काठमाडौं । नयाँ पुस्ताको नेतृत्व र दुईतिहाइ नजिकको बलियो सरकारसँगै शेयर बजारमा नयाँ उत्साह आउने अपेक्षा गरिएको थियो। तर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठन भएको करिब तीन महिनामै त्यो अपेक्षा उल्टिएर निराशामा बदलिएको छ। नेप्से परिसूचक निरन्तर ओरालो लाग्दा लगानीकर्ताले करिब ६ खर्ब रुपैयाँ बराबरको सम्पत्ति गुमाएका छन्।
सरकार गठनअघि २०८२ चैत १२ गते २ हजार ९५० विन्दुमा रहेको नेप्से परिसूचक अहिले २ हजार ५७६ विन्दुमा झरेको छ। यस अवधिमा परिसूचक १२.६७ प्रतिशतले घटेको छ भने कुल बजार पुँजीकरण ५० खर्ब ९ अर्ब रुपैयाँबाट घटेर ४४ खर्ब २६ अर्ब रुपैयाँमा सीमित भएको छ। यससँगै बजारबाट झन्डै ५ खर्ब ८३ अर्ब रुपैयाँ बराबरको सम्पत्ति घटेको देखिन्छ।
नेपाल शेयरधनी संघका अध्यक्ष जीएस पाण्डेका अनुसार लगानीकर्ताले गुमाएको रकम नेपालको वार्षिक बजेटको करिब २७ प्रतिशत बराबर हो। उनका अनुसार पूँजी बजार अर्थतन्त्रको ऐना भएकाले बजारलाई स्थिर बनाउन सरकारले तत्काल प्रभावकारी कदम चाल्न आवश्यक छ।
सरकार गठनसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल भट्टजस्ता अर्थतन्त्र बुझेका व्यक्तिहरू नेतृत्वमा आएकाले लगानीकर्ताले सकारात्मक सुधारको अपेक्षा गरेका थिए। तर बजारले त्यसको विपरीत प्रतिक्रिया दिएको छ।
बजेट सार्वजनिक भएको जेठ १५ गते नेप्से २ हजार ७६६ विन्दुमा थियो। त्यसयता बजारले निरन्तर गिरावटको यात्रा तय गरेको छ। निजी क्षेत्रसँग प्रधानमन्त्रीले संवाद गरे पनि त्यसले बजारको मनोबल फर्काउन सकेको छैन।
बजारमा आएको लगातारको गिरावटपछि लगानीकर्ताहरू आन्दोलनमा उत्रिएका छन्। मंगलबार तिलक कोइरालाको नेतृत्वमा लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डको कार्यालय घेराउ गर्दै बजार सुधारका लागि तत्काल नीतिगत हस्तक्षेपको माग गरेका थिए।
लगानीकर्ता कोइरालाले बजारको मनोबल कमजोर भएको भन्दै सरकारलाई पूँजी बजारमैत्री नीति, पूर्वाधार विकास र लगानी सुरक्षाको स्पष्ट व्यवस्था गर्न आग्रह गरेका छन्।
लगानीकर्ताको मनोबल कमजोर हुनुमा सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानलाई तीव्र बनाएको विषयलाई पनि एक कारणका रूपमा हेरिएको छ। सेबोनका अध्यक्ष डा. गोपाल भट्टले पनि यसले केही लगानीकर्तामा त्रास सिर्जना गरेको स्वीकार गरेका छन्।
उनका अनुसार लगानीकर्ताहरूले अनुसन्धानका नाममा अनावश्यक अन्योल र मनोवैज्ञानिक दबाब सिर्जना नगर्न सरकारसँग आग्रह गरेका छन्। आफूले भने लगानीकर्तालाई कानुनी प्रक्रियाबाट डराउन नहुने भन्दै मनोबल उच्च राख्न सुझाव दिएको उनले बताए।
बजार सुधारका लागि सेबोनले ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीतिअन्तर्गत गठन हुने उक्त कार्यदलमा सेबोन, नेप्से, सिडिएससी, मर्चेन्ट बैंकर, स्टक ब्रोकर, क्रेडिट रेटिङ संस्था तथा विशिष्टीकृत कोष व्यवस्थापकका प्रतिनिधिहरू सहभागी हुनेछन्।
सेबोनले सार्वजनिक गरेको नयाँ नीतिमा पूँजी बजारलाई विश्वसनीय, प्रतिस्पर्धी, समावेशी, प्रविधिमैत्री र अन्तर्राष्ट्रियस्तरको आधुनिक वित्तीय प्रणालीका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। साथै धितोपत्रसम्बन्धी कसुरको अनुसन्धानमा अन्तरनिकाय समन्वय, लगानीकर्ता संरक्षण, सामाजिक सञ्जालमार्फत हुने भ्रामक सूचना, अनधिकृत लगानी परामर्श तथा वित्तीय ठगीविरुद्ध नियामकीय निगरानी थप प्रभावकारी बनाइने उल्लेख गरिएको छ।