १८२ सिटसहित रास्वपा झण्डै दुई तिहाइ बहुमतसहित बलियो सरकार गठनको तयारीमा छ।