प्रजातन्त्र स्थापनाका लागि लामो समय संघर्ष गरेका जननायक विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा वि.सं. २०१५ सालमा नेपाली काँग्रेसले दुई तिहाई बहुमत ल्याएको थियो । सो सरकारको पहिलो जननिर्वाचित प्रधानमन्त्रीको जिम्मेवारी बीपी कोइरालाले सम्हालेका थिए । कोइराला प्रधानमन्त्री बनेपछि नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेको कुरा इतिहास साक्षी छ । यिनै कोइरालाको दूरदर्शीता र प्रजातन्त्रप्रतिको लगाव देखेर तत्कालिन राजा महेन्द्रले २०१७ साल पुस १ गते प्रधानमन्त्री पदबाट पदच्युत गरी निरंकुश एकदलीय शासन लादेका थिए । त्यसैबेला जननायक बीपी कोइराला लगायत काँग्रेसका थुप्रै नेताहरुलाई बन्दी बनाइएको थियो । बन्दी बनाइएको एक महिनापछि हाल गोकर्णेश्वर वडा नं. १ मा रहेको सुन्दरीजलमा जेल चलान गरिएको थियो ।
सुन्दरीजल जेलमा लामो समय बसेका बीपी कोइरालाको सम्झनामा बीपी संग्रहालय समिति स्थापना गरेर कोइरालाले त्यतिबेला प्रयोग गरेका सामग्रीलगायत अन्य महत्वपूर्ण दस्तावेजहरु त्यहाँ संग्रहित छन् । त्यसको अगुवाई गर्ने काम काँग्रेसका नेता एवं समाजसेवी परशुराम पोखरेलले गरेका थिए । उनै पोखरेलले अहिलेसम्म संग्रहालयको भौतिक पूर्वाधार विकासदेखि लिएर कोइरालाका अन्य महत्वपूर्ण दस्तावेजहरु संकलन गर्ने काम गरिरहेका छन् । अविचलित रुपमा क्रियाशील पोखरेलको अगुवाईमा सुन्दरीजललाई लोकतन्त्रको साधना केन्द्रको रुपमा स्थापित गर्ने काम भएको छ भने बीपी कोइरालाका पिता कृष्णप्रसाद कोइरालाको जन्मथलो सिन्धुलीको दुम्जालाई लोकतन्त्रको प्रस्थानबिन्दू बनाउने अभियान शुरु भएको छ । दुम्जालाई लोकतन्त्रको प्रस्थानविन्दू बनाउनुपर्छ भन्ने आवाज उठाउने पोखरेलकै अग्रसरताका कारण सिन्धुलीका स्थानीय काँग्रेसदेखि कोइराला परिवारका सदस्यहरुले पनि त्यो अभियानलाई साथ दिन थालेका छन् । सुन्दरीजललाई लोकतन्त्रको साधना केन्द्र र दुम्जालाई लोकतन्त्रको प्रस्थानबिन्दू यी दुईलाई जोड्नु पर्ने आवश्यकता देखेरै आफूले आवाज उठाएको बताउँछन् पोखरेल ।
२०४७ साल जेठ २२ गते सुन्दरीजलको बीपी चोकमा पोखरेलकै अग्रसरतामा काँग्रेसका केही नेता तथा समाजसेवीहरुको सहभागितामा बसेको बैठकले सुन्दरीजललाई बीपी संग्रहालयमा विकास गर्ने सपना देखेर लिएको संकल्प आजसम्म आइपुग्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चाको मात्र विषय बन्न पुगेन, बीपी कोइरालाबारे बुझ्न चाहने जो कोहीका लागि एउटा खुल्ला विश्वविद्यालय नै बन्न पुगेको छ । तत्कालिन समयमा नेपाली सेनाको कब्जामा रहेको सुन्दरीजललाई खुला गराउनका लागि पोखरेलकै नेतृत्वमा चलेको लामो अभियान १४ वर्षपछि बल्ल बीपी संग्रहालयमा रुपान्तरण हुन पुग्यो । ०६१ सालबाट बीपी संग्रहालयमा रुपान्तरित यो स्थल २५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
पोखरेलकै क्रियाशीलताका कारण केही मनकारीहरुको सहयोगका कारण आज सरकारले पनि संग्रहालयलाई विकास गर्नका लागि निकै चासो देखाएको छ । ०७२ सालको विनासकारी भूकम्पबाट थिलथिलो बन्न पुगेको उक्त संग्रहालयका संरचना र सामग्रीहरुलाई सुरक्षित र व्यवस्थित गर्नका लागि थालिएका प्रयास पूर्ण हुने क्रममा छन् । संग्रहालयका संस्थापक अध्यक्ष पोखरेलको तीतो अनुभव पनि छ, महामूभक्पका बेला काँग्रेस त्यो पनि कोइरालाकै नेतृत्वमा सरकार थियो । अर्थमन्त्रालयको जिम्मेवारी उदारवादी नेता भनिएका रामशरण महतले सम्हालेका थिए । भूकम्प पीडितहरुलाई राहतको घोषणा गरियो, पीडितहरुले राहत पाए तर काँग्रेसकै संस्थापक नेताको नाममा स्थापना भएको संग्रहालयले सरकारबाट सहयोग पाएन । त्यो बेला आफ्नो मन खिन्न भए पनि विदेशी दातालाई गुहार्ने सोचका साथ भारतीय दूतावासमा सहयोगका लागि अनुरोध गर्न पुगेका पोखरेलको अनुरोधसँगै दूतावासले तुरुन्तै सक्रियता देखाउँदै दुई कर्मचारीलाई संग्रहालयको निरीक्षणका लागि पनि खटायो ।
बीपी जस्ता राष्ट्रवादी नेताको संग्रहालयमा विदेशी सहयोग लिनु हुँदैन भन्ने ज्ञान मिलेरै होला त्यसपछि बल्ल सरकारको आँखा खुल्यो । तत्कालिन पर्यटन मन्त्रालयका सहसचिव, हालका सचिव मोहनकृष्ण सापकोटा (सार्वजनिक खरिद अनुगमन कार्यलयमा कार्यरत) पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, विभागकै योजना शाखाका प्रमुख दामोदर गौतम (हाल महानिर्देशक पदमा कार्यरत) सम्मिलित ३ सदस्यीय कार्यदल बन्यो । उक्त कार्यदलले संग्रहालयलाई राष्ट्रिय सम्पदाको प्राथमिकताको सूचिमा ३५औं नम्बरमा राखेको छ । पर्यटन मन्त्रालयले आवश्यक बजेट विनियोजन गरेर टेण्डरमार्फत् काम अघि बढाएको छ । टेण्डरको काम लगभग सकिन लागे पनि पूर्ण रुपमा काम हुन नसकेको र बाँकी कामका लागि केन्द्र सरकारले फेरि तदारुकता देखाउने आशा राखेका छन् पोखरेलले ।
त्यस्तै प्रदेश सरकारको उद्योग, वन, पर्यटन मन्त्रालयले करिब डेढ करोड बजेट विनियोजन गरी पूर्वाधारको काम अगाडि बढाएको छ । भौतिक पूर्वाधारको विकास भइरहेको संग्रहालयमा कोइरालाका ऐतिहासिक दस्तावजे र सामग्रीहरु संकलन गर्ने कामलाई पनि सँगसँगै अघि बढाएका छन् पोखरेलले । यसका लागि २०३० साल जेठ २८ मा काँग्रेस नेताहरुको अगुवाईमा अपहरण गरिएको नेपाल एयलाइन्सको जहाज २०७० साल फागुन ४ गते अर्घाखाँचीमा दुर्घटनामा परेको थियो । उक्त जहाजलाई संग्रहालयमा राख्नका लागि पोखरेलले ठूलै मेहनत गर्नुपरेको थियो । अढाई वर्ष लामो प्रयासपछि बल्ल १ डलर मूल्यमा खरिद प्रक्रिया पूरा गरी सो जहाज हुवहु स्वरुपमा संग्रालयको प्रांगणमा राखिएको छ । अहिले उक्त जहाज अवलोकन गर्नकै लागि जानेको संख्या हजारौं पुगिसकेको छ ।
यसरी संग्रहालयको विकासका लागि निरन्तर अघि बढिरहेका पोखरेल दुम्जाको विकासका लागि पनि आवश्यक कार्ययोजनाका साथ अघि बढिरहेका छन् । त्यहाँ उनलाई काँग्रेसका जिल्ला सभापति उज्ज्वल बराल, पूर्व सांसद एवं कांग्रेस नेता मोहन बराल, महिला नेतृ शान्ता कार्की स्थानीय कपिल कोइराला र बच्चु कोइरालाले दरिलो साथ र आड भरोसा दिएको पोखरेल सम्झन्छन् । कृष्णप्रसाद कोइरालाको जुम्जाको घरलाई मर्मत सम्हार गर्नका लागि सुनकोशी गाउँपालिकाका वडा नं. १ अध्यक्षले ५ लाख बजेट छुट्याएका छन् । दुम्जाको बृहत विकास गर्नका लागि बीपी स्मृति पार्क निर्माणका लागि संघीय सरकारले बजेट विनियोजन गरिसकेको छ । करिब ३ सय रोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया स्वरुप डेढ सय रोपनी जग्गाको मुआब्जा दिइसकिएको र बाँकी प्रक्रियामा रहेको बताइन्छ ।
गत फागुन ११ गते पोखरेलकै अगुवाईमा बीपीको सन्देशसहित सुन्दरीजलबाट शुरु भएको यात्रा (दुम्जा, विराटनगर) कोइराला निवास हुँदै भारतको फारवेजगञ्जसम्म पुगेर टुंगिएको थियो । यसले पनि बीपी कोइरालाको व्यक्तित्व र उनले आत्मसाथ गरेको सिद्धान्तलाई अझ उचाईमा पुर्याएको महसुस गरिएको छ । अहिले गोकर्णेश्वर नगरपालिकाले पोखरेलकै सक्रियताका कारण बिपी संग्रहालयको बारेमा कक्षा ८ को पाठ्य सामाग्री भित्र माथिल्लो तहका बिध्यार्थीहरूलाइ पठनपाठनको व्यवस्था गराइ इतिहासको सत्यतथ्यलाइ उजागर गर्ने काम गरेको छ ।
तीन दशकदेखि संग्रहालयको विकास र प्रवद्र्धनमा अथक प्रयासका साथ क्रियाशील रहँदै आएका पोखरेलले आफ्नो जीवनको उर्वर समय यसैमा खर्च गरेका छन्, बाँकी जीवन पनि यसैमा समर्पित गर्ने दृढ संकल्प लिएका छन् ।