free website hit counter

बिजुलीको महसुल घटाउने सरकारको तयारी

beemaadmin
२०८३ भाद्र ३, बुधबार

काठमाडौं । सरकारले उपभोक्ता तथा उद्योगलाई सहुलियत हुने गरी विद्युत् महसुल घटाउने गृहकार्य तीव्र बनाएको छ। वर्षायाममा विद्युत् उत्पादन बढेर खेर जाने अवस्था रहेकाले आन्तरिक विद्युत् खपत बढाउने उद्देश्यसहित महसुल पुनरावलोकन गर्न लागिएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ गते विद्युत् महसुल दर पुनरावलोकन गर्न समिति गठन गरिएको थियो। नेपाल विद्युत् प्राधिकरणले सोही समितिमार्फत उपभोक्ता र उद्योगलाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउने विकल्पबारे अध्ययन गरिरहेको छ।

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिको बैठक बुधबार बस्दैछ। समितिमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि, ऊर्जाविज्ञ, उपभोक्ता तथा वित्तविज्ञ सदस्य रहेका छन्।

मन्त्रालयमा अपराह्न ४ बजे बस्ने बैठकमा विद्युत् महसुल घटाउने उपायबारे छलफल हुने जनाइएको छ।

समितिका संयोजक शाहीका अनुसार वर्षायाममा विद्युत् उत्पादन बढ्दा ठूलो परिमाणमा बिजुली खेर जाने गरेको छ। यस्तो अवस्थामा आन्तरिक खपत बढाउन विद्युत् महसुल पुनरावलोकन गर्न लागिएको हो।

सिजनल ट्यारिफमार्फत खपत बढाउने तयारी

वर्षायाममा विद्युत् खेर जाँदा प्राधिकरणले मासिक रूपमा नोक्सानी व्यहोर्नुपर्ने अवस्था रहेकाले मौसमी विद्युत् महसुल लागू गर्ने विकल्पमा छलफल भइरहेको छ।

संयोजक शाहीले वर्षायाममा विद्युत् महसुल घटाएर उपभोक्ता तथा उद्योगको खपत बढाउने योजना रहेको बताए। उनका अनुसार वर्षायाममा सस्तो दरमा विद्युत् उपलब्ध गराउँदा उद्योगको उत्पादन लागतसमेत घटाउन सकिने र त्यसको लाभ उपभोक्तासम्म पुर्‍याउने विषयमा पनि छलफल भइरहेको छ।

उद्योगलाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउँदा उत्पादन लागत घट्ने र त्यसबाट उत्पादित वस्तु तथा सेवाको मूल्यमा उपभोक्तालाई कति सहुलियत दिन सकिन्छ भन्ने विषयमा समेत सम्बन्धित पक्षसँग समन्वय भइरहेको उनले बताए।

समितिले मौसमी महसुल लागू गर्दा विद्युत् महसुल कसरी घटाउन सकिन्छ भन्ने विषयमा विस्तृत छलफल गर्नेछ। यसबारे छिट्टै निर्णयमा पुग्ने तयारी रहेको समितिका संयोजक शाहीले बताएका छन्।

सरकार तथा प्राधिकरणको यो पहल कार्यान्वयनमा आए वर्षायाममा खेर जाने विद्युत्को उपयोग बढ्नुका साथै उद्योग तथा घरायसी उपभोक्ताले तुलनात्मक रूपमा सस्तो दरमा बिजुली पाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार