काठमाडौं । बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै रिक्त हुन पुगेको बीमा प्राधिकरणको नेतृत्व सम्हालन सरकारको निर्णयबमोजिम पुगेका मदन दाहालदे दुईवटा निर्णय गराएका छन् । यसरी भएका निर्णयहरुमा बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्तिसम्बन्धी प्रावधान संशोधन र बीमा कम्पनीको दाबी भुक्तानी सम्बन्धी रहेका छन् । बीमकको सुशासनसम्बन्धी निर्देशिकाले यसअघि बीमा कम्पनीहरूको प्रमुख कार्यकारी निर्देशक नियुक्ति गर्नुअघि अनिवार्य रूपमा बीमा प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको थियो । उक्त प्रावधानलाई अहिले हटाइएको हो । योसँगै कम्पनीको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सिधै नियुक्ति गर्न सक्नेछ । त्यसको जानकारी भने सात दिनभित्र प्राधिकरणलाई दिनु पर्नेछ । बीमक कम्पनीको सीईओ नियुक्तिसम्बन्धी व्यवस्था बीमा ऐनमै प्रस्ट रूपमा उल्लेख भएको अवस्थामा निर्देशिका ऐनसँग बाझिएको देखिएकाले यसलाई हटाइएको अध्यक्ष दाहालले बताएका छन् । यद्यपि कम्पनीले सीईओ नियुक्ति गर्दा ऐनले तोकेको योग्यता पूरा भएको हुनु पर्नेछ । बीमा ऐनमा कुनै पनि कम्पनीको सीईओ नियुक्ति हुन तोकिएको विषयमा स्नातकोत्तर उत्तीर्ण भइ बीमा कम्पनीमा भए ५ वर्ष र अन्य वित्तीय क्षेत्रमा भए आठ वर्ष योग्यता हासिल गरेको व्यक्ति हुनुपर्ने व्यवस्था छ । यी व्यवस्थाअनुसारको योग्यतामा कैफियत देखेमा भने प्राधिकरणले हस्तक्षेप गर्न सक्नेछ । त्यस्तै, दाहालकै नेतृत्वमा बीमा दाबी भुक्तानीसम्बन्धी मार्गदर्शन संशोधन गर्दै बीमितको बैंक खातामै दाबी भुक्तानी अनिवार्य गरिएको छ । यसअघि अधिकांश बीमा कम्पनीले दाबी भुक्तानी दिँदा ‘एकाउन्ट पे चेक’मार्फत् दिने गरेका थिए । यसका लागि शाखाबाट केन्द्र र केन्द्रबाट शाखासम्म धाउनुपर्ने अवस्था अन्त्य गर्दै सम्बन्धित बीमितिको बैंक खातामै अनलाइन भुक्तानी गरिदिनुपर्ने व्यवस्था गरिएको हो । यसले बीमितलाई दाबी भुक्तानीमा सहज हुने विश्वास लिइएको उनको भनाइ छ ।